कोरोनाले श्रम तथा रोजगार क्षेत्रमा पारेको प्रभाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोनाले श्रम तथा रोजगार क्षेत्रमा पारेको प्रभाव


२८ बैशाख २०७७, आइतबार


कोरोना भाइरसको सङ्क्रमणले समग्र विश्व नै आक्रान्त भएको छ।यसको सङ्क्रमणबाट बच्नको लागि समग्र विश्वले नै लकडाउनको रणनीति अपनाएसँगै नेपालले पनि यो रणनीति अपनायो जसको कारण समग्र श्रम तथा रोजगारीको क्षेत्रमा गम्भीर असर परिरहेको देखिन्छ ।आर्थिक गतिविधि ठप्प छ ।नेपालमा हालसम्म मानवीय क्षति नभए पनि लाखौँको सङ्ख्यामा करार, ज्यालादारी तथा ठेक्कामा कार्यरत असङ्गठित तथा अनौपचारिक क्षेत्रका मजदुर, साना किसान, ससाना व्यवसायमा संलग्न स्वरोजगार श्रमजीवी, घरेलु तथा साना व्यवसायी बेरोजगार भएका छन्।

नेपालले अवलम्बन गरेको लकडाउनको रणनीतिको कारण एकातिर दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने श्रमिक तथा मजदुरहरूको रोजगारी गुमेको छ भने अर्कोतिर आफूले काम गरेर कमाएको रकम समेत रोजगारदाताले नदिएको वा दिन नसकेको कारणले उनीहरूको जीवन झन् कष्टकर हुँदै गएको छ । असङ्गठित क्षेत्रका मजदुर एवं स-साना व्यापार व्यवसायमा संलग्न स्वरोजगार मजदुर को पनि कहालीलाग्दो अवस्था छ ।

विश्वव्यापी रूपमा देखा परेको यस महामारीको कारण देशका उद्योगधन्दा, कलकारखाना, होटेल व्यवसाय, पर्यटन, साना तथा मझौला उद्योग, कृषि तथा कृषिजन्य उद्योग, स-साना स्वरोजगार मूलक व्यवसाय लगायतका ठुला तथा साना व्यवसायहरू सञ्चालन हुन नसक्दा अधिकांश मजदुरहरूको रोजगारी समाप्त भएको देखिन्छ ।जसले गर्दा एकातिर माग भएजति सामानहरू उत्पादन गर्न सकिएको छैन भने उत्पादित सामान पनि माग हुने सहरी क्षेत्रमा डेलिभरी गर्न नसक्दा त्यस्ता व्यवसायहरूले वित्तीय नोक्सानी व्यहोर्नु परेको छ भने अर्कोतिर यस्ता व्यवसायका क्षेत्रबाट रोजगारी गुमाएकाहरूले मनोवैज्ञानिक असर व्यहोर्नु परेको छ ।

कोरोना कहरले रोजगारीका औपचारिक क्षेत्रमा समेत गम्भीर असर परेको छ ।लकडाउनसँगै औपचारिक तथा सङ्गठित क्षेत्रका उद्योग व्यवसायहरू बन्द छन् । उत्पादन शून्य प्राय छ ।सङ्गठित संस्थाहरू चलायमान हुन सकेका छैनन् ।जसले गर्दा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको रोजगारीको निरन्तरतामा प्रश्न चिह्न खडा भएको छ साथै तिनीहरूको तलब घट्ने अवस्था नआउला भन्न सकिने अवस्था पनि छैन ।

अभूतपूर्व यो सङ्कटले औपचारिक तथा अनौपचारिक रोजगारीका क्षेत्रमा गम्भीर असर मात्र पारेको छैन यसले समग्र देशको श्रम तथा रोजगारको क्षेत्र लगायत समग्र अर्थतन्त्रलाई चुनौती दिएको छ ।यस्तो स्थिति जति लम्बिन्छ, त्यति नै यो घातक बन्दै जानेमा द्विविधा नरहला ।यो परिस्थितिले सबैभन्दा बढी सानो पुँजी भएका कृषक (कुखुरा पालन, दुग्ध उत्पादन, तरकारी खेती लगायत), सानो पुँजी भएका व्यवसाय, स-साना व्यवसाय सञ्चालन तथा दैनिक मजदुरी गरी गुजारा गर्ने मजदुरहरू मारमा परेका छन् ।यस्ता व्यवसायहरूको पुनर्स्थापनामा सरकारले विशेष नीति तथा कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुन्छ ।

साना तथा मझौला स्वरोजगार मूलक व्यवसाय कुनै पनि देशको अर्थतन्त्र विकासको निम्ति मेरुदण्ड हुने गर्छन्।स-साना उद्योग तथा व्यापार व्यवसायमा लागेका चिया पसलेदेखि रेस्टुराँ व्यवसायी, सडक पेटी तथा गल्ली गल्ली गएर व्यापार गर्ने ठेला व्यापारी देखि चटपटे व्यापारी, मम पसलेदेखि घुमन्ते आइसक्रिम व्यापारी अनि किराना व्यापारी देखि कुखुरा व्यापारी सबै यसैमा पर्दछन् ।अहिलेको लकडाउनले यो क्षेत्रलाई तहसनहस पारेको मात्र छैन, पुनर्स्थापनाको एउटा मनोवैज्ञानिक भय पनि सिर्जना गरेको छ ।सरकारले यस्ता व्यवसायलाई पुनर्स्थापना तथा उदार गर्ने कार्यक्रमगत प्याकेज नबनाए नेपालको अर्थतन्त्र अझै पछाडि धकेलिन सक्छ ।

कोरोना सङ्क्रमणका कारण गम्भीर जोखिममा परेको अर्को क्षेत्र वैदेशिक रोजगारी हो ।देशको कूल ग्राहस्थ उत्पादनको एक चौथाइ हिस्सा ओगटेको यो क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पाउन सकिन्छ ।विदेशी मुद्रा संचितिको प्रमुख स्रोत पनि यही क्षेत्र हो ।अहिलेको महामारीको अवस्थामा कोरोना सङ्क्रमण कम गर्न विश्वका प्राय सबै देशहरू लकडाउनको अवस्थामा छन् । यो बेला प्राय सबै क्षेत्रका उद्योग, कलकारखानाहरू सञ्चालनमा छैनन् ।आर्थिक सङ्कटको अवस्था छ। जसले एकातिर वैदेशिक रोजगारीमा गएकाहरूको तलब घट्ने सम्भावना छ भने अर्कोतिर रोजगारी समाप्त हुने अवस्था देखिन्छ ।

अधिकांश नेपालीहरू भारत, साउदी अरब, कतार, युएई, बहराइन, कुवेतलगायत विभिन्न खाडी मुलुक तथा मलेसियामा कार्यरत छन्।ती मुलुकहरूमा पनि लकडाउनको घोषणा गरेसँगै अधिकांश उद्योग कलकारखानाहरू बन्द भएका छन् ।जसले गर्दा हजारौँ नेपालीहरू कामविहीनको अवस्थामा पुगेका छन् । कतिपय देशले हाम्रा कारखाना बन्द भएपछि कामदार राख्न सक्दैनौँ भन्न थालेका छन्। दसौँ हजार युवाहरू बेरोजगार भएका छन् ।यसले विदेशी मुद्रा संचितिमा कमी आई समग्र अर्थतन्त्रमा चौतर्फी असर पर्ने देखिन्छ ।

लकडाउनको गम्भीर असर परेको अर्को क्षेत्र पर्यटन व्यवसाय हो ।कोरोना भाइरस महामारीले यो क्षेत्र मारमा परेसँगै यस क्षेत्रका व्यवसायी तथा मजदुरहरू पनि मारमा परेका छन् ।भनिन्छ पर्यटन व्यवसाय पनि रोजगारी सिर्जना गर्ने एक प्रमुख स्रोत हो ।यस बेला लकडाउन र सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताले मानिसहरू बाहिर निस्कन पाइरहेका छैनन् ।जसले गर्दा यस क्षेत्रसँग सम्बन्धित अधिकांश श्रमिकहरू बेरोजगारीको सिकार भएका छन् ।

अन्त्यमा, विश्वव्यापी महामारीको रूपमा देखापरेको करोनाभाइरसले निम्त्याएको लकडाउनको अवस्थाले श्रम तथा रोजगार क्षेत्र सबैभन्दा बढी तहसनहस भएको छ ।श्रम तथा रोजगार क्षेत्र जीवनस्तर र जीविकासँग जोडिएको विषय भएकोले यस क्षेत्रमा परेको नकारात्मक असरले जीवनस्तरमा प्रत्यक्ष गम्भीर असर पर्न जान्छ ।अहिले सङ्घीय, प्रादेशिक तथा स्थानीय तीनै तहका सरकारहरू नीति तथा कार्यक्रम र बजेट बनाउने ध्याउन्नमा छन् ।तसर्थ, तीनै तहका सरकारहरूले अहिलेको नीति, कार्यक्रम तथा बजेटमा श्रम तथा रोजगार क्षेत्रलाई विशेष रूपमा सम्बोधन गर्नु आवश्यक देखिन्छ ।विभिन्न कार्यक्रमगत प्याकेजहरू बनाई त्यसलाई सबै किसिमका उद्योग, व्यवसायहरूको पुनर्स्थापनामा जोड दिनु आवश्यक देखिन्छ ।श्रमिकहरूमा देखिएको बेरोजगारीको भयको मनोविज्ञानलाई हटाउनु सरकार तथा राज्यको प्रमुख चुनौती र दायित्व दुवै हो ।

Tags :
प्रतिक्रिया दिनुहोस