तत्काल कालापानी नजिकै सशस्त्र प्रहरीको स्थायी बीओपी स्थापना गरिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तत्काल कालापानी नजिकै सशस्त्र प्रहरीको स्थायी बीओपी स्थापना गरिने


२९ बैशाख २०७७, सोमबार


काठमाडौं । नेपाल सरकारले कालापानी नजिकै सशस्त्र प्रहरी परिचालन गर्देछ । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालले कालापानी नजिक सशस्त्र प्रहरीको तत्काल बीओपी स्थापना गर्ने भएको हो ।

कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने निर्णय भएर पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन्, ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, जहाँ सीमा विवाद रह्यो, त्यो ठाउँमा सरकारको उपस्थिति गराउन सकेनौं ।’ अतिक्रमणको एउटा कारण सरकारको कमजोर उपस्थिति पनि भएको उनले बताए ।

मन्त्री ज्ञवालीले अब हेलिकप्टरमार्फत छाङरुमा सुरक्षाफौज लैजाने तयारी भइरहेको बताए । ‘अल्टिच्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं । अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्छौं’ उनले भने । त्यसपछि क्रमशः सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने योजना रहेको उनले जानकारी दिए ।

छाङरुमा ११५ र टिंकरमा १६७ गरेर कुल १८२ घरधुरी सौका समुदायका मानिसको बसोबास रहेको मन्त्री ज्ञवालीले बताएका छन् । मन्त्री ज्ञवालीले भने, ‘उनीहरुको कुल जनसंख्या ११२० रहेको छ । उनीहरु जाडो छल्न दार्चुलाको तल्लो भेगमा झर्छन्, तर अहिलेसम्म घोडेटो बाटोसमेत नभएका कारण पास लिएर भारतको भूमि भएर आउनुपर्ने बाध्यता छ । ‘यो स्थितिलाई अन्त्य गर्न पहिलो चरणमा घोडेटो र त्यसपछि मोटरबाटो बनाउने सरकारको तयारी छ । त्यसअनुसार बजेट पनि छुट्याइएको छ’

सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले अहिले हातहतियार र जनशक्ति पठाउने तयारी गरिरहेको बताएका छन् । दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (कालापानीबाट १० किलोमिटर वर) प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी रहेको छ ।

डीआईजी श्रेष्ठले भने, ‘छाङरु दार्चुला सदरमुकाम खलंगाबाट ९० किलोमिटर उत्तरपश्चिममा पर्ने विकट क्षेत्र हो । सबै मौसममा त्यहाँ बस्न कठिन हुन्छ, हिउँ पर्ने ठाउँ हो, त्यसैले पूर्ण बन्दोवस्तीका साथ टोली पठाउन लागेका हौं ।’

स्रोतका अनुसार बीओपी राख्न सरकारले सशस्त्र प्रहरी बललाई १५ रोपनी जग्गामा पनि उपलब्ध गराइएसकेको छ । त्यहाँ अस्पतालसहितका भौतिक संरचना बनाउने तत्काललाई ९ करोड बढी बजेट विनियोजन भइसकेको बताइएको छ । स्थायी संरचना नबन्दासम्म घर भाडामा लिएर फौज राख्ने तयारी भइरहेको छ ।

जग्गा उपलब्ध भएको स्थान चाहिँ अहिले बस्न लागिएको ठाउँबाट ५ सय मिटर पर गागा भन्ने ठाउँमा रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

लिपुलेक, तिंकर भज्याङ र कालापानी क्षेत्र यही गाउँपालिकामा पर्ने सशस्त्र प्रहरीको ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस