कार्यसम्पादन सम्झौतालाई नतिजा सूचकमा आधारित गराइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कार्यसम्पादन सम्झौतालाई नतिजा सूचकमा आधारित गराइने


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । सरकारले कार्यसम्पादन सम्झौतालाई नतिजा सूचकमा आधारित गराई थप प्रभावकारी बनाउने जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७/०७८ को नीति तथा कार्यक्रममा सरकारले नीति कार्यक्रमको कार्यान्वयनबाट हासिल हुने उपलब्धिहरूलाई नतिजा सूचकका आधारमा प्रतिवेदन र समीक्षा गरिने जनाएको छ ।

सरकारले कुनै पनि तहमा हुने कुनै पनि स्वरूपको भ्रष्टाचार नसहने र भ्रष्टाचार शून्य सहनशीलता अपनाउने नीति लिएको छ । निगरानी, अनुसन्धान र छानबिन कार्यलाई थप सशक्त बनाई भ्रष्टाचार, अनियमितता, सरकारी सम्पत्तिको अनधिकृत प्रयोग, अपचलन तथा दोहन गर्ने जुनसुकै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने सरकारको नीति छ ।

त्यस्तै सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारी, गैरसरकारी र निजी सबै क्षेत्रमा सदाचार प्रणालीको विकास गरिने सरकारले उल्लेख गरेको छ । म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म देश र जनताको लागि इमानदार भएर काम गर्नेछु भन्ने प्रतिज्ञासहितको कार्य संस्कृतिको प्रवर्द्धन गरिने सरकारले जनाएको छ ।

त्यसैगरी वित्तीय अपराध नियन्त्रणलाई थप सशक्त बनाउन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण रणनीति तथा कार्य योजना २०७६–८१ को प्रभावकारी कार्यान्वयन गर्ने नीति सरकारको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस