नेपालमा भ्रष्टाचार : एक चर्चा « प्रशासन
prasaLogo
६ जेष्ठ २०७७, मंगलवार

नेपालमा भ्रष्टाचार : एक चर्चा


प्रकाशित मिति : 19 May, 2020 2:11 pm

नेपाली समाजमा विद्यमान कतिपय राम्रा परम्परा र संस्कारका बाबजुद हिजोआज पैसाको लागि मरीहत्ते गर्ने प्रवृत्ति घातक बन्दै गएको देख्न सकिन्छ । जसरी भए पनि पैसा कमाउने दाउमा कैयन युवाहरू विदेशीको दासता र कैयन युवतीहरू यौनदासीको रूपमा पशु तुल्य जीवन बाँच्न बाध्य छन् । सार्वजनिक ओहोदामा बस्नेहरूले भ्रष्टाचार गर्ने, व्यापार र उद्योग गर्नेहरूले कर छल्ने, बस्तु तथा सेवाको परिमाण र गुणस्तरमा ठगी गर्ने, मिसावट, कालोबजारी गर्ने, कतिपय व्यक्तिहरू चोरी, तस्करी, डकैती, गुण्डागर्दी, अपहरण, वेश्यावृत्तिजस्ता कानुनले वर्जित गरेको क्रियाकलापमा संलग्न हुने गरेका छन् ।

सोझो, इमानदार र कर्तव्यनिष्ठ व्यक्तिको आदर सम्मान गर्न नेपाली समाजले जानेकै छैन । यही कारण भ्रष्टाचारको मात्रा घट्न नसकेको तितो यथार्थ स्विकार्नु पर्दछ । सामाजिक रूपमा भ्रष्टाचार गरेर समाजमा शिर ठड्याएर हिँड्नेहरूलाई कुनै सामाजिक ग्लानि हुने गरेको छैन । समाजमा तडकभडक गर्नेहरूको सम्पत्ति आर्जनको स्रोत नखोज्ने बरु सम्पत्ति कमाउन नसक्ने इमानदारहरूलाई नामर्दको बिल्ला भिराउँदै खिसी तिउरी गर्ने डरलाग्दो सामाजिक संस्कारले गर्दा भ्रष्टाचारले समाजमा जरा गाड्न सकेको हो ।

आधुनिक सहरीकरण, केन्द्रीकृत विकासको मोडल, रोजगार मूलक शिक्षाको अभाव, नैतिक शिक्षाको अभाव, कर्तव्य विनाको अधिकार खोज्ने प्रवृत्तिलगायतका सोचले गर्दा नेपाली समाज आज जसरी भए पनि पैसा कमाउनेलाई वाह वाह गर्ने र इमानको कमाइमा जिउनेलाई घृणा गर्ने अवस्थामा पुगेको हो । जबसम्म यस प्रवृत्तिमा बदलाऊ आउँदैन तबसम्म भ्रष्टाचारको समूल अन्त सम्भव छैन ।

खास गरी राजधानी र सहरी क्षेत्रमा जनघनत्व बढ्दै जाँदा घरजग्गाको भाउले आकाश छाइरहेको छ । सहरी सुविधा उपभोग गर्न विभिन्न बहानामा राजधानी र ठुला सहरमा बसाई सर्ने आम प्रवृत्ति ह्वात्तै बढेको छ । वैदेशिक रोजगारीको कारण रेमिटेन्स खाएर बालबच्चाको पढाईलेखाईको नाममा सहरमा ओइरिनेको सङ्ख्या पनि कम छैन । उमेर बढ्दै जाँदा स्वास्थ्य उपचारको नाममा राजधानी र ठुला शहरीक्षेत्रमा बसाई सर्नेको लर्को पनि ठुलै छ । सुविधा भोगी कर्मचारी, व्यापारी वर्ग पनि राजधानी केन्द्रित हुन चाहन्छन् भने उच्च शिक्षा हासिल गर्न चाहने युवायुवतीको रोजाई पनि राजधानी नै बन्न पुगेको छ । राजनीति गर्नेहरूको लागि त झन् राजधानी पहिलो रोजाई हुने नै भयो ।

‘इमानको जागिर खाने कर्मचारी, कालोबजारी गर्न नजान्ने उद्योगी व्यापारी, जालझेल गर्न नजान्ने राजनीति कर्मी र विशुद्ध समाज सेवामा रमाउने समाजसेवीहरूको लागि आजको अवस्था अत्यन्त कष्टकर र कठिन बन्दै गएको सहजै बुझ्न सकिन्छ ।’

यसो हुनुको मुख्य कारण राज्यको लगानी राजधानी केन्द्रित हुनु हो । उच्च शिक्षा, स्वास्थ्य, सडक, यातायात, सञ्चारलगायतका सहरी सुविधाहरूको पर्याप्त मात्रामा विकेन्द्रीकरण हुनु नसक्नुले सहरी क्षेत्र खास गरी राजधानीमा बसाइ सर्नेको लर्को दिन प्रतिदिन बढ्दै गएको हो । प्रत्येक प्रदेशमा सुविधासम्पन्न सरकारी अस्पताल, मेडिकल कलेज, प्राविधिक अप्राविधिक विषयका उच्च शिक्षाको लागि विश्वविद्यालय, अन्तर्राष्ट्रिय विमानस्थल, वैदेशिक रोजगारीको लागि पासपोर्ट, भिसा आवेदन, सडक, सञ्चार, औद्योगिक क्षेत्र, कृषिको पकेट क्षेत्रसहितको कृषिको विविधीकरण गर्न सके मुलुकको सन्तुलित विकास हुन गई बसाई सराइमा कमी हुन गई भ्रष्टाचार र अपराधमा पनि कमी आउने थियो ।

बसाइ सरी आउनेले जे जसरी हुन्छ, एउटा घरघडेरीको लागि गर्ने वैधानिक अवैधानिक क्रियाकलापको परिणाम भ्रष्टाचार र अनियमितता एवं अन्य सामाजिक, आर्थिक अपराधको बढोत्तरी हुनु हो ।

इमानको जागिर खाने कर्मचारी, कालोबजारी गर्न नजान्ने उद्योगी व्यापारी, जालझेल गर्न नजान्ने राजनीति कर्मी र विशुद्ध समाज सेवामा रमाउने समाजसेवीहरूको लागि आजको अवस्था अत्यन्त कष्टकर र कठिन बन्दै गएको सहजै बुझ्न सकिन्छ । जुनसुकै हर्कत गरेर भए पनि अकुत सम्पत्ति आर्जन गर्ने र आफ्नो कालोधनलाई धुन एकदमै सहज भएको छ घरजग्गाको नाममा गरिने लगानी । कालोधन आर्जन गर्नेहरूले गर्दा घरजग्गाको मूल्यले आकाश छोएको छ । धेरै मूल्य तिरेर खरिद गरेको घरजग्गालाई रजिष्ट्रेशन पास गर्दा थोरै देखाउने र थोरै मूल्यमा बिक्री गरेको घरजग्गालाई मालपोतमा रजिष्ट्रेशन पास गर्दा अत्यधिक मूल्य देखाई खरिद र बिक्रीको अन्तरलाई सोझै सेतो धनमा परिणत गर्न सकिने भएकोले घरजग्गाको मूल्य अप्राकृतिक रूपले बढाउने गरिएको हो । जबसम्म भ्रष्टाचारको आकार घट्दैन तबसम्म घरजग्गाको भाउमा स्थिरता आउला भन्ने कल्पना पनि गर्न सकिँदैन । यसमा नीति निर्माता, राजनीति कर्मी, ठग र बेइमानीहरूको मौन समर्थन रहेको छ । किनकि उनीहरू जुनसुकै कुकर्म गरेर भए पनि कमाएको कालो धनलाई सेतो बनाउन चाहन्छन् । यसका लागि घरजग्गाको कारोबार मात्र यस्तो साधन बनेको छ जसको माध्यमबाट ठुला ठुला परिमाणका कालो धनलाई धुन सकिन्छ ।

यसै गरी कालो धनलाई सेतो बनाउने अर्को उपयुक्त माध्यम बनेको छ विदेशबाट आएको मानिने अवास्तविक धन । यसमा स्वदेशमा अकुत सम्पत्ति आर्जन गरी छोराछोरीलाई विदेशमा पढ्न पठाउने, अध्ययन शुल्क, खाने बस्ने लगायतको खर्च हुन्डीमार्फत पठाउने र छोराछोरीले विदेशमा कमाएर पठाएको भनी त्यही पैसालाई वैधानिक रूपमा फेरि स्वदेशमै प्राप्त गरी सेतो तुल्याउने । त्यसपछि अर्को सहज माध्यम नाम मात्रको व्यवसाय वा कम्पनी दर्ता गरी हुँदै नभएको कारोबार देखाई अस्वाभाविक नाफा देखाई कर तिरी कालो धनलाई वैद्य बनाउने । यसै गरी शेयर कारोबार र सुनमा लगानी गरेर माथिकै तरिका अपनाएर कालो धनलाई सेतो बनाउने अर्को प्रवृत्ति पनि धेरथोर देखिएको छ ।

यसरी खास गरी भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई विभिन्न माध्यम अपनाएर सेतो बनाएर वा नबनाई समाजमा तडकभडक देखाउने, आलिसान महलमा बस्ने, महँगो गाडी चढ्ने, महँगा गरगहना र बिलासी जीवन बिताउनेकै बोलवाला चलेको देखेर सर्वसाधारणमा पनि त्यसै गर्ने चाहना जागेको देखिन्छ । यसका लागि उनीहरू प्राकृतिक स्रोतको दोहन, ठगी, चोरी, डकैती, वेश्यावृत्ति, अपहरणजस्ता आफू अनुकूल हर्कतहरू गर्न पुग्छन् ।

भ्रष्टाचारको परिणामहरूमा सामाजिक सांस्कृतिक विचलन, धैर्य, मिहिनेत नगर्ने प्रवृत्तिमा बढोत्तरी, समाजमा ठगी, चोरी डकैती, अपहरणजस्ता अपराधमा वृद्धि, उत्पादन र उत्पादकत्वमा कमी, उपभोगवादी संस्कृतिको बढोत्तरी, मानसिक पिर र चिन्ताको वृद्धि हुँदै गएको देखिएको छ ।

नेपालमा नीतिगत भ्रष्टाचारको कुरा गर्दा नीति बनाउने बेलैदेखि स्वार्थ समूहको चलखेल सुरु हुन्छ र नीति निर्माताहरूलाई प्रभावमा पारी आफू अनुकूल नीति, ऐन कानुन निर्माण गरिन्छ । खास गरी व्यापारिक समुदाय र विदेशी कम्पनी, एनजिओ, आईएनजीओहरूको दबाब प्रभावको निकै नै चर्चा परिचर्चा हुने गरेको देखिन्छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा विद्यमान नीति, ऐन कानुनमा समसामयिक परिमार्जन गर्नुपर्ने आफ्नो ठाउँमा होला तर सामाजिक सोच र प्रवृत्तिमा परिवर्तन गर्न निकै लामो समयावधि कुर्नुपर्ने हुन्छ ।
भ्रष्टाचारको अनुसन्धानको पद्धतिको कुरा गर्नु पर्दा स्वदेशमा भ्रष्टाचार गरेर विदेशमा लुकाएको धन फिर्ता गर्ने कानुन, अन्तर्राष्ट्रिय सहयोग, समन्वय र संयन्त्र तयार गर्ने कुरामा हालसम्म उल्लेखनीय काम कारबाही भएको देखिएको छैन । राजनैतिक दलको भ्रष्टाचारप्रतिको मोहमा विकर्षण नहुँदासम्म, नीतिगत निर्णयको नाममा राष्ट्रको सम्पत्ति दोहन गर्ने मनसाय नमरेसम्म ठुला भनिने भ्रष्टाचारलाई रक्षा कवच दिइरहँदासम्म भ्रष्टाचारको नियन्त्रणमा फड्को मार्न कठिन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस