अत्यावश्यकीय सेवा बाहेकका कार्यालय १५ दिन बन्द गर्दै राजधानी छिर्ने नाकामा सेना खटाउन सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अत्यावश्यकीय सेवा बाहेकका कार्यालय १५ दिन बन्द गर्दै राजधानी छिर्ने नाकामा सेना खटाउन सिफारिस


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । उपत्यकास्थित तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकीय बाहेकका सबै कार्यालय १५ दिन बन्द गर्दै राजधानी प्रवेश गर्ने सबै नाकामा नेपाली सेना खटाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर(सीसीएमसी) र उच्चस्तरीय समितिसमक्ष सिफारिस गरेका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तथा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुखसहितको संयुक्त बैठकले उपत्यकाभित्र कोरोना भाइरस संक्रमणका बिरामी भेटिएपछि बाहिरबाट आउने मानिसलाई प्रवेश रोक्न नाकामा सेनासहितको सुरक्षा व्यवस्थापन मिलाउन सिफारिस गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय १५ दिनका लागि बन्द, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारलगायतको कोरोना परीक्षण गर्नुपर्नेलगायत विभिन्न ९ वटा निर्णय कार्यान्वयनका लागि सिफारिस गरिएको छ ।

‘काठमाडौँ उपत्यका सेना, प्रहरी, सशस्त्र प्रहरीका साथै स्वास्थ्यकर्मी सम्मिलित डेडिकेटेड टिम खटाई विदेश र नेपालका प्रभावित स्थानबाट आउनेको हकमा ‘अन द स्पट’ आरडीटीको व्यवस्था गर्ने,’ प्रशासनको सिफारिसमा भनिएको छ ।

वैशाख २३ मै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा तीन वटै जिल्ला प्रशासनको टोली राजधानी भित्रिने नाकाको स्थलगत निरीक्षणमा निस्किएको थियो । निरीक्षणपछि प्रशासनको टोली राजधानीमा संक्रमण फैलन नदिन थानकोट/नागढुंगा, फर्पिङ, जगाती, तीनपिप्ले/मुड्खुभन्ज्याङ, जर्सिङपौवा र कात्तिके(काभ्रे र सिन्धुपाल्चोक जोड्ने) ६ वटा नाका सिल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही निष्कर्षका आधारमा नाका सिल र सेना खटाउन सिफारिस गरिएको हो ।

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा तीन वटै जिल्लाका प्रजिअ, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा समन्वय अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको सीसीएमसीको बैठक बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस