राज्यलाई चाहिने राष्ट्रियता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राज्यलाई चाहिने राष्ट्रियता


३० बैशाख २०७७, मंगलबार


राष्ट्रसँगको विशेष सम्बन्ध नै राष्ट्रियता हो। यो  व्यक्ति र राष्ट्रका बिचमा भएको कानुनी सम्बन्ध पनि हो। राष्ट्रियता प्राप्त व्यक्तिले राष्ट्रको सिमाना भरी निस्फिक्री डुल्न पाउने र राज्यको सुरक्षा पाउने अधिकार प्राप्त हुने भएकाले राष्ट्रियता नागरिकको अधिकार र दायित्वको विषय पनि हो। सार्वभौम नागरिकले राज्यलाई जीवित बनाउँछन्। राज्य जनताका माध्यमबाट सम्पन्न हुने आवधिक निर्वाचनले बलियो हुन्छ र शासन गर्ने क्षमता राख्दछ। यद्यपि आवधिक मतदान गरेको नागरिकले त्यसपछिको दायित्व ख्याल राख्छन् होला ? यो भने सोचनीय विषय हो।

एउटा राज्य देशको चार किल्ला सहितको भूगोल र जनतामा सबैभन्दा बढी निर्भर हुन्छ। भूगोल राज्यको शरीर हो भने बासिन्दा राज्य सञ्चालनको आत्मा हुन। कहिलेकहीँ जनताको बस्तीप्रति राज्य केन्द्रित हुनुपर्ने सवाल बेस्सरी उठ्छन्। तर यथार्थमा राज्य भूगोल र जनता दुबैप्रति समान रूपमा केन्द्रित रहनैपर्छ। यसर्थ राष्ट्रियता भूगोल र यसले आर्जन गरेका आर्थिक,सामाजिक, सांस्कृतिक लगायतका पक्षहरू सँगको नागरिकको अपनत्व पनि हो।

नागरिकले राज्यको भूगोलमा उत्पादन भएका आर्थिक,सामाजिक, सांस्कृतिक पक्षको जगेर्ना नगरी राष्ट्रियता बलियो हुँदैन। यसले राज्यको इच्छाको कार्यान्वयनमा सोझो असर गर्छ। देश सानो र ठुलो हुनुले अर्थ नराख्ला यद्यपि साना राज्यले सधैँ आफ्नो अस्तित्वको चिन्ता राख्नु पर्ने हुनाले राष्ट्रियताको ठुलो महत्त्व हुन्छ। युक्रेनबाट क्रिमिया छुट्टिनुलाई पनि राष्ट्रियता माथिको सङ्कट थियो।

‘अहिले नेपाल बाहिर ४० लाख युवा भएको तथ्याङ्क छ। यो तथ्याङ्क बढ्नु राज्यको लागि सुखद हैन भलै यसले नेपालको लागि भुक्तानी सन्तुलनमा सहयोग गरेको होस्।’

नेपालमा १२५ जात, १२३ भाषा र १० भन्दा बढी धर्म मान्ने मानिसहरू छन्। भूगोलले नेपाललाई विविधतापूर्ण बनाइदिएको छ। यिनै विविधताका बिचमा एकता कायम राख्न जो सुकै राज्यलाई चुनौती हुने गर्छ। सन १९९४ मा रुवान्डाका हुटु अतिवादीले त्यहाँका टुट्सी अल्पसङ्ख्यकलाई लक्षित गरी १०० दिनमा ८ लाख मानिसको नरसंहार गरे। ब्रिटिसले भारतभूमीलाई सन १९४८ मा भारत र पाकिस्तानलाई धर्मको आधारमा विभाजन गरेका थिए जुन वास्तवमा आजसम्म भारत र पाकिस्तानको शत्रुताको बिउ हो। यी उदाहरण थेग्न सक्ने हाम्रो सामर्थ्य छैन। यसैले राष्ट्रियताको विभाजन कुनै पनि राष्ट्रका लागि घातक विषय हो।

नेपालको भौगोलिक सिमाना विश्वका दुई उदयिमान ठुला राष्ट्र सँग छ। राज्यसँग सरोकार राख्ने महत्त्वपूर्ण कुरा जीवित रहन पनि यी दुई छिमेकी सँगको राम्रो र असल सम्बन्ध हाम्रो महत्त्वपूर्ण विकल्प हो। यसका साथै नेपालको अर्थतन्त्र अप्रत्यक्ष रूपमा भारतमा निर्भर छ। कुल निर्यात व्यापारको ९० प्रतिशत भारतसँग हुन्छ। घरमा बिहान उठ्दा खाने चियामा चाहिने चिनी देखि ठुला औद्योगिक मेसिनरीमा भारतकै भर छ। तीनतिर र सिमानाको सहज भूमिमा भारत जोडिएको कारण तेस्रो देशसँगको हाम्रो सम्पूर्ण कारोबार भारतमाथि निर्भर छ। यसको अनुभव भारतले बेलाबेला सीमा नाकामा गर्ने व्यवहारले नै प्रस्ट गरिसकेको छ। यसैले अव हामीले भारतसँग समतापूर्ण कारोबार कायम गर्न सकिएन भने विश्वव्यापीकरणले हाम्रो निर्भरता अझ बढ्ने देखिन्छ।

वास्तवमा अव नेपालमा राष्ट्रियताको संरक्षण र व्यवस्थापनमा नागरिकको जिम्मेवारी बढेको छ। नेपालको सिमाना मिचिदा पोल्ने मुटुले नेपालको बारीमा तरकारी कुहिदा काटिनु पर्छ।राज्यको लगानीमा लामो समय अध्ययन गरी  बाँकि जीवन विदेशमा बिताउन पिआर र ग्रिन कार्डको लागि मरिमेट्ने संस्कार नघटीकन देश विकासको पक्ष कमजोर रहन्छ। अहिले नेपाल बाहिर ४० लाख युवा भएको तथ्याङ्क छ। यो तथ्याङ्क बढ्नु राज्यको लागि सुखद हैन भलै यसले नेपालको लागि भुक्तानी सन्तुलनमा सहयोग गरेको होस। नेपालका १ करोड १५ लाख भन्दा बढी युवाले विदेशी उद्यमीकोमा श्रम हैन स्वयम उद्यमी बन्ने आँट राख्नुपर्छ। स्वदेशी फिल्म, गीत, कपडा लगायत जुनसुकै स्वदेशी उत्पादन प्रति मोह जगाउन सक्नुपर्छ। पाकिस्तान जाँदा मैले त्यहाँ सबै खालका मानिसले एक खालको स्वदेशी मोटरसाइकल चढेको देखेको थिए।स्वदेशीपनमा मिठास नदेखीकन देशको विकास असम्भव प्राय नै रहेछ भन्ने मेरो पाकिस्तान भ्रमणको अनुभव थियो। अन्यथा राष्ट्रियता जनताले नअपनाई देखाउने मात्र बन्ने र सरकार यसकै व्यवस्थापनमा रुमल्लिइरहने अवस्था रहिरहन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस