‘ऐतिहासिक एवं सुरुवाती आर्थिक विचारधारा: संक्षिप्त जानकारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘ऐतिहासिक एवं सुरुवाती आर्थिक विचारधारा: संक्षिप्त जानकारी


२८ बैशाख २०७७, आइतबार


1. विषय-प्रवेश/ परिचय
‘अर्थ शास्त्र’ अङ्ग्रेजी समानान्तर शब्द (इकोनोमिक्स) को नेपाली रूपान्तरण हो। यो ग्रिक शब्द ओइकोनोमिया बाट बनेको छ । जसको अर्थ हुन्छ, घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर, सन् १७७६ मा युरोपमा जब यस विषयको जन्म भएको थियो, अर्थात् यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत नभएको अवस्थामा वेल्स अफ् नेशन्स पुस्तकका रचनाकार आडम स्मिथले अर्थ शास्त्रलाई राज्यको सम्पत्ति बढाउने तरिका खोजी गर्ने शास्त्र भनेका हुन्। पछि विद्वानहरूले यस विषयलाई विभिन्न नाम दिने प्रयास गरे। राजनैतिक अर्थ शास्त्रको पहिलो प्रयोग १८ औँ शताब्दीमा भएको र यस अवधिभर यस विषयको नाम राजनैतिक अर्थ शास्त्र नै रह्‍यो ।

सुरुवात कालमा उत्पादन र खरिद–विक्रीसँग सम्बन्धित वैदेशिक कानुन, भन्सार र सरकारका क्रियाकलापहरूको अध्ययन गर्ने विधाको रूपमा अङ्गीकार गरिएको थियो, भने आज राजनीति, अर्थ शास्त्र र समाज शास्त्रीय दृष्किोणबाट गरिन्छ।यसका प्रवर्तक एडम स्मिथलाई मानिएको छ। युरोपमा जब अर्थ शास्त्र विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र स्पष्ट नामकरण भएको थिएन।त्यसैले एडम स्मिथले अर्थ शास्त्रलाई राज्यको सम्पत्ति बढाउने विज्ञान अन्तर्गत ‘अर्थ शास्त्र धनको विज्ञान हो’ र यसले धन आर्जन गर्ने क्रियाकलाप/कारणहरूको खोजी गर्दछ भनी घोषणा गरेको पाइन्छ।

एडम स्मिथको विचारबाट प्रभावित भएर कैयौँ लेखकहरूले यस विषयलाई धन सम्पत्तिको शास्त्र माने।एडम स्मिथले धन वा सम्पत्तिको सम्बन्ध केवल राज्यसँग हुन्छ भन्ने मान्यता राख्दथे तथापि यस विषयलाई पोलिटिकल इकोनोमी भन्नुमा उनलाई द्विविधा थियो। त्यसैले एडम स्मिथले राष्ट्रको सम्पत्ति खोजी गर्ने शास्त्र भन्ने अलमल नाम उल्लेख गरे। तर अङ्ग्रेजीको ‘वेल्थ’ र संस्कृतको ‘धन’ शब्दमा एउटा अन्तर छ, त्यो के भने संस्कृतको धन एकवचन र बहुवचन दुवै रूपमा प्रयोग हुन्छ तर वेल्थ शब्दको केवल एक वचनमा प्रयोग हुन्छ, त्यसको बहुवचनमा प्रयोग हुँदैन।यस विषयलाई पाश्चात्य लेखकहरूले विभिन्न नाम दिने प्रयास गरेका थिए। कसैले वेल्थ, कसैले प्लुटोलोजी आदि नामकरण गरे।अठारौँ शताब्दीभरि यस विषयको नाम पोलिटिक इकोनोमी अर्थात् राजनीतिक अर्थ शास्त्र बढी लोकप्रिय हुन पुग्यो।

2. सुरुवाती आर्थिक विचारधारा
सुरुवाती आर्थिक विचारधारा नैतिक मूल्यहरू निर्देशित भएको देखिन्छ, जुन पादरीहरू तथा धार्मिक कानुनवेत्ताहरुबाट प्रतिपादित थिए ।त्यस समयमा नैतिक नियमहरू, जादुगरका नियमहरू आदि आर्थिक विचारहरूले विश्वमा मानिसको स्थानलाई प्रतिनिधित्व गरेको पाइन्छ। मानव अस्तित्वको उत्पत्ति र अन्त्य अवश्य नै आर्थिक पक्षमा निहित छ।वस्तुगत तथ्यहरू जसले मानिसको ध्यान आकर्षण गर्दछन्, ती सामाजिक संस्कृति, सङ्घसंस्था र रीतिरिवाज जसले जसले विषयगत तत्त्व प्रस्ट भएका छन् ।प्रयोगात्मक राजनीति, युद्ध, धार्मिक सत्यता आदिले मानव जीवनमा प्रमुख भाग ओगट्दछन् । जस्तै: वेद का विभिन्न भागहरूमा ‘पावर अफ नेचर, कम्पोजिशन अफ सोसाइटी, फुलफिलमेन्ट अफ सेक्रेसिटी, इकोनामी अफ सोसाइटी’ सँगै ‘जब बाँच्ने हो सुखसँग बाँच, नैतिकता नछोड’ जस्ता उक्ति/मर्मले भरिपूर्ण दर्शनसँगै परापूर्व कालदेखि जीवन र धनको सुरक्षा सङ्कटले पनि विनिमय तथा आर्थिक क्रियाकलाप निर्धारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।

3. उन्नाइसौँ शताब्दीमा अर्थशास्त्र
उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनैतिक अर्थ शास्त्र नामले यस विषयको सम्पूर्ण क्षेत्र समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको पनि अध्ययन गरिन्छ तर यस्ता कुराहरूको राजनीतिसँग बहुधा कुनै सम्बन्ध हुँदैन।त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थ शास्त्र भन्नु उचित ठाने।यसरी वेल्स अफ् नेशन्सदेखि सोशल इकोनोमिक्ससम्म विविध नामले सम्बन्धित गरिएको यस विषयलाई बिसौँ शताब्दीमा इकोनोमिक्स अर्थात् अर्थ शास्त्र भन्ने प्रचलन भयो।यद्यपि इकोनोमिक्स नामलाई प्रचलन गराउने श्रेय नव शास्त्रीय अर्थ शास्त्री प्रोफेसर मार्सललाई जान्छ, तर उनी आफैँले भने राजनीतिक अर्थ शास्त्र र अर्थ शास्त्र दुवैलाई पर्यायवाची मानेका छन्। ‘अर्थ’ शब्दका पर्यायवाची नेपालीमा भनिने ‘अर्थ शास्त्र’ र अङ्ग्रेजीको इकानोमिक्समा थोरै अन्तर छ।नेपाली विषय ‘अर्थ शास्त्र’ संस्कृत अर्थ शास्त्रबाट व्युत्पन्न हो।यस शब्दको पहिलो प्रयोग कौटिल्यले गरेका हुन्, तर आधुनिक अर्थ शास्त्र विषय यति विस्तृत छैन । यो निम्नलिखित चार कुरामा आधारित छ– धन, सम्पत्ति, ऐश्वर्य, विनिमयको माध्यम, मूल्यका रूपमा दिइने मुद्रा (जस्तै रुपैयाँ, डलर, पाउन्ड, युरो इत्यादि) वा सुन, चाँदी आदि, मूल्य निर्धारित द्रव्य।

अर्थशास्त्र एक सामाजिक विज्ञान हो। जसअन्तर्गत वस्तु तथा सेवाहरूको उत्पादन, उपभोग, विनिमय, वितरण तथा उपभोग, देशको आर्थिक विकास र मानिसको आर्थिक कल्याणको अध्ययन गरिन्छ। हुन त अर्थशास्त्र हाल आएर एक आधुनिक विषयको रूपमा चिनिन्छ, तर कौटिल्य, शुक्र, वृहस्पति आदि प्राश्चय विचारकहरूले अर्थ शास्त्र विषयलाई परिभाषित गरेबाट के प्रस्ट हुन्छ भने, यो विषय प्राचीनकामा पनि विकसित थियो, तर स्वरूप भने प्राचीनकामा केही फरक थियो।प्राचीन चिन्तकहरूमध्ये अरिस्टोटल (Aristotle) को समकालीन विचारक कौटिल्यले ‘अर्थ शास्त्र’ नाम गरेको विशाल ग्रन्थ नै रचना गरेका छन्। उनले आफ्नो ग्रन्थमा अर्थ शास्त्रका दुई जना प्राचीन चिन्तकहरू आचार्य शुक्र र वृहस्पतिको उल्लेख गरेका छन्।

4. अर्थ शास्त्रको परिभाषा–कौटिल्य सार
कौटिल्य अर्थ शास्त्रमा ‘मनुष्याणां वृत्तिरर्थः भनेर मानिसहरूको वृत्तिलाई पनि अर्थ भनिएको छ। कौटिल्य परिभाषामा प्रयोग गरिएको शब्द पालनले केवल रक्षा भन्ने अर्थ व्यक्त गर्दैन, यसको अर्थ हो सतत वृद्धि।यसका साथै ‘मनुष्यवती भूमिरित्यर्थः भनेर श्रमको उत्पादकतालाई आर्थिक सम्पन्नताको बलियो आधार मानिएको छ। श्रमको उत्पादकतामा वृद्धि हुनु भनेको एकातिर उत्पादनको स्तरमा वृद्धि हुनु हो भने अर्कोतिर स्वयं श्रमिकको आयमा पनि वृद्धि हुनु हो।यस सम्बन्धमा अर्थ शास्त्रीहरू सेन र बसुले के भनेका छन् भने अङ्ग्रेजी इकोनोमिक्सको संस्कृत रूपान्तर अर्थ शास्त्र हुनसक्छ तर संस्कृत अर्थ शास्त्रको अङ्ग्रेजी रूपान्तर इकोनोमिक्स हुन सक्दैन, कारण संस्कृत अर्थ शास्त्र शब्दको क्षेत्र, विषयवस्तु र इतिहास युरोपियन अर्थ शास्त्रीहरूको परिकल्पना भन्दा निकै विस्तृत र प्राचीन छ।

कौटिल्य परिभाषा अर्थ शास्त्रको मौलिक स्वरूपमा केही फरक भए तापनि त्यस बेला दिइएका अर्थ शास्त्रका जुन परिभाषा छन् ती आधुनिक अर्थ शास्त्र विषय अनुरूप
छन्। कौटिल्यले मानिसहरूको वृत्ति–जीविकालाई अर्थको रूपमा स्वीकार गरेका
छन्। मानिसहरू रहे/भएको भूमि पनि अर्थ हो। यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरूपण गर्ने शास्त्र नै अर्थ शास्त्र हो।

5. अर्थ शास्त्रको परिभाषा– शुक्र नीति सार
आचार्य शुक्रले आफ्नो प्रसिद्ध शुक्र नीति सार ग्रन्थमा अर्थ शास्त्र विषयलाई यस प्रकार परिभाषित गरिएको छ- ‘The science that describes government functions, actions, administration and the best methods of increasing materials prosperity.यसै गरी Arthashartra is the study of economic and political behaviour of state and the economy of wealth.’ यसको अर्थ नियमहरू अन्तर्गत रही राजकाजको सञ्चालन र उत्कृष्ट विधिले धन आर्जन गर्ने कुरा जुन शास्त्रमा अध्ययन गरिन्छ, त्यो नै अर्थ शास्त्र हो। आचार्य शुक्रले शुक्र नितिसारमा राष्ट्रलाई एउटा मानव शरीरसँग तुलना गर्दै निम्न उच्चारण गरेका छन्।‘Ministers are eyes, Friends of the kings are ears, Army the mind, Forts as hands, treasury as mouth and nation as legs and the welfare depends on the integrity and combination of all these organs.’यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन् :-

अर्थ शास्त्र मानवीय व्यवहारको अध्ययन हो। परम्परागत ज्ञान (वेद) तथा प्रचलित कानुन (स्मृति) मा विरोध नपर्ने गरी आर्थिक क्रियाकलाप सम्पन्न गर्नु पर्छ। अर्थ शास्त्र राजकीय प्रशासनसँग पनि सम्बन्धित छ। आदर्श तम स्तरको उत्पादन प्राप्त हुने गरी क्रियाकलाप सम्पन्न गर्नु पर्छ। यस प्रकार शुक्रको परिभाषाले युक्तिपूर्वक आदर्श तम उत्पादन गर्न जोड दिएको छ।

6. अर्थ शास्त्रका आधुनिक परिभाषाहरू
अर्थ शास्त्र विषयका परिभाषाहरूलाई सर्वप्रथम फ्रेजरले वर्गीकरण गरेका हुन् ।रबिन्सले परिभाषाको आधुनिकीकरण गरे पछि परिभाषाहरूलाई तीन भागमा विभाजन गर्ने प्रचलन सुरु भयो–
१. धनसम्बन्धी परिभाषा– एडम स्मिथ र उनका समर्थक
२. भौतिक कल्याण सम्बन्धी परिभाषा– अलफ्रेड मार्सल र उनका समर्थक
३. दुर्लभता सम्बन्धी परिभाषा– लियोनेल चाल्र्स रबिन्स र उनका समर्थक

१.धनसम्बन्धी परिभाषा– एडम स्मिथ र उनका समर्थक
एडम स्मिथ (सन् १७२३–१७९०) र उनका अनुयायीहरू- जे. बी. से., एफ. ए. वाकर, जे. एस. मिल इत्यादिले अर्थ शास्त्रलाई धनको विज्ञान मानेका छन् । स्मिथका प्रसिद्ध अनुयायी एवं आफ्नो युगका एक महान् शास्त्रीय (क्लासीकल) अर्थ शास्त्री जे एस मिलले अर्थ शास्त्रलाई यसरी परिभाषित गरेका छन्– अर्थ शास्त्रले धनको प्रकृति तथा त्यसको उत्पादन र वितरणका नियमहरू, जसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ती सबै कारणहरूका प्रभावहरू पनि समावेश छ।यसबाट मनुष्य जाति वा कुनै मानव समाजको समृद्धिमा वृद्धि वा कमीको अध्ययन गर्दछ ।

२.भौतिक कल्याण सम्बन्धी परिभाषा– मार्सल र उनका समर्थक
मार्सल(सन् १८४२–१९२४)को परिभाषालाई आधुनिक परिभाषा भनिन्छ। मार्सलले अर्थ शास्त्रलाई यसरी परिभाषित गरेका छन्– ‘राजनैतिक अर्थव्यवस्था वा अर्थ शास्त्र सामान्य जीवनका व्यावसायिक क्रियाकलापको अध्ययन हो। यसले व्यक्ति र मानव समाजका क्रियाकलापको त्यस भागको विश्लेषण गर्दछ, जुन भौतिक कल्याणका साधनको प्राप्ति र त्यसको उपयोगस“ग घनिष्ठ रूपमा सम्बद्ध छ। पुगी, क्यानन, पेन्सन इत्यादिले यस परिभाषाको समर्थन गरेका छन्। आज पनि आदर्शवादी अर्थ शास्त्रका समर्थकहरूले यस परिभाषालाई उचित ठान्दछन्। मार्सलको परिभाषाका विशेषता यस प्रकार छन् :
अर्थ शास्त्र सामाजिक व्यक्तिका क्रियाकलापको अध्ययन हो।मानिसको सामान्य क्रियाकलाप नै जीविकोपार्जनको आधार हो।यो भौतिक कल्याणका साधनसँग सम्बन्धित छ।

३.दुर्लभता सम्बन्धी परिभाषारबिन्स र उनका समर्थक

चार्ल्स लियोनेल रबिन्स (सन् १८९८–१९८४) ले दिएको परिभाषालाई अर्थ शास्त्रको आधुनिक परिभाषा मानिन्छ। यस अनुसार, अर्थशास्त्र त्यो विज्ञान हो जसमा अनन्त आवश्यकता र वैकल्पिक प्रयोग हुने दुर्लभ साधन बिच मानवीय व्यवहारको अध्ययन गरिन्छ। मिल्टन, फ्राइडम्यान, स्टोनियर, हेग, स्टिगलर आदि वास्तविक अर्थ शास्त्रका समर्थक अनेक आधुनिक अर्थशास्त्रीहरुले रबिन्सको परिभाषालाई समर्थन गरेका छन्। रबिन्सको परिभाषाका विशेषता यस प्रकार छन्:
• अर्थ शास्त्रमा मानवीय व्यवहारको अध्ययन गरिन्छ।
• यो असीमित आवश्यकता र सीमित साध्यका बिचको सम्बन्धको अध्ययन हो।
• यसमा दुर्लभ साधनको किफायतपूर्ण उपयोगको अध्ययन गरिन्छ।

7. अर्थ शास्त्रको क्षेत्र विस्तार
आधुनिक समयमा अर्थशास्त्रीहरुले परिभाषा सम्बन्धी विवाद गर्दैनन्। कारणवश विषयको विषयवस्तु ज्यादै विस्तृत भइसकेको छ। नयाँ नयाँ क्षेत्रहरूको प्रवेशले गर्दा आज अर्थ शास्त्रलाई परिभाषित गर्नु अनावश्यक मानिन्छ। रबिन्सलाई परिभाषाको अन्तिम विवादको रूपमा स्यामुल्सन (सन् १९१५–२००९) ले पनि स्वीकार गरेका छन्। अहिले अर्थशास्त्र, शिक्षा, चिकित्सा, प्राकृतिक विज्ञान, इञ्जिनीयरिङ्ग लगायतका विषयहरूमा समेत अध्ययन अध्यापन गरिन्छ।

8. अर्थशास्त्रका प्रकार
आर्थिक विचारको इतिहास अध्ययन गर्नेहरूले यस विषयलाई पूर्वीय अर्थ शास्त्र, पाश्चात्य अर्थ शास्त्र, माणिकवादी अर्थ शास्त्र, प्रकृतिवादी अर्थ शास्त्र, क्लासिकल /शास्त्रीय अर्थशास्त्र, नव-शास्त्रिय अर्थशास्त्र, उपयोगितावादी अर्थशास्त्र, गणितीय अर्थशास्त्र, संस्थानिक अर्थशास्त्र, समाजवादी अर्थशास्त्र आदि अनेक भागमा विभाजन गर्छन्। तर, प्रसिद्ध नर्वेयन अर्थशास्त्री रैगनर एन्टन किट्टिल फ्रिशले नै सर्वप्रथम यस विषयलाई माइक्रो र म्याक्रो दुई भागमा विभाजन गरेका हुन्। भौतिक विज्ञानको यो शब्दावली अर्थशास्त्रमा ज्यादै लोकप्रिय बनेको छ:

1.माइक्रो अर्थशास्त्र 
माइक्रो अर्थशास्त्रलाई व्यष्टि अर्थशास्त्र वा सूक्ष्म अर्थशास्त्र भनिन्छ। व्यष्टिको अर्थ हुन्छ सबभन्दा सानो पूर्ण एकाइ। त्यसर्थ जुन अर्थशास्त्रमा व्यष्टि आर्थिक चलराशि जस्तै व्यक्तिगत उपभोक्ताको व्यवहार, व्यक्तिगत फर्मको व्यवहार र यससँग सम्बन्धित समस्याहरूको अध्ययन गरिन्छ। यसमा वस्तु तथा साधनहरूको मूल्य निर्धारण गरिने भएकोले यसलाई मूल्य सिद्धान्त वा फर्मको सिद्धान्त पनि भनिन्छ। माइक्रो अर्थशास्त्रको विषयवस्तुहरू अन्तर्गत: वस्तु मूल्य निर्धारण, साधनको मूल्य निर्धारण, आर्थिक कल्याण, आदी पर्दछन्।

2.म्याक्रो अर्थशास्त्र 
म्याक्रो अर्थ शास्त्रलाई समष्टि अर्थशास्त्र वा वृहत् अर्थशास्त्र भनिन्छ।समष्टिको अर्थ हुन्छ ब्यष्टि संरचनाहरुको योगको रूपमा निर्मित एक वृहत् संरचना।तसर्थ म्याक्रो अर्थशास्त्रमा समष्टिगत आर्थिक व्यवहारहरूको वा समष्टि चलराशीहरुको अध्ययन गरिन्छ।समष्टि चलराशिअन्तर्गत अर्थव्यवस्थाको कुल माग, कुल आपूर्ति, कुल उपभोग, कुल लगानी, सरकारी खर्च, आयात र निर्यातसँग सम्बन्धित विषयहरू पर्दछन्। समष्टि अर्थशास्त्रमा मुख्यतः कुनै देशको आय, उत्पादन वा रोजगारीको निर्धारणको विस्तृत रूपमा अध्ययन गरिने भएकोले यसलाई आय सिद्धान्त वा रोजगार सिद्धान्त पनि भनिन्छ । म्याक्रो अर्थशास्त्रको विषयवस्तुहरू अन्तर्गत: आय र रोजगार निर्धारण, मूल्य स्तरको सिद्धान्त,आर्थिक वृद्धिको सिद्धान्त, आदी पर्दछन्।

अन्त्यमा,
राजनीतिक बिषयक्षेत्रसँगै उत्पत्ति एवं विकसित भई सामाजिक विज्ञानको रूपमा रहेको अर्थशास्त्र प्राचीनकालमा पनि विकसित थियो, तर स्वरूप भने प्राचीनकालमा केही फरक थियो, अर्थात् प्राचिनकालिन अर्थशास्त्र नैतिक मूल्यहरबाट निर्देशित भएको देखिन्छ, जुन मूल्यहरू पादरीहरू तथा धार्मिक कानुनवेत्ताहरुबाट प्रतिपादित थिए भने हालका दिनहरूमा अर्थशास्त्रअन्तर्गत कारोबारको निम्ति गरिने वस्तु तथा सेवाहरूको उत्पादन, उपभोग, विनिमय, वितरण तथा उपभोगसँगै देशको आर्थिक विकास, पुर्वसतर्कता र मानिसको आर्थिक कल्याणका साथै कुल राष्ट्रिय खुसी सम्मका क्रियाकलापहरूको अध्ययन गर्ने विषयको रूपमा रहेको पाइन्छ।


सन्दर्भ सामाग्रीहरु :

Ahuja, H. L., (1978), Advanced Economic Theory,  S. chand and Co., New Delhi, India

Aryal, Jitendra and Subedi, K. P., (2005), Micro Economic Analysis,  Sagun Books, Kathmandu,                       Nepal

Joshi, Murari Mohan, (?), History of Economic Thoughts, Prativa Prakashan, Patan Dhoka, Lalitpur, Nepal

Samuelson, paul and William Nordhaus, (2012), Macroeconomics; 19th Edition, Tata McGraw Hill Education private Limited, New Delhi, India

कुशियैत, डा.विनयकुमार, (2068), अन्तर्राष्ट्रिय अर्थशास्त्र, सनलाइट पब्लिकेसन, कीर्तिपुर, काडमाण्डौ, नेपाल

घिमिरे, नेत्रप्रसाद, (आइतवार, माघ १७, २०७२) , राजनैतिक अर्थशास्त्र र सहकारी पद्धति, नागरिक आवाज, अनलाइन खबरपत्रिका, काठमाण्डौं, नेपाल, (Retrieved from http://www.nagarikaawaj.com/2016/01/17992/)।

ठाकुर, इन्द्रदेव, (2064), प्रमुख राजनितिक चिन्तकहरु, रत्न पुस्तक भण्डार, काडमाण्डौ, नेपाल

बराल, ठाकुरप्रसाद, (2066), चर्चित राजनितिक विचारक र वादहरु, पिनाकल पब्लिकेशन, प्रा.लि., बागबजार, काडमाण्डौ, नेपाल


 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस