भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा मुक्कामुक्की ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा मुक्कामुक्की !


२८ बैशाख २०७७, आइतबार


काठमाडौँ । भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नाकु ला पासको सिनो–इन्डिया सीमामा भिडन्त भएको छ । भिडन्तमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएका छन् ।

भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले भारतीय एक उच्च अधिकारीलाई उद्धृत गर्दै भिडन्तको समाचार लेखेको छ ।

समाचारअनुसार स्थानीय स्तरको छलफलको क्रममा दुवैतर्फका सुरक्षाकर्मीबीच भनाभन सुरु हुँदै मुक्कामुक्कीसम्म पुगेको थियो । यसअघि सन् २०१७ को अगष्टमा भारतको लद्दाखसँग जोडिएको सीमा क्षेत्र पाङ्गोङमा समेत यसै प्रकारको विवाद भएको थियो । हिन्दुस्तान टाइम्सले विवादमा एक सयभन्दा बढी दुवैतर्फका सेनाको संलग्नता रहेकोमा ११ जना घाइते भएको उल्लेख गरेको छ । सात जना चिनियाँ र चार जना भारतीय सेना घाइते भएको समाचारमा उल्लेख गरिएको छ ।

स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले यस प्रकारको विवाद दुवैतर्फका सुरक्षाकर्मीले स्थापित प्रोटोकलबमोजिम आफैँ समाधान गर्दै आएका छन् । विवादबारे दुवै देशका सरकारी अधिकारीहरूले भने पुष्टि गरिसकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस