भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर


४ जेष्ठ २०७७, आइतबार


भद्रपुर । दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।

सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५/१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि उनीहरुलाई रोक्न एक राउण्ड हवाई फायर गरिएको बताए ।

नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर तितरवितर भएका थिए । भारतीय नागरिकले नेपाली भूमिमा लगाएको मकैबाली उठाउनका लागि जबर्जस्ती गर्ने क्रममा झापाको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो ।

एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो । भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

यसैगरी डेढ साताअघि झापाको केचनकबलस्थित सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीको टोलीमाथि भारतीयले आक्रमणको प्रयास गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस