कोरोना सङ्क्रमित र मृत्यु भएका व्यक्तिको फोटो प्रकाशित गर्नु वैयक्तिक गोपनीयताको प्रतिकूल -प्रेस काउन्सिल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमित र मृत्यु भएका व्यक्तिको फोटो प्रकाशित गर्नु वैयक्तिक गोपनीयताको प्रतिकूल -प्रेस काउन्सिल


४ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । कोरोना सङ्क्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर र वैयक्तिक विवरण प्रकाशित गरेको विषयमा प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जाललगायत विभिन्न अनलाइन माध्यमहरूबाट सम्प्रेषण भएका घटनाहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै यसरी सम्प्रेषण गर्दा वैयक्तिक गोपनीयताको प्रतिकूल हुनुका साथै मानवीय समवेदना खलबलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने हुँदा पत्रकार, संचारकर्मी, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई थप सावधानी अपनाउन काउन्सिलले ध्यानाकर्षण गरेको हो ।

साथै नियम कानुनको परिधिभित्र नरही गैरपेशागत र गैरकानुननी हर्कत गर्दा आइपर्ने समस्याको जिम्मेवारी स्वयंले लिनुपर्ने जनाउँदै सीमा नाघेर गरिने कर्मलाई प्रेस स्वतन्त्रताको रूपमा नबुझ्न समेत काउन्सिले आग्रह गरेको छ ।

शनिवार स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले सूचना तथा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ बिरामीहरूको वैयक्तिक विवरण सार्वजनिक नगरिदिन भन्दै पत्र पठाएको थियो ।

बिरामीको व्यक्तिगत विवरणहरू प्रकाशन हुँदा बिरामीको सामाजिक मान मर्यादामा असर पर्न जाने तथा उनीहरूको मौलिक हकसमेत उल्लङ्घन हुने भन्दै व्यक्तिगत विवरण प्रकाशन नगरिदिन आग्रह गरेको थियो । साथै विवरण प्रकाशित गरिएको पाइएमा ऐन नियम अनुसार कारबाही गर्ने व्यवस्थाका लागि प्रेस काउन्सिलमार्फत सञ्चार माध्यमहरूलाई जानकारी गराउन पत्राचार गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस