बाँझो जग्गामा खेती गर्नेलाई गाउँपालिकाले अनुदान दिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बाँझो जग्गामा खेती गर्नेलाई गाउँपालिकाले अनुदान दिने


६ जेष्ठ २०७७, मंगलबार


स्याङ्जा । फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमिन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्‍ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्‍नमा आत्मनिर्भर बनाउने योजनाका साथ किसानलाई अनुदान दिने निर्णय गरिएको बताए । उनले भने, ‘गाउँघरमा खेतीयोग्य जमिन बाँझै छन्, युवाहरु रोजगारीको खोजीमा विदेसिएका छन् । यो परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले बाँझो जमिनमा खेती गर्ने किसानका लागि अनुदान दिने योजना ल्याएका हौं ।’

आफ्नै जग्गामा धानखेती गर्ने किसानलाई दुई रोपनीको चार हजार रुपैयाँ, आफ्नै जग्गामा कोदो खेती गर्नेलाई प्रतिरोपनी दुई हजार र भाडामा लिएर धानखेती गर्नेलाई पाँच हजार रुपैयाँ अनुदान दिइनेछ । दलहन वा तरकारी खेती गर्नेलाई दुई हजार ५०० रुपैयाँ अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस