कोरोना : प्रभाव तथा परीक्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना : प्रभाव तथा परीक्षण


१ जेष्ठ २०७७, बिहिबार


विश्वमै महामारीको रूपमा फैलिरहेको कोभिड १९ को कारण जनजीवनमा नै प्रभाव परेको छ । यस रोगको प्रभाव सबै मुलुकहरूमा समान छैन । कुनै मुलुकहरूमा ठुलो सङ्ख्यामा मानिसहरूले ज्यान पनि गुमाइरहेका छन् भने केही मुलुकहरूमा भर्खर भर्खर फैलिँदो छ । केही देशहरूले यस रोगमा जुधेर नियन्त्रण गर्न सफल पनि भएका छन् । कोरोनाको प्रभावबाट अछुतो भने आजको विश्वव्यापीकरणको दुनियाँमा कोही रहन सक्तैन । तर कोरोनाको परीक्षण र रोकथामका लागि अपनाइएका विधिहरूको व्यवहारिक पालनाले अर्थ राख्दछ ।

सन् २०१९ को डिसेम्बरमा चीनको हुवेइ प्रान्तको वुहान सहरमा देखा परेको कोरोना भाइरसको सङ्क्रमणले महामारीको रूप लिएको छ । कोरोनाका कारण विश्वभर आर्थिक गतिविधिहरू ठप्प प्राय छन् । यसको प्रभाव नेपालजस्ता मुलुकहरूमा व्यापक हुन सक्छन् । भारतमा पछिल्लो समयमा कोरोनाको सङ्क्रमण दर बढिरहेको छ । बहुसङ्ख्यक नेपालीहरू भारतमा रहेका हुनाले र नेपाल भारतबिच खुला सिमाना रहेका कारण नेपालमा पनि कोरोना सङ्क्रमणको चुनौती बढ्दै गइरहेको छ । यस्तो अवस्थामा हामी अझ बढी सतर्क रहनुपर्ने हुन्छ ।

पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसको कारण सङ्क्रमित मानिसहरूको सङ्ख्या करिब ४२ लाख पुगेको छ । यस रोगको कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या २ लाख ८० हजार नाघेको छ भने उपचार भई निको भएका बिरामीहरूको सङ्ख्या १५ लाख बढी रहेको छ । हालसम्म २ सय १२ मुलुकहरूमा कोभिड १९ फैलिएको छ । यस रोगको इपिसेन्टर मानिएको चीनमा भने मानिसहरूको चहलपहल सुरु भएका खबरहरू आएका छन् । त्यहाँ जनजीवन पूर्ववत् चल्न थालेका छन् । अन्यत्र यस रोगका बारेमा थोरै मात्र जानकारी हुँदै गर्दा नै चीनको वहान सहरमा यो व्यापक भइसकेको थियो । जसको नियन्त्रणको लागि लामो समय लकडाउन लगाइएको थियो । समयमै सतर्कता अपनाएको हुनाले चीनले सम्भावित ठुलो क्षति टार्‍यो भनिएको छ । कडा लकडाउन र व्यापक परीक्षणको कारण नै चीनमा कोरोना नियन्त्रण आएको भनिन्छ ।

वर्ल्ड ‌ओ मिटरका अनुसार विश्वभरमा प्रति दश लाख मानिसमा ५३६ जना मानिसमा कोरोना सङ्क्रमण भएको छ भने प्रति दश लाख मानिस मध्ये ३६ जना मानिसहरूको मृत्यु भएको छ । यसको दर सबै मुलुकमा समान हुने कुरा पनि भएन । हामी एक पटक कोरोनाको प्रभाव र परीक्षणका अवस्थाहरू बारेमा विश्लेषण गर्नु जरुरी पनि छ । अनौठो विषय भएको छ कोभिड १९ । अहिलेसम्म यसको उपचारको लागि कुनै औषधि पत्ता लागेको छैन । यसकै कारण मानिसहरू बढी त्रसित पनि भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी सङ्क्रमित भएका छन् । जसमा १३ लाख भन्दा बढी मानिसमा सङ्क्रमण देखिएको छ । त्यहाँ ८० हजार भन्दा धेरै मानिसहरूको मृत्यु भएको छ भने प्रति दश लाख मानिस मध्ये २८ हजार भन्दा बढी मानिसहरूको कोरोना परीक्षण हुँदा प्रति दश लाख मानिस मध्ये ४ हजार भन्दा बढी मानिसहरू सङ्क्रमित देखिएका छन् । सङ्क्रमणको आधारमा दोस्रो स्थानमा रहेको देश स्पेन हो । त्यहाँ सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार भन्दा माथि रहेको छ । प्रति दश लाख मानिस मध्ये ५२ हजार भन्दा बढीको कोरोनाको परीक्षण हुँदा प्रति दश लाख मानिस मध्ये ५ हजार ६ सय भन्दा बढीमा कोरोना सङ्क्रमण रहेको देखिन्छ ।

पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएको देश रसियामा प्रति दश लाख ३८ हजार मानिसहरूको कोरोना परीक्षण भएकोमा प्रति दश लाख मानिस मध्ये दुई हजार ३ सय मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । यसै गरी छिमेकी मुलुक भारतमा सङ्क्रमितको सङ्ख्या ६७ हजार नाघेको छ । जहाँ प्रति दश लाख मानिस मध्ये १२ सय भन्दा बढी मानिसहरूको कोरोना परीक्षण भएको छ भने प्रति दश लाख मानिस मध्ये ४९ मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । संयुक्त अरब इमिरेट्समा प्रति दश लाख मानिस मध्ये १ लाख २१ हजार भन्दा धेरै मानिसहरूको कोरोना परीक्षण भएको छ भने प्रति दश लाख मानिस मध्ये १८ सय भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनमा प्रति दश मानिस मध्ये लाख १ लाख ८ हजार भन्दा बढी मानिसहरूको कोरोना परीक्षण भएको छ भने प्रति दश लाख मानिस मध्ये २९ सय बढी मानिसमा कोरोना सङ्क्रमण देखिएको छ ।

यसै गरी आइसल्यान्डमा प्रति दश लाख मानिसमध्ये १ लाख ५८ हजार भन्दा धेरै मानिसहरूको कोरोना परीक्षण भएको छ भने प्रति दश लाख मानिस मध्ये ५२ सय भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । हाम्रो देश नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २१ पुगेको छ । यहाँ प्रति दश लाख २४ सय भन्दा धेरै मानिसहरूको कोरोना परीक्षण भएको छ भने प्रति दश लाख मानिस मध्ये ४ मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । नेपालमा हालसम्मै कुनै पनि व्यक्तिको कोरोनाको कारण मृत्यु भएको छैन । तर विदेशमा भने ७० जना भन्दा बढी नेपालीहरूले कोरोनाको कारण मृत्यु भएका खबरहरू आएका छन् ।

यसरी कोरोनाले कहाँ कहाँ के कस्तो प्रभाव पार्‍यो र के कति सङ्क्रमण फैलियो भन्ने विषय मुख्यतः परीक्षणमा नै निर्भर गर्दछन् । जुन कुरा माथिका तथ्याङ्कबाट नै स्पष्ट हुन सकिन्छ । के कति सङ्क्रमित भए भन्ने मात्र आधार लिएर कोरोनाको प्रभाव विश्लेषण गर्न सकिँदैन । त्यो मुलुकको जनसङ्ख्या र कोरोनाको परीक्षणको दरलाई एकै साथ विश्लेषण गरिनुपर्दछ । कुनै बहराइन तथा संयुक्त अरब इमिरेट्स जस्ता मुलुकहरूले जुन हिसाबमा परीक्षणको दायरा बढाएका छन् । भारत जस्ता धेरै जनसङ्ख्या भएका मुलुकहरूमा यसको दायरा अझ बढी फराकिलो पार्नुपर्ने हुन्छ । तब नै कोरोनाको वास्तविक सङ्क्रमण तथा यसको प्रभाव आंकलन गर्न सकिन्छ । तसर्थ जनसाङ्ख्यिक आधार र अन्य विविध पक्षहरूले पनि कोरोना परीक्षण र यसले पार्ने प्रभावमा भूमिका खेल्न सक्छन् ।

व्यापार व्यवसाय, कलकारखाना बन्द हुन पुगेका छन् । कैयौँ मानिसहरू बेरोजगार भइरहेका छन् । विश्व आर्थिक मन्दी मात्र नभई त्रासदीपूर्ण वातावरण सिर्जना भएको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई महामारीको संज्ञा दिएर सावधानी अपनाउँदै आवश्यक कदमहरू चाल्न अपिल गरेको छ । मानिसबाट मानिसमा सर्ने र लक्षणहरू लामो समयमा मात्र देखिने खालको रोग भएको हुनाले झनै भय थपेको छ । कोरोना भाइरस शरीर बाहिर पनि केही दिनसम्म रही सङ्क्रमण गर्न सक्ने र अन्य जनावरहरूमा पनि मानिसबाट सरेका घटनाक्रमहरूबाट थप सावधानी अपनाउनुपर्ने देखिएको छ ।

यसको अलावा रोकथामको लागि सावधानी र सतर्कता त अपरिहार्य नै हुने भए । सामाजिक दुरी कायम गर्ने, क्वारेनटिन बस्ने तथा लकडाउनको पालना गर्ने गराउने सबैको सबैका लागि एकल र सामूहिक दायित्व नै साबित भएका छन् । परीक्षणको दायरा जति वृहत् गर्न सकिन्छ, उति नै कोरोनाको चेक ब्रेक गर्न सहज हुने र कोरोनाको रोकथाम गर्न सकिने जानकारहरू बताइरहेका छन् । रोकथामका लागि लागू गरिने लकडाउन लगायतका कार्यहरूबाट सर्वसाधारण नागरिकको दैनिक रोजीरोटीमा दक्खल पर्न जाने असरहरूको यथार्थपरक सम्बोधन गर्ने प्रणाली पनि अत्यावश्यक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस