त्रस्त नबनौँ, कोरोनासँग लडौँ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

त्रस्त नबनौँ, कोरोनासँग लडौँ


३ जेष्ठ २०७७, शनिबार


विश्व महामारीको रूपमा सल्किएको अदृश्य शत्रु कोरोनासँग लड्न सरकार, सरोकार तथा मानव समुदाय वा देशहरू बिच सचेतना, सतर्कता, संवेदनशीलता, संयमता, सद्भाव, सहयोग र सहकार्य (७ स)को खाँचो टड्कारो देखिन्छ । बर्तमानमा कोरोनाको उपचार असम्भव भए पनि रोकथाम सम्भव छ । अहिलेसम्मको अध्ययन र अनुभवबाट कोरोना सङ्क्रमित मध्ये २ देखि ३ प्रतिशतको मात्र मृत्यु हुने देखिएता पनि यसको निश्चित उपचार विधि पत्ता लागिसकेको छैन । यसको उपचार भन्दा पनि रोकथामका उपायहरू प्रभावकारीरुपमा अवलम्बन गर्नुको विकल्प छैन । रोगको लक्षण र सर्ने माध्यम तथा बच्ने उपायहरूबारे व्यापक जनचेतनाको खाँचो टड्कारो देखिन्छ । मनिसले आफ्नो बानी ब्यहोरा र आहार विहार स्वास्थ्यकर बनाएमा कोरोना भाइरस सङ्क्रमणबाट बच्न सकिने स्वास्थ्य कर्मीको सुझावलाई आत्मसात् गर्ने तर्फ हेक्का राख्नु बुद्धिमानी हुन्छ । कोरोना हाहाकार बारे अतिरञ्जित प्रचार प्रसारले सर्वत्र त्राहिमाम छूाएको छ । अनुशासित स्वास्थ्यकर बानीव्यहोरा र दृढ आत्मबल तथा सकारात्मक शोकबाट कोरोनालाई परास्त गर्न सकिने अनुभव सिद्ध तथ्य हो।

कोरोना सङ्क्रमणको ग्राफ दिनानुदिन ज्यामितीय हिसाबले उकालो लागेको छ । अहिले कोरोनाको सङ्क्रमण विश्वका धनी र साधनस्रोत सम्पन्न देशहरूमा फैलिएको छ । विपन्न र विकासोन्मुख देशमा अहिले सम्म खासै असर नदेखिनुमा रोगको परीक्षण सुविधा र प्रक्रियामा प्रभावकारिता नहुनु वा यात्रु प्रवाहमा कमी भएको हुन सक्छ । तर यस्ता देशहरूमा भाइरस प्रवेश गरेमा निश्चय नै महामारीकोरुप नलेला भन्न सकिन्न । आर्थिक र प्राविधिकरुपले अत्यन्त सबल राष्ट्र चीनलाई समेत कोरोना भाइरसको सामना गर्न हम्मे हम्मे परेको जगजाहेर नै छ । तर अहिले कोरोना सङ्क्रमणलाई नियन्त्रण गरेर विश्वलाई तत्कालको लागि उपचारको औषधी नभए पनि रोकथाम गर्न सकिन्छ भन्ने पाठ चीनले सिकाएको छ ।

पछिल्ला समयमा बेलैमा सावधानी अपनाएर दक्षिण कोरिया, जापान, सिंगापुर आदि देशले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न सक्षम भएका छन् । तर इटाली, स्पेन, अमेरिका, इरान, ब्रिटेनले हेलचक्र्याइ गर्नाले अहिले दिन प्रति दिन ठुलो मानव क्षतिको मूल्य चुकाउँदै छन् । आफूलाई विश्वको शक्तिशाली भन्ने देशका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई हेपेर कोरोना भाइरसलाई चाइनिज भाइरसको संज्ञा दिएर ठुलो विवादमा आएका थिए । जसका कारण अमेरिकामा बसोबास गर्ने चीनियमूलका नागरिक माथि कतिपय ठाउँमा दूरव्यवहार समेत भएको थियो । तर, पछि लाचार भएर कोरोना विरुद्धको लडाइमा चीनसँगै सहकार्य गर्न ट्रम्प विवश भएका छन्। यस महामारी फैलाउने भाइरसले धनी, गरिब, ठुलो सानो, जातजाति, लिङ्ग, भौगोलिक विभिन्नता कुनै लाई पनि विभेद नगरी आक्रमण गरिराखेको छ ।

‘बुद्धिमान देखेर र मूर्ख परेर चेत्छ’ भने झैँ हामीले पनि अरूको अवस्थाबाट सिकेर बेलैमा कोरोना विरुद्धको मार्गचित्र बनाएर नै रोकथामको उपाय अवलम्बन गर्न चुक्नु हुँदैन। विश्वका कतिपय देशहरूले कोरोना सङ्क्रमणलाई गम्भीरतापूर्वक लिएर लकडाउन गर्ने लहर नै चलेको छ । मनिसको जमघटहुने राष्ट्रिय अन्तर्राष्ट्रिय सभा, समारोह, सम्मेलन, पर्व उत्सव स्थगित गरिएका समाचारहरू एकपछि अर्को आइराखेका छन् । कोरोनाको सङ्क्रमणको डरले साउदी अरबले विदेशी मुस्लिमलाई पवित्र तीर्थस्थल मक्का र मदिनाको तीर्थयात्रामा रोक लगाउने निर्णय गरेको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका विद्यालयहरू केही समयका लागि बन्द गर्ने सङ्केत गरेका छन् । मौजुदा परिस्थतीमा सुधार नआएर जोखिम कायमै रहेमा साउदी अरबमा मुसलमानहरूको पवित्र तीर्थाटन हज र जूलाइमा जापानको टोकियोमा हुने ओलम्पिक खेल समेत एक वर्षका लागि स्थगित गरिएको छ । सुरुमा नेपाललाई कोरोनामुक्त देश घोषणा गरेर पर्यटकहरूलाई नेपाल भ्रमणमा आउन पर्यटन मन्त्रालयले आव्हान गरेर अदूरदर्शी र अपरिपक्वता देखाएको थियो। यस उरन्ठेउलो निर्णयको सर्वत्र आलोचना भएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२०लाई स्थगित गरेको छ । अहिले देशमा लकडाउन चलेको छ । साथै सभा सम्मेलन लगायतका भिडभाडजन्य कार्यक्रम नगर्न नगराउन सरकारले अपिल गरेको छ । सरकारी निकाय बाट आदेश, निर्देश र अपिलका कागजी झटारोले मात्रै भविष्यमा आइपर्ने विपत्ति टर्ने छैन । कोरोना विरुद्धको भाषण र आश्वासन भन्दा एक्सन अहिलेको आवश्यकता हो ।

कोरोनाको सङ्क्रमणबाट जोगिन र सामना गर्न प्रत्येक नागरिकले आआफ्नो तर्फबाट बेलैमा सजगता अपनाउनु पर्दछ । सरकारको मात्र भर र गाली गरेर पूर्वतयारीमा बेवास्ता गरेउँ भने हामी सबैको लागि गम्भीर आत्मघाती भूल नहोला भन्न सकिन्न । प्रत्येक घरघर र व्यक्तिले कोरोना विरुद्धको तयारी आवश्यक हुन्छ। घरको सरसफाइमा प्रयोग हुने डिटोल, साबुन, दिनहुँ प्रयोग हुने खाद्यान्न २.३ महिनालाई पुग्ने गरी राख्नु पर्दछ । रुघाखोकीको औषधी ज्वरो नाप्ने थर्मामीटर आदी स्वास्थ्यका सामान्य सामाग्री पनि जोहो बेलैमा गर्नु राम्रो हो । बालबच्चा र बृद्धबृद्धाको राम्रो हेरचाह, मासुजन्य वस्तुको सेवन नगर्ने, घरपालुवा जनावर बाट टाढै बस्ने तथा स्वास्थ्य कर्मीको सुझावअनुसार दिनचर्या बिताउनु श्रेयस्कर हुन्छ । कोरोना भाइरसको समस्या विश्वव्यापी भएकोले आत्तिएर मानसिक तनावमा बस्नु भन्दा पनि सतर्कता एवं सयंमतापूर्वक सामना गर्ने उच्च मनोवलकासाथ दिनचर्या बिताउनु बुद्धिमानी हुन्छ ।

कोरोना प्रतिरोधका लागि सरकारले कोरोना सङ्क्रमण पूर्व र सङ्क्रमण पश्चात् गरिनुपर्ने कार्य योजनाको मार्गचित्र नै बनाएर प्रतिरोधमा उत्रिन विलम्ब गरिनुहुन्न । नेपालीहरू वैदेशिक रोजगारीमा गएका देशहरूमा कोरोना फैलिएमा त्यसको प्रत्यक्ष असर नेपालले व्यहोर्नु पर्ने हुन्छ । चीनबाट उद्धार गरे जस्तै अन्य देशहरू दक्षिण कोरिया, जापान, खाडीका मुलुकलगायतका देशहरूबाट आफ्ना नागरिक ल्याएर निश्चित अवधिको लागि क्वारेनटाइनमा राख्ने पर्याप्त संरचना खाँचो छ ।

नेपाल प्रवेशका नाकाहरूमा उच्च सतर्कताको अभाव, भारतसँगको खुला आवागमनका कारण पनि भाइरसको जोखिम उत्तिकै छ । यसर्थ, कोरोना जोखिमको सामना गर्न विमानस्थल र सीमा नाकामा उच्च सतर्कता अपनाउने, कोरोना सङ्क्रमित देशहरूमा गरिने उडान केही समयको लागि स्थगित गर्ने, अस्पतालहरूलाई साधानस्रोत सम्पन्न पारेर तयारी अवस्थामा राख्ने, ठुला सभा सम्मेलन भोजभतेर नगर्ने, रोग प्रतिरोध क्षमता कम भएका बालबालिका, बृद्धबृद्धा, उपचाररत बिरामीहरूको रेखदेखमा विशेष चनाखो रहने, सचेतनामूलक कार्यक्रमहरूलाई सहज र व्यापक बनाउने आदी काम राज्य र सबै नागरिकको प्रमुख दायित्व भित्र पर्छ ।

मानव जमघट धेरै हुने विद्यालय, कलेज, ठुला उद्योगधन्दा, सिनेमाघर, सार्वजनिक यातायात,सपिङ मल, व्यस्त गल्ली आदी परिस्थितिको गाम्भिर्यता सूक्ष्म आकलन गरेर अहिलेलाई बन्द गर्नु स्वागतयोग्य नै छ । सङ्क्रमणबाट बच्न सर्वसाधारणले अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने मास्कको सहज उपलब्धता, भाइरस परीक्षण कीट तथा स्वास्थ्य कर्मीको सुरक्षाको लागि आवश्यक पिपिइको पर्याप्त व्यवस्थापनमा पनि सरकार चनाखो हुनुपर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस