बजेटको विनियोजन कुशलता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बजेटको विनियोजन कुशलता


३१ बैशाख २०७७, बुधबार


बजेट भनेको सरकारको आम्दानी र खर्चको विवरणसहित सार्वजनिक रूपमा घोषणा गरिने कार्यक्रमहरूको सँगालो हो । बजेट विगत वर्षको आर्थिक अवस्थाको यथार्थ चित्रण र अभिलेखन, चालु आर्थिक वर्षको आर्थिक स्थितिको प्रवृत्ति चित्रण र आगामी आर्थिक वर्षको आर्थिक कार्ययोजनाहरुको प्रक्षेपण समावेश भएको एकीकृत दस्ताबेज हो । यो सरकारको राजनीतिक, आर्थिक, सामाजिक घोषणापत्र र कार्यनीति पत्र पनि हो । बजेट सरकारको वित्तीय नीतिहरूको एकीकृत स्वरूप हो। यो सामान्यतया: एक आर्थिक वर्षका निमित्त तर्जुमा गरिएको राजस्व र व्ययको अनुमानित विवरण हो । यसको प्रावधान संविधान वा कानूनद्वारा व्यवस्थित गरिएको हुन्छ । बजेट विधायिकाद्वारा अनुमोदन गरिन्छ।

बजेट आर्थिक क्षेत्रको एउटा व्यवस्थापकीय आयाम पनि हो जसको तर्जुमा कार्यपालिकाले गर्दछ यसको स्वीकृति व्यवस्थापिकाबाट हुने गर्दछ र यसले देशको सामाजिक आर्थिक परिवर्तन गर्ने लक्ष्य राखेको हुन्छ । बजेट निर्माण प्रक्रियामा विभिन्न चरणहरू रहेका हुन्छन् जसलाई बजेट चक्र भन्ने गरिन्छ । बजेट चक्रमा तर्जुमा, स्वीकृति, कार्यान्वयन र मूल्याङ्कन पर्दछन् ।

बजेट सार्वजनिक वित्त व्यवस्थापनको एउटा महत्त्वपूर्ण आयाम पनि हो । प्रभावकारी वित्त व्यवस्थापनले आम्दानीका श्रोतहरूको भरपुर उपयोग गर्ने, वितरणमा प्रभावकारिता ल्याउने र प्रभावकारी खर्च गर्न सक्ने क्षमतामा वृद्धि ल्याउनुको अतिरिक्त वित्तीय जोखिमहरूको पूर्वानुमान गरी जोखिमहरूबाट निम्ती नसक्ने नकारात्मक प्रभावहरूको न्यूनीकरण गर्नमा सहयोग पुर्‍याउँदछ । यसै सन्दर्भमा बजेट प्रभावकारिताको विषय सामयिक बन्ने गर्दछ । बजेटको प्रभावकारिताको चर्चा गर्दा दुइवटा शब्दावलीहरू प्रयोगमा आउने गर्दछन्: विनियोजन दक्षता वा विनियोजन कुशलता र खर्चमा दक्षता वा कुशलता ।

सार्वजनिक खर्च र वित्तीय उत्तरदायित्व अवधारणा अन्तरगत सार्वजनिक वित्तीय व्यवस्थापनको समग्र अवस्थाको मापनका लागि ७ आधार स्तम्भ, ३१ वटा सूचकहरू र ९४ उपसूचकहरू निर्माण भएका छन् जसमा आधार स्तम्भ न ४ मा नीतिमा आधारित वित्तीय रणनीति र बजेट प्रणाली सम्बन्धी प्रावधानहरू रहेका छन् । यसका सूचकहरूमा समष्टिगत आर्थिक तथा वित्तीय प्रक्षेपण (समष्टिगत आर्थिक प्रक्षेपण, वित्तीय प्रक्षेपण र समष्टिगत वित्तीय संवेदनशीलता विश्लेषण), वित्तीय रणनीति ( नीतिगत प्रस्तावहरूको वित्तीय प्रभाव, वित्तीय रणनीति परिपालना, वित्तीय उपलब्धिहरूको प्रतिवेदन), खर्चको बजेट तर्जुमामा मध्यकालीन अवधारणा (मध्यकालीन खर्च अनुमान, मध्यकालीन खर्चको सिलिङ, रणनीतिक योजना र मध्यकालीन बजेट बिच सामन्जस्यता, बजेट र अघिल्लो वर्षको अनुमान बिच सन्तुलन), बजेट तर्जुमा प्रक्रिया, बजेट तालिका, बजेट तर्जुमा निर्देशिका, व्यवस्थापिका समक्ष बजेट प्रस्तुतीकरण), व्यवस्थापिकाद्वारा प्रस्तावित बजेटको निगरानी र परिनिरीक्षण (बजेट निगरानी र परिनिरीक्षणको क्षेत्र, बजेट निगरानी र परिनिरीक्षणको लागि व्यवस्थापकीय प्रक्रिया, बजेट स्वीकृतिको समय, कार्यकारीद्वारा बजेट संशोधनको लागि नियमको व्यवस्था) रहेका छन् ।

मध्यमकालीन खर्च संरचना तयार गर्दा तीन वर्षको बजेटको सामान्य पूर्वानुमान सुरुमै गरिन्छ र बजेटको कार्यान्वयनबाट तीन वर्षमा प्राप्त हुने प्रतिफलको पनि अनुमान गरिन्छ । यस क्रममा पहिलो वर्षमा आगामी आर्थिक वर्षको वार्षिक बजेट र तत्पश्चात्का दुई वर्षको लागि बजेटको प्रक्षेपण गरिन्छ । नयाँ मध्यमकालीन खर्च संरचना तयार गर्दा जसमा अघिल्लो वर्षको बजेटको प्रगति समीक्षाको आधारमा उक्त समयमा गरिएको दुई वर्षको तत्कालीन प्रक्षेपणलाई परिमार्जन गर्नु पर्ने भएमा परिमार्जन गरी आगामी थप एक वर्षको बजेट प्रक्षेपण गरिन्छ । मध्यमकालीन खर्च संरचनाले देशको विकासको आवश्यकता, आयोजना कार्यान्वयनको अवस्था, राजस्व र वैदेशिक सहायताको अनुमान समेतका आधारमा प्रत्येक वर्ष परिमार्जन गरिनुपर्ने विषयलाई निरन्तर रूपमा समेटिरहने र तदनुरूप वार्षिक बजेट तर्जुमामा पृष्ठपोषण दिइरहेको हुन्छ ।

मध्यमकालीन खर्च संरचनाको मूल उद्देश्य नै बजेट तर्जुमा प्रक्रियालाई बढी यथार्थपरक र वस्तुनिष्ठ बनाउनु, आगामी दिनमा पर्ने दायित्वको पूर्वानुमान गर्नु र स्रोतको सुनिश्चितताको लागि आवश्यक पर्ने स्रोतको खोजीमा सम्बद्ध सरोकार बालाहरूलाई अभिप्रेरित गराइ राख्नु हो । मध्यमकालीन खर्च संरचनाको नियमित तयारी र यसको सही अनुसरणले बजेटको विनियोजन कुशलता कायम गर्नमा सहयोग गर्दछ ।

बजेट तर्जुमाको क्रममा स्रोत अनुमान, सीमा निर्धारण र राजस्व परामर्श समितिको प्रभावकारी भूमिकाले बजेटको विनियोजन कुशलतामा सहजीकरण गर्दछ ।यसको आधारमा मन्त्रालयहरूले बजेटको सीमा र बजेट तर्जुमाको लागि मार्गदर्शनको सही अनुसरण हुनु आवश्यक हुन्छ ।मन्त्रालयहरूले चालू तथा पुँजीगत खर्च र वित्तीय व्यवस्थाको लागि बजेट प्रस्ताव गर्दा त्यस्तो खर्च सिर्जना गर्ने आधार र कारण सहितको पुष्ट्याइँ, आवश्यक नीति, कानुन, सन्धि, सम्झौतामा उल्लिखित विवरण, खर्च मापदण्ड तथा सामाजिक कार्यक्रमको लागि सङ्गठनको उद्देश्य अनुरूप राज्यको प्राथमिकता, लक्ष्य तथा प्रतिफल प्राप्त हुने विवरण सहितको पुष्ट्याइँ, नयाँ योजना तथा कार्यक्रमको लागि बजेट प्रस्ताव गर्दा पुँजीगत प्रकृतिको भए स्वीकृत सम्भाव्यता अध्ययन प्रतिवेदनको आधारमा आगामी वर्ष खर्च हुन सक्ने रकमको प्राविधिक र आर्थिक पुष्ट्याइँ, सम्भाव्यता अध्ययन भई स्वीकृत भइसकेका तथा कर्मागत रूपमा कार्यान्वयनमा रहेका आयोजनाको हकमा कर्मागत आयोजना स्वीकृतिको विवरण, खरिद योजना सहित आयोजना तथा कार्यक्रमको प्रस्ताव गरिदिनाले विनियोजन यथार्थपरक बन्न पुग्दछ ।बजेट तर्जुमाको यो चरणले बजेट विनियोजनलाई माग पक्ष र आपूर्ति पक्षको चाहना सँग सामन्जस्यता कायम गर्न सहयोग गर्दछ ।

बजेट तर्जुमा गर्दा संविधानले प्रत्याभूति गरेका मौलिक हकहरू, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, विभिन्न क्षेत्रगत नीतिहरू, सङ्घ, प्रदेश र स्थानीय तहका आवधिक योजनाहरू, देशले अन्तर्राष्ट्रिय तहमा जनाएका प्रतिबध्दताहरुलाइ सम्बोधन गर्नु आवश्यक हुन्छ । आवधिक योजनाहरूले निर्धारण गरेको सोच, उद्देश्य, रणनीति, कार्यनीति, नतिजा खाका तथा कार्यक्रमलाई आधार बनाई विकास आयोजना तथा कार्यकम प्रस्ताव गर्नु आवश्यक हुन्छ ।यसले नीतिगत निरन्तरता दिनमा सहयोग गर्दछ । निर्माणाधीन तथा अधुरा र मर्मत सम्भार गरी सञ्चालन गर्न सकिने आयोजना तथा कार्यक्रमहरूलाई बजेट छुट्ट्याइसकेपछि मात्र नयाँ आयोजनामा रकम विनियोजन गर्ने परिपाटीले आयोजनाहरू अलपत्र बन्न पाउँदैनन् । बहुवर्षीय आयोजनाहरू र स्रोत सुनिश्चितताको आवश्यक पर्ने आयोजनाहरूले यो मर्यादा र मध्यमकालीन खर्च संरचनाको दायराको अनुसरण गर्नु आवश्यक हुन्छ ।

आयोजना तथा कार्यक्रम छनौट गर्दा महिला, दलित, पिछडिएको समुदायलाई प्रत्यक्ष लाभ पुग्ने एवम् रोजगारीमूलक कार्यक्रमहरूमा प्राथमिकताका दिने, रोजगारी अभिवृद्धि गर्ने, उत्पादन वृद्धि गर्ने तथा क्षमता अभिवृद्धिका कार्यक्रम तथा आयोजनाहरूलाई प्राथमिकता दिने , गरिबी न्यूनीकरण, सुशासन प्रवर्द्धन, वातावरण संरक्षण, लैङ्गिक समानता तथा समावेशी विकासमा सहयोग पुर्‍याउने आयोजना तथा कार्यक्रमहरू छनौट गर्नु आवश्यक हुन्छ । प्रस्तावित बजेटलाई लैङ्गिक उत्तरदायी बजेट, गरिबी न्यूनीकरण उन्मुख बजेट, जलवायु परिवर्तन बजेटका लागि निर्धारित सूचकको प्रयोगले तत् क्षेत्रमा बजेटको योगदान र प्रभाकारिता मापनमा सहयोग पुर्‍याउँदछ ।

सङ्घीय संरचनामा तीनै तहका बजेटहरूबिच अन्तरआबध्दता र समन्वय बजेट तर्जुमा प्रक्रियाको अर्को महत्त्वपूर्ण विषय हो । तीनै तहबिच समानीकरण, सशर्त, समपूरक र विशेष गरी चार प्रकारका अनुदानहरूको समन्यायिक वितरण र राजस्व तथा रोयल्टी बाँडफाँडको वित्तीय अन्तरसम्बन्ध रहेको हुन्छ ।यो वित्तीय अन्तरसम्बन्ध स्रोतहरूको हस्तान्तरण सँग मात्र सम्बन्धित छैन विनियोजन दक्षता वृद्धिमा पनि अन्तरसम्बन्धको माग गर्दछ ।

बजेटको प्रभावकारी विनियोजनले बजेटको कार्यान्वयनमा प्रभावकारिता ल्याउँदछ र यसको नतिजा मापनमा समेत सहयोग गर्दछ । बजेटको विनियोजन कुशलताको लागि संविधान आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनका प्रावधानहरूको अनुसरण, अपनाउनु पर्ने प्रक्रियाहरूमा पारदर्शिता को आवश्यकता रहन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस