सोच बदलौँ, सकारात्मक अभियान चलाऔँ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सोच बदलौँ, सकारात्मक अभियान चलाऔँ


३१ बैशाख २०७७, बुधबार


डा. योगी विकाशानन्द भन्नुहुन्छ— ‘सोचकै कारण सकारात्मक पनि नकारात्मक हुन्छ, त्यही सोचका कारण नकारात्मक पनि सकारात्मक हुन सक्छ । त्यसैले आफूmलाई बदल्न पहिले सोच बदलौँ, अर्थात् सकारात्मक सोच आरम्भ गरौँ ।

हामी बाँचेको संसार आज पुरै शङ्काको भरमा बाँचेको छ । जति शङ्का बढ्यो त्यति नै नकारात्मक सोच बढ्दो रहेछ । जति नकारात्मक सोच आयो, त्यति नै स्वयं नकारात्मक सोच बनाउने व्यक्तिदेखि सिङ्गो समाज, राष्ट्र र विश्वलाई यसले प्रभाव पार्दो रहेछ । नकारात्मक सोचले मानिसमा नकारात्मक ऊर्जा उत्पादन हुन्छ । यही नकारात्मक ऊर्जाका कारण शारीरिक र मानसिक रूपमा नराम्रो प्रभाव पार्ने हानिकारक हर्मन उत्पादन हुने हुनाले दीर्घ रोग बढेको हो । नकारात्मक सोचका विषयमा हामी अनेक उदाहरण हेर्न सक्छौँ ।

नकारात्मक सोचाइका कारण व्यक्ति व्यक्तिमा मनमुटाब सुरु हुन्छ । साथीभाइमा मात्र द्वन्द्व हुने होइन, श्रीमान्–श्रीमतीबिच सम्बन्ध विच्छेद, पारिवारिक विघटन, छरछिमेक तथा आफन्तहरूमा बोलचाल, बर व्यवहार, बन्द, समुदाय, सम्प्रदाय, पार्टी, समूह, गाउँठाउँबीच अविश्वास र द्वन्द्व एवम् समाजका हरेक क्षेत्र क्षतविक्षत हुने मूल कारण नै नकारात्मक सोचको परिणाम हो । गाउँघरमा हुने सामान्य झगडादेखि विश्वयुद्धसम्मका घटना र द्वन्द्वहरू नकारात्मक सोचले भएका हुन् । आज ठुलठुला जातीय द्वन्द्व क्षेत्रीय, अन्तर्देशीय हुँदै महादेशीय द्वन्द्वहरू शङ्का र नकारात्मक सोचका परिणामले भएका देखिन्छन् । सधैँ नकारात्मक विचारले दिमाग भरिएको छ भने उसले जेलाई पनि नकारात्मक देख्न थाल्छ । त्यसैले परिवर्तनका लागि नकारात्मकताभित्रबाटै सकारात्मक सोचको अभियान सञ्चालन गरौँ ।

हामी कहिलेकाहीँ कुनै वस्तु अर्कै शङ्का लागेर झसङ्ग हुन्छौँ । बाटोमा हिँड्दै जाँदा कुनै सोचमा डुबेका छौँ भने मनमा सोचाइको त्यही भाव दृष्टिमा पनि झल्कन्छ । जस्तो— हामीले सर्पबारे सोचेर हिँडेमा त्यहाँ लत्रिएको कुनै डोरी, झार, त्यान्द्रो आदिलाई सर्प देख्छौँ र तर्सन्छौँ । हाम्रो मनको शङ्काले मस्तिष्कमा नकारात्मक प्रभाव पार्दा त्यसले दृश्यमा पनि असर गर्नाले डोरीलाई सर्प देखिएको हो ।

कुनै बेला नेकपा (माले) को महासचिव रहेका सिपी मैनालीले २०४८ सालमा झापाको क्षेत्र नं. ५ बाट संसदीय चुनाव लड्ने अठोट गर्नुभयो । तर उहाँको दिमागमा अर्कै शङ्का वा भ्रम रहेछ— ‘आफू यो समाजको १ नं. नेता भएकाले चुनाव हार्न मिल्दैन, अरूले हारे हारुन्, आफू चाहिँ नहार्ने ठाउँमा उठ्नुपर्छ ।’ त्यस समय आस्थाको पार्टीको मत सर्वेक्षणमा नेपालभर सबैभन्दा धेरै मत त्यही क्षेत्रमा देखियो । तर, शङ्का वा सोचाइका कारण उहाँलाई कहीँ, कसैसँग विश्वास रहेनछ । हुन त उहाँलाई जहाँ पनि चुनाव लड्न सक्ने र जित्न सक्ने अवस्था थियो । त्यहाँ उहाँको भित्री डर वा शङ्काले काम ग¥यो । चुनाव हार्नु र जित्नु ठुलो विषय होइन, जित वा हार स्वाभाविक प्रक्रिया हो । जनताको विश्वास जित्न सके चुनाव पनि जितिन्छ, जनविश्वास नभए चुनाव हारिन्छ । तर उहाँलाई त्यो विश्वास थिएन । त्यसैले ‘धेरै मत भएको छानेमा चुनाव जितिन्छ’ भन्ने परेको रहेछ । पछि उहाँले टिकट लिएर आउनुभयो । हामी चुनावमा लाग्यौँ । चुनाव मध्यतिर पुग्दै थियो । उहाँको भाषणमा यी हाम्रा ‘आइमाईहरू’ भन्ने शब्द पटक पटक व्यक्त भयो । उहाँ समयको ख्यालै नगरी बोल्ने । कोही पिसाब फेर्ने वा काम विशेषले सभाबाट उठेमा ‘मेरो भाषण नसुन्ने’ भनेर कुदेर गएर कुर्सीमा बस्ने । फेरि हामी जनतालाई जबरजस्त बसाएर भाषण गर्न लगाउँथ्यौँ ।

एक दिनको घटना हो, बाँसबारी कोमल दुलालकहाँ वास बस्ने कार्यपालिका थियो । हामी हरेक दिनको चुनाव प्रचारप्रसार सकेर बेलुका खाना खाने र वास बस्ने ठाउँमा दिनभरको समीक्षा बैठक बस्ने, कमीकमजोरी भएका सच्याउने पनि गथ्र्यौं । त्यहाँ पनि बेलुका ६ बजेतिर बैठक सुरु भयो । बैठकमा उहाँले भनेको शब्द यी ‘हाम्रा आइमाईहरू’ भन्ने ठाउँमा “समाजका ‘आमा, दिदीबहिनीहरू’ भन्दा राम्रो हुन्छ, यसले त महिलाहरूमा नकारात्मक प्रभाव पर्‍यो, सबैले गिल्ला गरे” भन्ने कुरा राखेको थियौँ । ७ बजेतिर सुरु भएको थियो त्यो बैठक । उहाँबाट ‘म यो पार्टीको महासचिव भएको मानिस, मैले भनेको सत्य हो । मैले जे बोले पनि तिमीहरूले मान्नुपर्छ’ भन्ने तर्कसहितको अड्डी आयो— “मैले आइमाईहरू भनेको ठिक छ ।” हामीले पनि त्यो फेर्न अनुरोध गर्‍यौँ । उहाँले केही गर्दा मान्नु भएन ।

हाम्रो खाना पाकेर ८ बजेदेखि खान बोलाएको तर एउटै शब्दले रात बिताउने भयो । आदर्णिय नेता सिपी र हाम्रो दृष्टिकोणमा फरक भई शङ्का भएपछि रातको ३ बजेसम्म खाना नखाई बैठक लम्बिएको थियो । त्यहाँका अधिकांशले ठिकै कुरा भनेका थिए तर उहाँलाई शङ्का पर्‍यो । ‘मैले अरूको तर्क स्वीकार गरेँ भने कमजोर हुन्छु र चुनाव हार्छु’ भन्ने परेछ क्यारे ! केही गर्दा पनि उहाँले बदल्ने सङ्केत देखिएन । एउटा शब्दको शङ्काले सिपीलाई खायो । चुनावमा खुसीसाथ भोट दिने मतदातालाई पनि उहाँले मनै अमिलो बनाइदिनुभयो । त्यो उहाँको सोच नबदल्ने परिस्थितिको परिणाम थियो ।

हामीले सकारात्मक विषयलाई नकारात्मक तरिकाले सोच बनायौँ भने परिणाम पनि नकारात्मक आउँछ । नकारात्मकताको असर कति डरलाग्दो हुन्छ र त्यसले कस्ता घटना, दुर्घटना निम्त्याउँछ भन्ने एउटा सानो तर यथार्थ उदाहरण हो यो । शङ्का मानिसको डरलाग्दो शत्रु हो ।

कार्यकर्ताले राखेको एउटा शब्दमा उहाँको ‘सकारात्मक सोच’ नबन्दा हाम्रो बैठक ६–७ घण्टा अनावश्यक लम्बियो । पाकेको खाना खान नपाएर हामी भोकै हुनाले शरीरलाई क्षति पुग्यो भने उता भान्सेहरूले पनि खान पाएनन् । सबैको निद्रा बिग्रियो । समयमा नयाँ कामको योजना बनेन । त्यसको प्रभाव चुनावभरि पर्‍यो । भोलिपल्टदेखि ‘चुनाव हराउँछन्’ भन्ने परेर बोल्नै छोडे । त्यहाँको छलफलले गाउँमा नकारात्मक सन्देश गयो भने उता दिनरात खटेका कार्यकर्ताको मन नराम्ररी कुँडियो । कतिपय कार्यकर्ताले उहाँको आफ्नै व्यवहारका कारण सीपीप्रति नकारात्मक धारणा बनाउन खोजे पनि उनलाई हामीले शानदार मत दिलाएका थियौँ ।

चुनाव जिताएर गरिएको विजय सभामा उहाँले ‘चुनाव जिताउन अहोरात्र खट्ने, त्यो ठाउँ नेपालमै १ नं. मा पु¥याउन दशौँ वर्षदेखि काम गरेका नेता कार्यकर्तालाई कारबाही गर्ने’ घोषणाले विजयसभा शोकसभमा परिणत भए जस्तै भयो । खुसी र उमङ्ग बोकेर गएका जनता, कार्यकर्ता सीपीको भाषणबाट रुँदारुँदै घर फर्केका थिए । त्यसपछि झापाको ५ नं. मा कहिल्यै पाइला टेक्नु भएन । सिपी मैनालीले सायद अब माननीय त के, वडा अध्यक्ष पनि जित्नु हुन्न जस्तो लाग्छ अहिले पनि ।

मैले विद्वान् भनिएका, पार्टीमा पनि वरिष्ठ मानिएका एक युग पुरुषको नाम सानो उदाहरण नलिएको भए पनि हुँदो हो । तर सोच नकारात्मक भयो, अनावश्यक शङ्का गरियो भने त्यसले सिङ्गो परिस्थिति बिगार्छ भन्न खोजेको मात्र हो । त्यसो त सीपी मैनाली कुनै समय नेपाली समाजमा दन्त्यकथाको राजकुमार जस्तै हुनुहुन्थ्यो तर नामले मात्र कोही पनि महान् हुँदैन । सोच र कामले महान् बन्नुपर्छ ।

भनिन्छ, हाम्रो मन मस्तिष्कमा दैनिक ६० हजार विचार आउँछन् र जान्छन् । तीमध्ये हामी कतिको पहिचान र प्रयोग गर्न सक्छौँ । मानिसको मस्तिष्कको अहिलेसम्ममा १५% को मात्रै उपयोग भएको छ रे । मानिसको अझैm ८५% मस्तिष्कको प्रयोग हुनै बाँकी छ रे ।

यस्तो अवस्थामा हाम्रो सोचाइ सकारात्मक बनाउने कि नबनाउने भन्ने स्वयं व्यक्तिको सोचको कुरा हो । तर, सकारात्मकतर्फmको अभियानमा व्यक्तिलाई डोर्‍याउने घरपरिवार हो, समाज हो, स्थानीय तहको सरकार हो । प्रदेश सरकार, सङ्घीय सरकारदेखि सरकारका नीति, कार्यक्रमहरू कार्यान्वयनको तहमा सकारात्मक सोच र भूमिका आजको राष्ट्रिय आवश्यकता हो । छोराछोरीको धारणा बाबु–आमाप्रति सकारात्मक छैन । जनताको बुझाइ सरकारसँग सकारात्मक छैन । सरकार र पार्टीको बुझाइ जनतासँग सकारात्मक छैन । नेताहरूको बुझाइ एकआर्कामा सकारात्मक छैन । त्यति मात्र होइन, दैनिक सँगै बस्ने, खाने, सुत्ने लोग्ने–स्वास्नीदेखि घरपरिवार छोराछोरी बाबुआमा, आफन्त, इष्टमित्र, नेता, नेतृत्व, सरकार, सरकारी सङ्घ–संस्थाबिच नकारात्मक धारणा बढ्ने गरेको देखिन्छ ।

यिनै नकारात्मक धारणाको परिणाम हो सामाजिक द्वन्द्व । एकअर्काको अविश्वास, शङ्का र मानवमा परेको समस्या नै शङ्का र नकारात्मक सोचको विकसित रूप हो ।

अमेरिकाले नागासाकी र हिरोसिमामा बम खसाल्नु पनि त्यही हो । सद्दाम हुसेनलाई उसको देशमा बाँच्न नपाउनु पनि त्यही हो । मदन भण्डारीको हत्या पनि त्यही हो । नकारात्मक सोचको परिणति नै हो नेता–नेता र कार्यकर्ता–कार्यकर्ताबिचको असहमति । यस्तो सोच अविश्वासका कारण जन्मन्छ ।

१४ वर्ष जेल बसी ५ दशक आन्दोलनमै लागेर पार गरेका सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई ५ वर्षका लागि जनताले निर्वाचित गरेर पार्टी र सदनले प्रधानमन्त्री बनाएको हो तर किन दुई वर्षदेखि नै पार्टीका नेताहरूलाई छटपटी भयो । हो, के.पी. ओली सधैँ अध्यक्ष र प्रधानमन्त्री बनिरहने होइन, उहाँपछि अरू नै कोही बन्नु–हुनेछ । सफलतापूर्वक काम गर्दागर्दै उहाँमाथि अविश्वास ?

हो, नेता–कार्यकर्ताले गलतलाई सही मानेर जीहजुरी बजाउनु हुँदैन । उहाँका आफ्नै नभए पनि वरिपरिका कारण उहाँ विवादमा आउने गरेको जस्तो लाग्छ । हाम्रा उदार प्रधानमन्त्री सचिवालयका कारण घेरा साँघुरो बनाउने र प्रधानमन्त्रीको सहज भेटघाटलाई दुर्लभ बनाउने कारण पनि अन्य नेता–कार्यकर्ताप्रतिको अविश्वास हो । त्यसैले सफलताका लागि सबैले आ–आफ्नो सोच बदलौँ, सकारात्मक सोचको अभियान चलाऔँ, द्वन्द्व आफैँ व्यवस्थापन हुनेछ ।

लेखक सामाजिक अभियन्ता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस