सिकाइमा सिर्जनात्मकता : शिक्षाको मार्गचित्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिकाइमा सिर्जनात्मकता : शिक्षाको मार्गचित्र


३१ बैशाख २०७७, बुधबार


मानव जातिको सिक्ने सिकाउने तरिका घरमा आधारित थियो । असङ्गठित अगुवाबाट असङ्गठित रूपमै सिक्ने सिकाउने विधिबाट पनि मानव सभ्यताले यति फड्को मारेर हामी यहाँसम्म आइपुगेका र्छौ । पूर्वीय सभ्यतामा ऋषिमुनिहरुको तपस्या, लगाव र अर्ती उपदेशको श्रृङ्खलावद्ध प्रयत्न निकै फलदायी रहेको छ । पश्चिमी सभ्यतामा पनि पूर्वीय सभ्यताबाट सिकेका विषयहरू आफ्नोपनसहित उजागर गर्दै अझ उन्नत बन्दै आएको विकास उपक्रमबाट धेरै कुरा लिन सकिन्छ ।

मानव विकासका लागि सङ्गठित सिकाइको विकासक्रम  सँगै स्थापना भएका धार्मिक तथा सामाजिक संस्थाहरूले निःशुल्क शिक्षा प्रदान गर्न थालिएको हो । बिस्तारै यो राज्यको दायित्वभित्र पर्दै क्रमशः व्यावसायिक र नाफामूलक उद्योगका रूपमा फस्टाएको छ । विकसित र विकासशील राष्ट्रहरूमा सरकारी, सामुदायिक वा निजी सम्पत्ति लगानीको ठुलो हिस्सा बनेको छ ।

नेपालमा पनि अहिले शिक्षा क्षेत्रमा सरकारी तथा सामुदायिक लगानीसँगै निजी क्षेत्रको व्यावसायिक लगानी बढ्दै गएको अवस्था छ । विशेषतः निजी क्षेत्रको व्यावसायिक लगानीले समग्र शिक्षा पद्धतिलाई चाहेर वा नचाहेर नयाँ विधि र प्रविधितर्फ मुखरित गर्दै आएको छ । विश्वमा जहाँ पनि उन्नयनको प्रारम्भ सामान्यतः व्यक्ति वा निजी प्रयासबाट थालेर क्रमशः सार्वजनिक वा लोकप्रिय हुँदै सरकारी नीतिमा समेट्ने गरिन्छ ।

सूचना र प्रविधिको विकास र सरकारी क्षेत्रमा यसको समुन्नत उपयोगको प्रयत्न पनि माइक्रोसफ्ट, गुगल, वेभ पेज, फेसबुक पेज वा जे भनौ निजी प्रयत्न बढेर नै सार्वजनिक निधि बन्न सकेका हुन् । मैले यो पृष्ठभूमि किन उल्लेख गर्दछु भने सरकारी नीति तथा प्रयत्नमा उन्नयनको मूल आधार निजी क्षेत्रबाट प्रयोग गरी परीक्षण भैसकेका विषयमा आधारित हुँदा बढी जोखिमरहित हुने गरेको देखिन्छ ।

सरकारी योजनाहरू नीति, बजेट र कार्यक्रममा आधारित हुन्छन् । एक ढङ्गले भन्ने हो भने सरकारी योजना बन्ने र लगानी सुनिश्चित गर्ने पद्धतिको लालफिता निक्कै स्थिर र लामो हुन्छ । त्यहाँ पदसोपान छ । पासोपनका आधारमा आफैँ नै धेरै जान्दछु वा हामी टेक्नोक्रेट मात्र हौँ भन्ने दुई थरी अतिवाद छ । यही बहानामा कर्मचारीतन्त्र यथास्थितिमा रमाउने बानी परेको करिब स्थिर संयन्त्र जस्तो बनेको छ ।

अझ भन्ने हो भने नेपाल जस्तो तेस्रो विश्वमा त सधैँ पूर्व सत्ता वा विपक्षीको विरोध गर्दै व्यक्तित्व विकास गरेको राजनीतिक नेतृत्व छ । यस्तो नेतृत्वले दुःखले आर्जन गरेको प्रगतिको दृष्टिकोणलाई मात्र पनि पव्रिmएर सहयोग गर्न चाहने वा गर्न सक्ने क्षमतायुक्त कर्मचारीतन्त्र नहुनु स्वाभाविकै हो । यस्ता मुलुकमा कहलिएको बौद्धिक वर्गको पृष्ठभूमि र विकासक्रम पनि उस्तै दिग्भ्रमित हुनु स्वाभाविकै हो । यस्तो परिस्थितिमा बरु निजी क्षेत्रलाई केही अब्बल मार्गदर्शक र लगानीकर्तालाई सजिलै उपयोग गरी उन्नयन खोज्न सहज हुन सक्दछ ।

कोरोना भाइरसको विशेषता भनेको यसले ठुलो अर्थतन्त्र भएका विकसित वा विकासशील वा अति विपन्न राष्ट्रहरूमा उस्तै सन्त्रास दिएकोको छ । यस महामारीको राम्रो पक्ष भनेको कुनै राष्ट्रले अर्काका लागि गरिदिनु पर्ने भन्ने रहेन । सबैले आआफ्ना लागि सुरक्षित रहने र उपचार गर्ने विधि आफ्नै अभ्यास वा भर्चुअल पद्धतिबाट सिक्दै आफू अनुकूल अपनाउने अवस्थामा रहेको छ । यो पनि अब सिर्जनात्मक र स्वतन्त्र सिकाइको मार्गचित्र खोजी गर्ने उपयुक्त एक अवसर हो ।

स्वतन्त्र सिकाइको अवसरलाई बलियो बनाउन विद्यालय वा सङ्गठित शिक्षाले समाजमा वर्ग विभेद बढाएको मान्ने शिक्षाविद्का तर्कलाई टेक्न सक्नु पर्दछ । यसका लागि विश्वव्यापीकरणको प्रभावलाई घरेलु उन्नति र विकासतर्फ गाउँ फर्क अभियान चलाउनु पर्ने आवश्यकताको जन्म दिएको छ ।

‘कोरोना सङ्कटले अपेक्षा गरेको सिकाइका अवसरमा विविधताका सम्भावना त हामीले पहिल्यै खोजिसकेको हुनु पर्ने हो । विद्यालय तहमा शिक्षकको प्रत्यक्ष मार्गदर्शनमा आधारित सिकाइ विधिलाई कहिल्यै पनि त्याग्न मिल्दैन । माथिल्लो तहमा भने सिक्ने र सिकाउनेको प्रत्यक्ष भेटघाट कम भए पनि हुन सक्दछ । यसका लागि सिकाइ प्याकेजमा आधारित भई दूर सिकाइ पद्धति अपनाउन सकिन्छ । सूचना प्रविधिको प्रयोग नै यस क्षेत्रमा धेरै उपयोगी हुन सक्दछ ।’

एकातिर रोजगारी र जीवन वृत्तिका अन्तर्राष्ट्रिय अवसरहरू अब लामो समयसम्म खुम्चिने निश्चित छ भने अर्कातिर लामो एकान्त वासको यो परिस्थितिले परिवारप्रतिको अपनत्वबोध बढाएको छ । आगामी केही वर्ष सन्ततिहरू पढ्ने नाममा विदेश पठाउने दर घट्न सक्नेछ । यससँगै विदेश जान चाहने युवा वर्गलाई विश्वस्तको शैक्षिक अवसर तयार गर्न चुनौती पनि थपिएको छ ।

यो परिवेशलाई पारिवारिक एकत्वको पुनर्जागरण गर्ने अवसरका रूपमा लिन सक्ने वातावरण बनेको छ । हाम्रो पूर्वीय चालचलन र परम्परागत संस्कारले विश्वव्यापी मान्यता पाउने अवसर जुटाएको छ । तसर्थ अब एकातिर सांस्कृतिक पुनर्जागरणको दीर्घकालीन सोच आवश्यक छ भने अर्कातिर अभ्यास गर्दा गर्दै विद्यालयका दिवारभित्र र पूर्व निर्धारित पुस्तकमा कैद हुँदै आएको सिकाइ पद्धतिबाट उन्मुक्ति खोज्ने मार्ग पहिचान गर्न आवश्यक भएको छ ।

सूचना प्रविधि विधामा स्नातक पुरा गरेको मेरो छोरालाई मैले अबको सिकाइ विधि कस्तो हुनुपर्ला भनी सोधेँ । जवाफको सार छ “कोरोना सङ्कटले अपेक्षा गरेको सिकाइका अवसरमा विविधताका सम्भावना त हामीले पहिल्यै खोजिसकेको हुनु पर्ने हो । विद्यालय तहमा शिक्षकको प्रत्यक्ष मार्गदर्शनमा आधारित सिकाइ विधिलाई कहिल्यै पनि त्याग्न मिल्दैन । माथिल्लो तहमा भने सिक्ने र सिकाउनेको प्रत्यक्ष भेटघाट कम भए पनि हुन सक्दछ । यसका लागि सिकाइ प्याकेजमा आधारित भई दूर सिकाइ पद्धति अपनाउन सकिन्छ । सूचना प्रविधिको प्रयोग नै यस क्षेत्रमा धेरै उपयोगी हुन सक्दछ ।”

सिकाइका हर क्षेत्रमा अहिलेको बलियो सम्भावना वा आधार नै सूचना प्रविधिको विश्वव्यापी सञ्जाल रहेको देखिन्छ । सूचना प्रविधिको प्रयोगले दुरी कायम गरेर पनि सम्भव हुने सिकाइ, उपचार, उत्पादन, विनिमय र समन्वयका काममा सहज बनाएको छ । शिक्षा क्षेत्रमा सिकाइको नयाँ सम्भावना खोज्न भने ‘माध्यम प्रत्यक्ष र भर्चुअल : सिकाइमा सिर्जनात्मकता’ भन्ने नीति अवलम्बन हुनु पर्दछ ।

अतः रेडियो र टेलिभिजनबाट गर्न सकिने शैक्षिक प्रसारणलाई संस्थागत र नियमित बनाउने तथा अनलाइन कोर्स सञ्चालन गर्ने दिशामा सरकारी र निजी क्षेत्रको नाफारहित संयुक्त प्रयत्न अहिलेको आवश्यकता हो । सिकाइमा नवीनतम प्रयोग गर्न चुस्त प्रशासन, लगानीको प्राथमिकतामा सहज परिवर्तन र उपलब्धिमा व्यावसायिक जीवन मरणको प्रश्न रहने हुनाले शिक्षा क्षेत्रका निजी लगानीकर्ताले तत्कालै नयाँ तरिकाको अभ्यास थालनी गर्न आवश्यक छ । करिब १५ प्रतिशत हिस्सा ओगटे पनि निजी क्षेत्रले गर्न सक्ने अभ्यास अनुकरणीय बन्न सक्दछ । सरकारले निजी लगानीको प्रयोगबाट समेत सिकेर दूर दराज र सुुविधाविहिन समुदायसम्म पुग्न सक्ने गरी सिकाइका वैकल्पिक माध्यममा विस्तार गर्दे जान आवश्यक छ ।

हामीले दिगो र सिर्जनात्मक सिकाइका लागि समालोचनात्मक चिन्तन, अन्तर्निहित बहु मुखी प्रतिभा प्रस्फुटन, पेसा व्यवसाय र प्रविधि, प्रयोगात्मक सिकाइ तथा जीवनोपयोगी र व्यावसायिक सिप जस्ता पक्षमा आधारित सिकाइमा जोड दिँदै आएका छौँ । तथापि यसको आपूर्ति (विद्यार्थीलाई सिक्ने अवसर सिर्जना गर्ने) र व्यवस्थापन पक्षमा सदैव गुनासो रहने गरेको छ । सिकाउनेको क्षितिज फराकिलो हुनुपर्ने अपेक्षा रहने गरेको छ ।

एकले अर्को पक्षलाई दोष दिएर उम्किँदै आएका सबै पक्षहरू अहिले आआफ्नो बुतामा बालबालिकामा रहन सक्ने मनोवैज्ञानिक सन्त्रास व्यवस्थापन गर्न र सिकाइबाट विमुख नपार्नका लागि के गर्दै आयौँ, अहिले के गर्दैर्छौ र अब के गर्नु पर्ला भन्ने विषयमा केन्द्रित हुन आवश्यक छ । वर्तमान सङ्कटबाट मुक्तिको चाहनासँगै समीक्षाको केन्द्रबिन्दु स्वतन्त्र सिकाइ प्रवर्धनमा केन्द्रित हुन सक्नु पर्दछ । विद्यालय तथा सबै शिक्षालयहरूले यति बेला आफ्नो संस्थाको औचित्य प्रमाणित गर्न सक्नुपर्दछ ।

यति बेला मूलतः विद्यालयहरूले आप्mनो क्षमतालाई निर्देशित दूर पद्धतिको सिकाइका साथै जीवन सापेक्ष ज्ञान तथा सिपको स्वआर्जन गर्न स्वतन्त्र सिकाइका लागि विद्यार्थी मात्र नभई अभिभावकसँग समेत निःशुल्क रूपमा सम्पर्क, समन्वय र सिकाइमा सहजीकरण गर्न सक्नुपर्दछ । स्थानीय सरकारले कोरोना नियन्त्रणका अतिरिक्त बालबालिका सिकाइमा अभिभावक र शिक्षकको संलग्नता बढाउन समेत समन्वय गर्नु सक्नुपर्दछ । यो कार्य नै भोलिको तयारी पनि हो ।

आशा गरौँ कोरोनाको सन्त्रास हटेपछि सिक्न आउने विद्यालय तहका बालबालिका व्यवहारिक, स्वावलम्बी, शिष्ट र भविष्यप्रति अझ आशावादी हुने छन् । उच्च शिक्षा तहका विद्यार्थी स्वतन्त्र र सिर्जनात्मक सिकाइप्रति जागरूक, प्रविधि मैत्री, समस्या समाधानमा रुचि राख्ने, जिज्ञासु, स्वावलम्बी र सकारात्मक हुनेछन् । शिक्षक प्राध्यापकसहित शिक्षाकर्मीहरु यो फेरिएको परिवेशअनुसार सोच, शैली र व्यवहारमा थप अब्बल र सिर्जनात्मक बन्न सक्नेछौँ । किनकि जीवनको मार्गदर्शन नै सदाचार बनाएर लामो समयको क्वारेन्टाइनबाट उन्मुक्त पुनर्जीवनले सिङ्गो मानव जाति नै अझ आत्मसंयम, खुला, निस्फिक्री, सहयोगी र उदार बन्न सक्नेछ ।

लेखक शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानो ठिमीका निर्देशक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस