शव विदेशमै अन्त्येष्टि गर्न सहमति पत्र दिए ५० हजार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शव विदेशमै अन्त्येष्टि गर्न सहमति पत्र दिए ५० हजार


२९ बैशाख २०७७, सोमबार


काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारको शव सम्बन्धित मुलुकमै अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना/राहत स्वरूप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

विश्वव्यापी कोभिड-१९ महामारीका कारण बन्दाबन्दी(लकडाउन) र अन्तर्राष्ट्रिय उडान बन्द भएकोले वैदेशिक रोजगारीको क्रममा विविध कारण मृत्यु भएका कामदारहरूको शव नेपाल ल्याउन नसकिएको भन्दै बोर्डले श्रममन्त्री स्तरकै निर्णयबाट कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय गरेको हो ।

‘मृतक कामदारको शव सम्बन्धित मुलुकमा नै अन्तिम संस्कारका लागि नजिकको हकदारको तर्फबाट सहमति पत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् पठाउनका लागि बोर्डको सचिवालय अनुरोध गर्दछ’, सोमबार जारी सूचनामा भनिएको छ, ‘सम्बन्धित मुलुकमा नै अन्तिम संस्कारका लागि सहमति पत्र पठाउने कामदारको नजिकको हकदारलाई सान्त्वना/राहत स्वरूप वैदेशिक रोजगार बोर्डको सचिवालयबाट ५० हजार रुपैयाँ प्रदान गर्ने नेपाल सरकारका मन्त्रीस्तरको निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारकिा लागि यो सूचना प्रकाशन गरिएको छ ।’

विषम परिस्थिति कहिलेसम्म रहने निश्चित नभएको र मृतक कामदारको परिवारले लामो अवधिसम्म शव नेपाल ल्याउने प्रतीक्षा गर्नुपर्दा थप पीडामा बस्नु पर्ने बाध्यताप्रति बोर्ड विशेष संवेदनशील रहेको जनाउँदै कोरोना भाइरसका कारण मृत्यु हुने कामदारको शव सम्बन्धित मुलुकमै नै तत्काल अन्त्येष्टि गर्नुपर्ने बाध्यता समेत रहेको जनाएको छ ।

साथै अन्तराष्ट्रिय उडान सुचारु भए पछि मृत्यु हुनेको हकमा लागू नहुने समेत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस