कोरोना पछि वार्ता गर्न तयार छौं – भारत, पर्खिन सक्दैनौं – नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना पछि वार्ता गर्न तयार छौं – भारत, पर्खिन सक्दैनौं – नेपाल


२९ बैशाख २०७७, सोमबार


काठमाडौं । नेपालले लिपुलेकबारे भारतसँग वार्ता गर्न कोरोना अन्तसम्म पर्खिन नसक्ने बताएको छ । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको हो ।

नेपालको भूमि अतिक्रमण गरी भारतले सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाइरहँदा भारतले नेपालको भूमिमा नभइ आफ्नै भूमिमा सडक बनाएको दावी गरेको छ । नेपालले भने यसलाई यथास्थितिमा राख्न माग गरेको छ ।

भारतले यस विवादबारे कोरोना भाइरसको महामारीपछि नेपालसँग वार्ता गर्न तयार रहेको बताएको छ ।

अन्तराष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश मन्त्रालयका प्रवक्ताले वक्तव्य जारी गर्दै कोरोनापछि वार्ता गर्न तयार रहेको उल्लेख गरेको बताउँदै नेपाल त्यति पर्खिने पक्षमा नरहेको बताएका छन् । मन्त्री ज्ञवालीले छिटो वार्ता सुरु गर्नुपर्ने बताएका छन् । नेपालले त्यसबेलासम्म पर्खिन नसक्ने पनि उनको भनाइ रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अस्ती भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेर । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ । हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने छ ।’

समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाव दिएका थिए । भर्चुअल वार्ताको डाटा सुरक्षालगायतको प्रश्न उठ्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । तर सरकार भोलि गरेपनि हुन्छ, फुर्सदमा गरौंला भन्ने पक्षमा नरहेको उनले बताए । मन्त्री ज्ञवालीले भने, ‘नोभेम्बर २ देखि निरन्तर ताकेता गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस