सिंहदरवार प्रबलीकरण पुनः सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिंहदरवार प्रबलीकरण पुनः सुरु


३ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । कोभिड-१९ सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण केही समय प्रभावित भएको सिंहदरवार प्रबलीकरणले पुनः गति लिएको छ । सिंहदरवारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भई टायल मार्बल एवं रङ रोगनको काम भइरहेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

सिंहदरवार प्रबलीकरणको कार्यान्वयन हेर्ने प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ(भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरणलाई अघि बढाइएको बताए। सामाजिक दुरीमा राखी कामदार परिचालन गरिएको छ ।

निर्माण कम्पनीले निर्माण स्थलमा बाँकी रहेका तथा स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ । निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उहाँको भनाइ छ । कामदारलाई सानो सानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती/न्यु टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिए ।

चार वटा मोहडाको प्रबलीकरणमा हाल ११९ कामदारले काम गरिरहेका छन् । कामदारलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको उनले बताए । बन्दा बन्दीका कारण रोकिएको रानीपोखरी एवं धरहरा पुनः निर्माणको काम यसअघि नै सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस