भीआइपीका सुरक्षा गार्डमा कोरोना संक्रमण कसरी ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भीआइपीका सुरक्षा गार्डमा कोरोना संक्रमण कसरी ?


३१ बैशाख २०७७, बुधबार


काठमडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व गृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका एक सशस्त्र प्रहरी जवामा कोरोना संक्रमणको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नीलबाराही गण दुवाकोटमा कार्यरत ती सशस्त्र प्रहरी जवानमा मंगलबार कोरोना संक्रमणको पुष्टि भएको हो ।

नेता रावलको घरमा सुरक्षार्थ खटिएका उनी रामेछापका भएको खुलेको छ । उनी दुवाकोटमा कोठा लिएर बस्दै आएका थिए । उनलाई पनि टेकु अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको छ। उनको कोठा दुवाकोटको एकान्तस्थानमा छ। उनको परिवारको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको छ।

उनको यात्रा विवरण संकलन गर्ने तयारी भइरहेको छ । सम्पर्कमा आएकाहरुको पहिचान गरी सबैको कोरोना परीक्षण गरिनेछ ।

नेता रावलको घरमा सुरक्षार्थ खटिएका उनी एक महिनादेखि विदामा बस्दै आएको नेता रावलले बताएका छन् । नेता रावलले भने, ‘उनी श्रीमती बिरामी भएको भन्दै एक महिनादेखि घर गएका थिए, अस्ति श्रीमती निको भइन्, ड्युटीमा आउँछु भनेर फोन गरेका रहेछन, कोरोना जाँच गराएर मात्रै आउनू भन्दिएको थिएँ, जचाउन जाँदा पोजेटिभ देखिएछ ।’

पूर्व गृहमन्त्री रावलले उनी एक महिनादेखि आफ्नो घरबाट विदामा बसेकाले ती सुरक्षा गार्डसँग सम्पर्क नभएको बताएका छन् । उनले अव ती सुरक्षाकर्मीको सम्पर्कमा आएका भक्तपुरका अरु मानिसको पनि कोरोना जाँच गर्नुपर्ने बताएका छन् । ती यु्वक दुवाकोटतिर बस्दै आएकोले त्यहाँ परीक्षण बढाउनुपर्ने नेता रावलले बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता रावलको भने पीसीआर टेस्ट भइसकेको छ । उनको कोरोना नेगेटिभ देखिएको छ । प्रतिनिधिसभा बैठक हुनुभन्दा अगाडी नै कोरोना परीक्षण भइसकेको नेता रावलले बताए ।

नेता रावलले अहिले घरमा सुरक्षार्थ खटिएका गार्डहरुसँग पनि सामाजिक दुरी कायम रहेको बताएका छन् ।

नेता रावलका सुरक्षा गार्डमा कोरोनको पुष्टि भएपछि बुधबार ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस