स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार : दुई सदस्यीय छानबिन समिति गठन, ‘मुकदर्शक’ प्रहरीमाथि अनुसन्धान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार : दुई सदस्यीय छानबिन समिति गठन, ‘मुकदर्शक’ प्रहरीमाथि अनुसन्धान


४ जेष्ठ २०७७, आइतबार


काठमाडौं । गत शुक्रबार नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय छानविन समिति गठन गरिएको छ । घटनामा प्रहरीको संलग्नता देखिएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षक सन्तोष राठौर र निरीक्षक बिष्णुप्रदीप बस्याल सम्मिलित छानबिन समिति गठन गरेको हो।

नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको घटनामा प्रहरीको संलग्नता देखिएको डिआइजी विश्वराज पोखरेलले बताए । उनले भने, ‘प्रहरीको संलग्नता, ध्यान नपुगेको वा लापरबाही भएको भन्नेबारे अनुसन्धान गर्न छुट्टै छानबिन समिति गठन गरेको छु, संलग्नमाथि अनुसन्धान हुन्छ, प्रतिवेदन आएपछि कारबाही हुने नहुने थाहा हुन्छ।’

शुक्रबार राति काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा युवा स्वयम्सेवी उत्तम कार्कीलगायतका युवाहरुले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गरेका थिए। निर्देशक कार्कीको गाडी चेक गर्नुका सार्थ उनको गाडीमा खानतलासीसमेत गरेका थिए । निर्देशक कार्कीले आफ्नो सबै परिचय बताए पनि उनीहरुले जबरजस्ती गाडीको खानतलासी गरेका थिए । सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि त्यसको विरोधसमेत भएको छ।

निर्देशक कार्कीमाथि त्यस्तो दुर्व्यवहार गर्दा पनि त्यहीँ खटिएको प्रहरीले कुनै प्रतिक्रिया नजनाउनु प्रहरीको संलग्नता रहेको आशंका गरिएको छ । स्वास्थ्यकर्मीमाथिनै अभद्रव्यवहार हुँदासम्म मुकदर्शक बनेर हेरेको भन्दै त्यहाँ खटेका प्रहरीहरूमाथि अनुसन्धान हुने भएको हो।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको छ ।

घटनामा संलग्न उत्तम कार्कीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । उक्त घटनामा अन्य व्यक्तिको संलग्नता देखिए पक्राउ गरी आवश्यक कारबाही गरिने डिआइजी पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस