रुकूमपूर्वमा थप स्वास्थ्य सामग्री « प्रशासन
prasaLogo
२९ बैशाख २०७७, सोमबार

रुकूमपूर्वमा थप स्वास्थ्य सामग्री


प्रकाशित मिति : 11 May, 2020 10:08 am

रुकुमपूर्व । प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न रुकुम (पूर्व) मा पिपिई र थर्मल गनसहित थप स्वास्थ्य सामग्री पठाएको छ ।

प्रदेश नं ५ का विभिन्न जिल्लामा कोरोना सङ्क्रमित बिरामी बढ्दै जाँदा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आपूर्ति विभागले जिल्लालाई थप स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादवप्रसाद शर्माले ५ इन्फ्रारेड थर्मल गन, १० थान पिपिई र सात सय थान सर्जिकल मास्क आएको जानकारी दिए । कोरोना परीक्षणका यी सामग्रीसँगै परिवार नियोजनसम्बन्धी, बालभिटा र आरयुटिएफलगायत स्वास्थ्य सामग्रीसमेत जिल्लामा आएको उनले बताए।

प्रदेश सरकारले पठाएका पाँच थर्मल गनमध्ये दुई जिल्ला अस्पताल रुकुम (पूर्व)लाई उपलब्ध गराउने र बाँकी ती स्वास्थ्य कार्यालयमै राखिने शर्माले बताए । प्रदेश सरकारले अबको दुई दिनमै आरडिटीका लागि किट पठाउने तयारी गरिरहेको प्रदेशसभा सदस्य ओलीले बताए । प्रदेश सरकारसँग नै किट अभाव भइरहेका बेलामा रुकुम (पूर्व)का लागि ८० थप किट पठाउन लागिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस