धनगढी उपमहानगरपालिकामा अख्तियारको छापा, राहत सामाग्री खरिद प्रक्रियाका कागजात नियन्त्रण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धनगढी उपमहानगरपालिकामा अख्तियारको छापा, राहत सामाग्री खरिद प्रक्रियाका कागजात नियन्त्रण


१ जेष्ठ २०७७, बिहिबार


कैलाली । धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले छापा मारेको छ ।

धनगढीको ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमितता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगको महेन्द्रनगर कार्यालयले छापा मारेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो ।

ठाकुर ट्रेड लिंकलाई बोलपत्र दर्ताको समय नसकिँदै र मूल्याङ्कन नगरि उपमहानगरपालिकाले बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको बुझिएको छ ।

उपमहानगरपालिकाले गत वैशाख ११ गते बोलपत्र आह्वान गरेकोमा दर्ताको समय वैशाख १४ गते १२ः०० बजेसम्म राखेको थियो । वैशाख १४ गतेसम्म बोलपत्र दर्ताको समय भए पनि उपमहानगरपालिकाले भने वैशाख १२ गते नै ठाकुर ट्रेड लिंंकको बोलपत्र मूल्याङ्कनमा सफल भइसकेको उल्लेख गरेको छ ।

उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्णप्रसाद जोशी, खरिद एकाइ प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकृतका लागि टिप्पणी उठाएर पेस गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस