भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्यो : प्रवासी नेपाली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्यो : प्रवासी नेपाली


२ जेष्ठ २०७७, शुक्रबार


लुम्बिनी। प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड-१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर छाडिदिने गरेको भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा बनाइएका क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले बताएका छन् ।

सीमामा अलपत्र परेकाहरूलाई दुई दिन अगाडि नेपाल ल्याइएको हो । लीलाराम मावि र भैरहवा नमुना माविको क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले भारतीय प्रहरीले नै गाडी व्यवस्था गरेर पठाएको बताए । नमुना माविको क्वारेन्टाइनमा बस्नुभएका कपिलवस्तु महाराजगन्जका राजीव केवटले भने, “दिल्लीमा कपडा बनाउने ठाउँमा काम गर्थ्यौँ, बन्द भएपछि हिँड्यौँ । उतैबाट गाडीले नौतनवासम्म ल्याएर छाडिदिएको हो ।”

बम्बईमा काम गर्ने रुपन्देही, कोटहीमाई गाउँपालिकाका पिन्टु यादवले काम गर्ने कम्पनी बन्द भएपछि साइकलमा निस्किएको र भारतीय प्रहरीले ट्रक रोकाएर पठाएको बताए । क्वारेन्टाइनमा बसेका कञ्चनपुरका धिरु राना, नुवाकोट सूर्यगढीका वासुदेव लामिछाने, रुपन्देही गैडहवाका कोलन चाइलगायतले भारतीय प्रहरीको सहयोगमा नेपालको सीमासम्म आएको बताए ।

बिहीबार मात्रै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भारतीय पक्षले नेपालीलाई सीमामा ल्याएर छाड्नु विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड विपरीत भएको बताएका थिए ।

भारतीय सरकारले व्यवस्थापन गर्नाको साटो एक हजार किलोमिटर टाढाको गन्तव्यमा जबरजस्ती पठाइरहेको छ । भारतमा बन्दाबन्दीमा रेल सेवासमेत सुरु भएपछि दैनिक हजारौँ नेपाली स्वदेश फर्किन थालेका छन् ।

रुपन्देही र कपिलवस्तुको सीमावर्ती क्षेत्रमा मात्रै चार हजारभन्दा बढी प्रवासी नेपाली स्वदेश प्रवेशको बाटो कुरेर बसेका छन् । स्थानीय प्रशासनले जिल्लाका विभिन्न पालिकाले तयार गरेका क्वारेन्टाइनमा उनीहरूलाई राखेको छ । बुधवार मात्रै ४९५ जना बेलहिया नाकाबाट नेपाल आएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

बेलहिया नाकासँग जोडिएको जिल्ला सदरमुकामसमेत रहेको सिद्धार्थनगरपालिका, भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा प्रवासी नेपालीलाई राखिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । नगरको शैक्षिक तालीम केन्द्रको क्वारेन्टाइनमा ५७, लीलाराम माविको क्वारेन्टाइनमा १८०, नमुना माविको क्वारेन्टाइनमा ६४ र प्रतिमान नीमा प्रतिष्ठानको क्वारेन्टाइनमा ८९ जना राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस