नागरिक जोगाउन लकडाउनमा थप कडाइ गरिने : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नागरिक जोगाउन लकडाउनमा थप कडाइ गरिने : मुख्यमन्त्री भट्ट


५ जेष्ठ २०७७, सोमबार


काठमाडैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को सङ्क्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताएका छन् । मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाइ गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताए ।

सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भने, ‘हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ ।’

फोन संवादकै क्रममा उनले अहिलेको सङ्कट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय भनेको बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उल्लेख गरे । उनले भने, ‘लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो, खान नपाएको खण्डमा सरकारले व्यवस्थापन गर्ने छ, लकडाउनको विकल्प छैन ।’ मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको सङ्क्रमणको अवस्थालाई हेरेर लकडाउनलाई कडाइ गर्न निर्देशन दिन लागिएको उनले जानकारी गराए ।

मुख्यमन्त्री भट्टले घर आउन नपाएर भारतीय सीमा क्षेत्रमा रोकिएका नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने विषयमा पहल भइरहेको जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीलाई आम नागरिकले सहयोग गर्न र पूर्ण पालना गर्नसमेत मुख्यमन्त्री भट्टले सबैमा आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस