कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनमा कठिनाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनमा कठिनाइ


३१ बैशाख २०७७, बुधबार


धनगढी । दूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज निर्माणकार्यमा ढिलाइ भइरहँदा तोकिएको समयमै कलेज सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ । कलेजका अधिकांश संरचना निर्माणाधीन रहे पनि थप निर्माण गर्नुपर्ने संरचनाको निर्माणकार्य शुरु नहुँदा तोकिएको समयमा कलेज सञ्चालन नहुने देखिएको हो ।

चालू वर्षमा थप संरचनाको निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । कलेजलाई कुन मोडेल (प्रारुप) मा सञ्चालन गर्ने भन्ने विषयमा कानूनी व्यवस्था गर्नसमेत बाँकी छ । यस वर्ष थप संरचना निर्माणका लागि गएको चैतमा बोलपत्र आह्वान गर्ने योजना रहेको भए पनि लकडाउनका कारण सम्भव नदेखिएको कलेज पूर्वाधार विकास निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए ।

गेटा मेडिकल कलेजका संरचना निर्माण शुरु गर्दा विसं २०७८ सम्म सबै संरचना निर्माण पूरा गरी पठनपाठन शुरु गरिसक्ने लक्ष्य राखिएको थियो । ‘सबै संरचनाको निर्माण पूरा भएपछि शुरुमा अस्पताल चलाउन सकिन्छ, पठनपाठन भने त्यसपछि शुरु हुनसक्छ’, कार्यकारी निर्देशक साउदले भने । वहुवर्षीय ठेक्का प्रक्रियाअन्तर्गत भइरहेको कलेजका संरचना निर्माण कार्यअन्तर्गत चालू वर्षमा रु ५० करोडको मात्र काम भएको छ ।

यस वर्ष नयाँ कामका रुपमा परामर्शदाता छनोटको काम भने पूरा भएको छ । परामर्शदाताले निर्माण गरिने थप संरचनाको लगत अनुमान डिजाइनको काम गरिरहेको छ । कलेजका लागि छात्रवास, आवास गृह, पर्खाललगायतका संरचना निर्माणका साथै खानेपानी, सडक, विद्युत्, फोहोर व्यवस्थापनजस्ता धेरै काम गर्न अझैँ बाँकी छन् । ‘विसं २०७८ देखि पढाइ हुन्छ भनेर खुशी थियौँ”, स्थानीयवासी तीर्थ ओझाले भने, ‘संरचना निर्माणको गति हेर्दा यसअघि तोकिएको समयमै पढाइ शुरु हुने छाँट देखिँदैन ।’ ठेक्का भइसकेका संरचना निर्माणको काम जारी राख्न पनि लकडाउनको कारण प्रभावित भइरहेको छ ।

निर्माणाधीन संरचनामध्ये आउने जेठमा कलेज भवन, असारसम्म छात्रवास भवनको निर्माण पूरा हुन लागेको छ । अस्पताल भवन निर्माण पूरा हुन अझै छ÷सात महिना लाग्ने देखिएको छ । नेपाल सरकारले गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपका बारेमा विधेयक तयार पारिसकेको जनाइएको छ । ‘विधेयकमा यो कलेजलाई एकीकृत प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने प्रस्ताव गरिएको सुनिएको छ’, कार्यकारी निर्देशक साउदले भने, ‘एकल प्रतिष्ठान वा संयुक्त प्रतिष्ठान कुन रूपमा चलाउने भनेर कानून बनेपछि मात्र थाहा हुने हो ।’

सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकामा प्रक्रियागत ढिलाइका कारण निर्माणकार्य पनि ढिलो शुरु भएको थियो । निर्माणस्थलमा साढे तीन तलाको अस्पताल भवन, साढे पाँच तलाकोे कलेज भवन, दुई तलाका दुई छात्रवास भवन, अढाइ तलाको प्रशासनिक भवनलगायतका साना–ठूला गरी २७ संरचना निर्माणाधीन छन् । चिकित्सकको आवासगृहको रूपमा आठ वटा भवन निर्माणाधीन छन् । अन्य कर्मचारीको आवासका लागि पनि थप छुट्टै भवन निर्माण भइरहेका छन् ।

नेपाल सरकारको प्राथमिकता प्राप्त आयोजनाका रूपमा रहेको गेटा मेडिकल कलेज ६०० श्ययाको निर्माण गर्ने लक्ष्य लिइएको छ । संरचनाहरुको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार केएस र रविना कन्ट्रक्शन प्रालि संलग्न रहेका छन् । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइलगायतका कारणले शुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधारहरुको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो ।

कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोवास छ । उनीहरुलाई अन्यत्र पुनःस्थापन गर्ने÷गराउने सवालमा सम्बन्धित निकायले समयमै ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको निर्माणकार्य भने अन्योलमा छ । मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेजअन्तर्गतको ट्रमा सेन्टरलगायतका संरचना निर्माण गर्ने योजना छ । भूमिसम्बन्धी नयाँ ऐनबमोजिम मुक्तकमैयालाई व्यवस्थापन गर्ने पहल गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस