कालापानी नजीकै सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कालापानी नजीकै सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना हुने


२८ बैशाख २०७७, आइतबार


काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो ।

भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो ।

बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिए । “गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो । बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी भएको विष्टको भनाइ छ ।

सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेको छ । बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो ।

सशस्त्र प्रहरीको हेडक्वार्टरमार्फत गृहमा व्यासमा सशस्त्र प्रहरी पठाउने स्वीकृतका लागि पत्र गइसकेको सुरक्षा अधिकारीले जनाएका छन् । भारतले नेपाली भूमि भएर सडक निर्माणपछि सीमामा राज्यको उपस्थिति गराउनुपर्ने दबाब परेको थियो । अहिले नै भवन निर्माण गर्न सकिने अवस्था नभए पनि घर भाडामा लिएर सशस्त्र प्रहरी राख्ने तयारी भएको हो । अहिले हिमपात पनि कम हुँदै गएका कारण सशस्त्र प्रहरी बस्न सक्ने अवस्था रहेको विष्टको भनाइ छ । यसअघि व्यासको तिङ्करको छायालेक र छागङ्रुको सीतापुलमा रहँदै आएका नेपाल प्रहरीका दुवै युनिट अहिले व्यास गाउँपालिका–२ को दुम्लिङ झरेको छ ।

प्रहरी पनि सशस्त्रसँगसँगै व्यास पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार टोली तयारी अवस्थामा छ, हेलिकप्टर वा कुञ्चासँगै पठाउने भन्ने विषयमा छलफल भइरहेको छ । प्रजिअ यदुनाथ पौडेलले दुवै सुरक्षा निकायका एकसाथै पठाउँदा ठूलो टोली हुने हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस