सर्वोच्चमा गठन भयो १९ सदस्यीय पूर्ण इजलास « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्वोच्चमा गठन भयो १९ सदस्यीय पूर्ण इजलास


५ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत पूर्ण इजलास गठन भएको छ । ५५ दिनदेखि जारी लकडाउनका कारण उठ्ने म्याद, हदम्याद अनि तारेखका विषयवस्तुबारे सम्बोधन गर्न सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन भएको हो ।

सर्वोच्चमा हाल २० जना न्यायाधीश बहाल रहेकोमा १९ सदस्यीय इजलास गठन भएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको केही दिनभित्रै अवकाश हुने भएकाले उनलाई इजलासमा समावेश गरिएको छैन । सर्वोच्चमा एउटा न्यायाधीशको पद भने रिक्त छ ।

इजलासमा सर्वोच्च अदालतकै मुद्दा महाशाखाबाट तयार भएको प्रतिवेदनबारे छलफल गरिने भएको छ । प्रतिवेदनका साथमा अधिवक्ताहरु टिकाराम भट्टराई र महेश्वर श्रेष्ठलगायतले दर्ता गरेको निवेदन पनि साथमा राखिएको छ ।

सोमबार गठन भएको इजलासमा म्याद, हदम्याद र तारेखका विषयवस्तुबारे छलफल गरिने छ । गत चैत ११ गतेदेखि लकडाउनपछि मुद्दा दर्ता गर्नुपर्ने हदम्याद र फैसलाको पुनरावेदन गर्नुपर्ने म्याद नाघेका कारण सयौं मुद्दा प्रभावित भएका छन् । मुद्दाका पक्षहरुले तारिख लिन जान पाएका छैनन् । कानुनअनुसार चल्नुपर्ने म्याद, हदम्यादका विषयमा सर्वोच्च अदालतको पूर्ण बैठकको भरमा निर्णय गर्दा त्यसको वैधताको प्रश्न उठ्ने भएकाले इजलासबाट सम्बोधन गर्न उक्त इजलास गठन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस