आज २७ औं मदन–आश्रित स्मृति दिवस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज २७ औं मदन–आश्रित स्मृति दिवस


३ जेष्ठ २०७७, शनिबार


काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २७ औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ । आजकै दिन ०५० जेठ ३ गते तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

यो दिवस हरेक वर्ष नेकपाले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

विगत वर्षझैं यो वर्ष औपचारिक कार्यक्रम गरी मनाउन नपाएपनि मदन आश्रितको सम्मानमा जहाँ बाट सम्भव हुन्छ, त्यहिं बाट मनाउने निर्णय गरेको छ ।

मदन आश्रित घटनाको २७ औं बसन्त पुग्दा पनि छानविन हुन नसक्नु झन रहस्यमय बन्दै गएको छ । तत्कालीन एमाले भित्र र अहिलेको नेकपाभित्र छानविनका लागि पहल भए पनि छानबिन हुन नसक्दा आलोचना हुने गरेको छ

तत्कालिन एमालेको पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेता द्वय चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जिवित थिए ।

चालक लामाको २०६० साल साउन ११ मा हत्या भएपश्चात त्यो घटनाको यथार्थ पत्ता लगाउन सकिएको छैन ।

मदन र जीवराजलाई आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी आज उनीहरुलाई स्मरण गर्दैछन्। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस