सार्वजनिक जीवनको सिद्धान्त संक्षिप्त चर्चा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सार्वजनिक जीवनको सिद्धान्त संक्षिप्त चर्चा


२८ बैशाख २०७७, आइतबार


विषय प्रवेश
सार्वजनिक स्रोत र शक्तिको प्रयोग गरी सार्वजनिक भलाइका खातिर काम गर्ने व्यक्तिको व्यवहार पनि आम नागरिकको अपेक्षा अनुकूल नै हुनुपर्दछ । निजी जीवनमा अवलम्बन गरिने कतिपय व्यवहारहरू सार्वजनिक जीवनमा प्रदर्शन गर्नु हुँदैन । समाज, राष्ट्र तथा परिवेशले फरक तथा अनुकरणयोग्य व्यवहारको अपेक्षा गरेको हुन्छ । कुनै पनि व्यक्तिका सार्वजनिक जिम्मेवारीहरू बढ्दै जाँदा उसका वैयक्तिक अधिकारहरू खुम्चिँदै जान्छन् भने सार्वजनिक अपेक्षाहरू थपिँदै गएका हुन्छन् । यसरी जोसँग आम नागरिकको सरोकारका विषयहरू रहेका हुन्छन् त्यसको जीवन सार्वजनिक जीवन हो ।

सार्वजनिक बस्तु तथा सेवाको वितरण मूलभूत रूपमा राज्य संयन्त्र मार्फत गरिन्छ । मूलतः राज्यको पद्धति मार्फत आम नागरिकको हेरविचार वा संरक्षण गर्ने र सार्वजनिक सेवा प्रवाहको प्रबन्ध मिलाउने जिम्मेवारी पाएको मानिस नै सार्वजनिक मानिस हुन् । उक्त जिम्मेवारी वा पदमा रहेका अधिकारीहरूको व्यवहार जस्तो: लवाई, खुवाई, बोलाई, हिँडाई, बसाई, गराई लगायतका आचरणहरूको समष्टिलाई नै सार्वजनिक जीवनका सिद्धान्तका रूपमा बुझ्न सकिन्छ । सार्वजनिक सेवा आफैमा व्यापक र बहुउद्देश्यीय हुन्छ । उक्त सेवालाई सबैको पहुँचमा पुग्ने गरी मितव्ययी तरिकाले र समन्यायिक वितरणको चाँजोपाँजो मिलाउन संविधान, ऐन, नियम, कार्यविधि, मापदण्ड, नियमन प्रबन्ध लगायतका कानुनहरू र राज्यसंयन्त्रहरु स्थापित गरिएका हुन्छन् ।

राजनैतिक दलहरू, समस्त प्रशासन संयन्त्र, सङ्गठित सङ्घ संस्थाहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरू लगायतका निकायहरू सार्वजनिक निकाय हुन् । सार्वजनिक निकायमा संलग्न अधिकारी सार्वजनिक पदाधिकारी हो । उसले जीवन जिउने शैली नै सार्वजनिक जीवनको सिद्धान्तको रूपमा परिभाषित गरिन्छ । सार्वजनिक पदाधिकारीको कार्यसम्पादन चुस्त, दुरुस्त, मितव्ययी, स्वच्छ, निष्पक्ष, प्रभावकारी, कुशल, कानुनी, अनुशासित, उच्च मनोबलयुक्त र सदाचारयुक्त हुनुपर्दछ । जसबाट सार्वजनिक संयन्त्रहरूप्रति जनविश्वास बढ्न गई नागरिकको सरकारसँगको दुरी कम हुँदै जान्छ । अतः सार्वजनिक जिम्मेवारी बहन गर्ने राजनीतिज्ञ, प्रशासक वा अरू जो कोही व्यक्तिमा खास खास गुण र आचरणहरू आवश्यक मानिन्छन् । तिनै गुणहरू सार्वजनिक जीवनका सिद्दान्तहरु हुन भनी बुझ्न सकिन्छ ।

सार्वजनिक जीवनका सिद्धान्तहरु 
आधारभूत मानव मूल्यबाट निर्देशित खास मान्यता र आचरणहरू जुन सार्वजनिक पदधारीहरूमा निहित रहनुपर्दछ तिनलाई नै सार्वजनिक जीवनका सिद्धान्तहरू भनिन्छ । सन् १९१४ मा बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेजरले गठन गरेको नोलान आयोगले दिएका सुझावहरूलाई नै बेलायत सरकारले सार्वजनिक जीवनका सिद्धान्तका रूपमा प्रयोगमा ल्याएको थियो । यसै सिद्धान्तलाई पछि बिश्वब्यापीरुपमा अनुकरण गरियो । यसरी शासकीय व्यवस्थामा शासन गरेर सेवा दिने हिजोको पद्धतिमा सुधार ल्याई सेवा गरेर शासन गर्ने संस्कारमा परिवर्तन हुनु जरुरी ठानी यसको प्रादुर्भाव भएको देखिन्छ । यसले मूलतः सार्वजनिक सेवा प्रदानका सन्दर्भमा प्रक्रिया भन्दा कार्य संस्कृति र व्यवहारमा सुधार गर्न जोड दिएको छ । सार्वजनिक जीवनका मूलभूत शिद्दान्त यी हुन् ।

क. स्वार्थहिनताः सार्वजनिक पदाधिकारीले अधिकतम सार्वजनिक स्वार्थ वा हितलाई केन्द्रमा राखी कार्यसम्पादन गर्नु पर्दछ । पद, शक्ति वा अधिकारका बलमा व्यक्तिगत फाइदालाई हेरेर कार्य कहिल्यै गर्नुहुँदैन । यदि सार्वजनिक स्वार्थमा आँच आउने गरी कुनै सार्वजनिक पदधारीले कार्य गर्‍यो भने सो उपर नैतिक एवं कानुनी सजाय हुनुपर्दछ ।

ख. सदाचारिताः सार्वजनिक सेवाप्रदायकहरुको सोचाई, बोलाई, गराई, हिँडाई, लवाई, खवाइमा सङ्गति रहेको हुनुपर्दछ । इमानदार भई आफूलाई तोकिएको कार्यब्यवहारमा देखाइने स्थिरता नै सदाचारिता हो । हरेक क्षेत्रमा यसको जरुरी हुन्छ तथापि सार्वजनिक कार्य र संयन्त्रहरूप्रति आम नागरिकको विश्वासलाई अटल गराई राख्न साझा हितका कार्य गर्ने सन्दर्भमा निजी र व्यक्तिगत भन्दा सार्वजनिक जीवनमा यसको अझै बढी महत्त्व हुन गएको हो ।

ग. बस्तुपरकताः न्याय र औचित्यपूर्ण तरिकाले मूल्याङ्कन गर्ने क्षमता हाम्रो विद्यमान नेतृत्व र संयन्त्रले राखेको हुनुपर्दछ । बिचार र आग्रहबाट नभई तथ्यका आधारमा निर्णय गर्ने एवं सुझाव सल्लाह लिने/दिने पद्धतिको विकास गर्नुपर्दछ ।

घ. नेतृत्व: नेतृत्व अगुवा हो । आचरण पालनाका सन्दर्भमा उदाहरण स्वयम नेतृत्व बन्नुपर्दछ । किनकि उसकै व्यवहारले सङ्गठन, अनुयायीहरू र समस्त सरोकारवालाहरूलाई प्रभावित पार्ने भएकोले उ आफैमा अनुकरणीय भए मात्र अरूलाई नैतिक दबाब दिन सक्छ, अन्यथा सक्दैन । हाम्रा राजनीतिक र प्रशासनिक नेतृत्वको सार्वजनिक जीवन आम मानिसको लागि आदर्श बन्नुपर्दछ ।

ङ. इमान्दारीताः हरेक जिम्मेवार व्यक्तिले आफ्नो पदीय भूमिका निर्वाह गर्दा पेसागत इमान्दारीतालाई उच्च स्थानमा राखी कार्य गर्नुपर्दछ । जसका कारणले सङ्गठन र सरोकारवालाहरूको हितको रक्षा गर्न मद्दत पुग्दछ ।

च. खुलापन: आफ्ना काम र निर्णयहरू खुला राखिनुपर्दछ । सार्वजनिक सूचनाहरू करले होइन कि रहरले दिनुपर्दछ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्न जरुरी देखिन्छ । निर्णय गर्दा निर्धारण र कुनै कार्यसम्पादन गरिएको छ भने सोको लागि भएको खर्च वा लागत सरोकारवालाको पहुँचमा पुग्ने वातावरणको विकास गर्नुपर्ने मान्यता रहेको हुन्छ । यसका लागि कानुनी व्यवस्था र प्रक्रियाहरूको विकास समेत गरिनुपर्दछ । हामीकहाँ केही मात्रामा खुलापनको अभ्यास गरिए पनि अझै धेरै गर्न बाकी नै छ ।

छ. जवाफदेहिताः आफ्नो काम वा निर्णयका बारेमा सरोकारवालाको प्रश्नको जवाफ दिने कार्य जबाफदेही हो । सार्वजनिक पद वा अधिकार प्रयोग गर्ने व्यक्तिले उपयोग गरेको श्रोत, अधिकार र निरोपित भूमिकाप्रति उ व्यक्तिगत र पदीय हिसाबले जबाफदेही हुनुपर्दछ भन्ने मान्यता जवाफदेहिताले राखेको हुन्छ ।

सार्वजनिक जीवनका सिद्धान्तहरूको महत्त्व
अमेरिकी राष्ट्रपति तथा प्रशासनबिद विड्रो विल्सनले भनेका छन् “सार्वजनिक पद त्यस्ता व्यक्तिलाई मात्र दिनुपर्दछ जसले उच्च आदर्श प्रदर्शन गर्न सक्छ ।“ । उल्लेखित भनाइले नै सार्वजनिक जीवनको सिद्धान्तको महत्त्व स्पष्ट हुन आउँछ । सिद्धान्तहरू आफैमा आदर्श हुन् । यिनकै मार्गदर्शनमा श्रोतको महत्वम उपयोग गरी उद्देश्य प्राप्ति हुने हो । सार्वजनिक पदाधिकारीहरूका व्यवहारले आम सर्वसाधारणहरूलाई प्रभाव पार्ने भएकोले यस्ता सिद्धान्तहरूको महत्त्व सार्वजनिक जीवनमा निकै धेरै हुने देखिन्छ । सार्वजनिक पदाधिकारीहरूको काम गर्ने शैली, बोली, व्यवहार, खुवाई, हेराई, ड्रेस अप लगायतका सबै विषयमा सार्वजनिक चासो रहन्छ । संविधान, ऐन, कानुन तथा आचरण सम्बन्धी विभिन्न दस्ताबेजहरूमा पदहरूको योग्यता “उच्च नैतिक चरित्र भएको हुनुपर्ने” भन्ने व्यवस्थाले सार्वजनिक पदधारीको अपेक्षित आचरणलाई इंकित गरेको मान्न सकिन्छ । बुँदागत रूपमा सार्वजनिक जीवनका सिद्धान्तहरूको महत्त्वलाई यसरी उल्लेख गर्न सकिन्छ ।
• सार्वजनिक जीवनलाई स्वच्छ, मर्यादित, निष्पछ, व्यावसायिक र उत्तरदायी बनाउन,
• कार्य प्राथमिकीकरण, सेवामा पहुँच, सहकार्य, सेवा मापदण्ड लगायतका आधारहरू बिस्तार गरी सेवा उपर जनविश्वास बढाउन,
• व्यावसायिकता, नवीनता र असल अभ्यासलाई प्रोत्साहन गरी पेशागत निष्ठा हासिल गर्न,
• हार्दिकता, भावनात्मक आबद्धता र कार्य स्वायत्तता मार्फत नागरिक विश्वास आर्जन गर्न,
• सेवा तथा संयन्त्र उपर रहेको नागरिक पृष्ठ पोषणलाई आधार मान्ने संस्कारको विकास गर्न,
• क्षमता विकास तथा कार्यशैली परिवर्तन गरी नागरिक आदरलाई सर्वोपरि महत्त्व दिन,
• भविष्यप्रतिको सजगता अपनाई सार्वजनिक बस्तु तथा सेवाको दिगोपना कायम राख्न,
• सार्वजनिक सेवामा क्रियाशीलता र उत्साह बढाउन,
• इमानदारी र स्वच्छता मार्फत सेवा प्रवाहमा खुला संस्कृतिको विकास गर्न,
• सहभागितामूलक शैलीबाट समस्याहरूको समाधान गर्न । आदि ।

हाम्रो सार्वजनिक जीवन
हाम्रा राजनीतिज्ञ र प्रशासकहरूले उल्लेखित सार्वजनिक जीवनका सिद्धान्तहरूको पालनामा जोड दिनुपर्दछ । हामी जो जहाँ जसरी सार्वजनिक जीवन बाँची रहेका छौ समाजको अगुवाइ गर्नुपर्ने हुनाले आफू उदाहरण नबनी नागरिकहरूमा सो को पालनाको नैतिक दबाब दिन सकिँदैन । असल राजनीतिज्ञ, असल प्रशासक, असल नागरिकहरू राष्ट्रका अमूल्य सम्पत्तिहरू हुन् । कानुनमा रहेका प्रावधानहरूलाई कार्यान्वयन गरी सजीव बनाउन सदाचारयुक्त र न्यायिक मन भएको सार्वजनिक पदाधिकारी चाहिन्छ । प्रशासनप्रति कानुन र सिद्धान्तले व्यवस्था गरेभन्दा विशिष्ट व्यवहारको अपेक्षा समाजले गरेको हुन्छ । अतः योग्य प्रशासक वा राजनीतिज्ञमा कानुनको शक्ति र समाजको माग अनुरूपको आदर्श फ्युजन हुनुपर्दछ ।

नेपालको सन्दर्भमा संविधान, निजामती सेवा ऐन नियम एवं विषयगत ऐन कानुनहरू, सुशासन सम्बन्धी ऐन नियमहरू, क्षेत्रगत आचारसंहिताहरू र तिनको पालना र कार्यान्वयन गर्ने/गराउने संयन्त्रहरू, स्वतन्त्र संवैधानिक निकायका रूपमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको विभाग लगायतका निगरानी निकायहरू कार्यरत छन् । तालिम/अभिमुखीकरण लगायतका क्षमता विकासका कार्यहरू समेत विभिन्न निकायहरूबाट सञ्चालन गरिएका छन् ।

नागरिकले सार्वजनिक सेवा चुस्त, विश्वसनीय, सेवाग्राहिमैत्री, लागत प्रभावी, पारदर्शी, प्रभावकारी, विकल्पयुक्त, गुणस्तरीय, पहुँचयुक्त, सहज, सरल रूपमा अपेक्षा गरेका हुन्छन् । राज्य संयन्त्रमा रहेका खास सीमाहरूभित्र बसेर सन्तुलित सेवा प्रवाह गर्नु सार्वजनिक पदधारीको दायित्व हुन्छ । हाम्रो जस्तो सीमित श्रोत साधन र उच्चतम नागरिक अपेक्षा रहेको मुलुकमा सार्वजनिक सेवा प्रदानका क्रममा सार्वजनिक पदाधिकारीहरू अझ बढी जिम्मेवार, जबाफदेही, इमानदार, बस्तुपरक, खुला, स्वच्छ र निस्वार्थ भई कार्य प्रवाह गर्नुपर्ने देखिन्छ । किनकि गरिबी र कमजोर अर्थतन्त्र भएका एवं पद्धति नबसिसकेको मुलुकका सार्वजनिक पदाधिकारीहरूमा अधिक जिम्मेवारी अपेक्षा गरिन्छ । तर व्यवहारमा भने आफूलाई श्रेष्ठ ठान्ने, अरूभन्दा फरक मान्ने, धाक रवाफ देखाउने, भड्किलो जीवनशैली लगायतका प्रवृत्ति झाँगिँदै गएकोले यसमा परिमार्जन र सुधार जरुरी देखिन्छ ।

निष्कर्ष
सार्वजनिक पदाधिकारीहरूले आदर्श र अनुकरणयोग्य जीवनशैली अपनाउनु पर्दछ । त्यसका लागि सार्वजनिक जीवनमा माथि उल्लेख गरिएका सिद्धान्त एवं मूल्य मान्यताहरूलाई अनुसरण गर्न आवश्यक देखिन्छ । आदर्श जीवनशैलीबाट नै कालान्तरमा समाज रूपान्तरण गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्ने हुनाले त्यसतर्फ ध्यान केन्द्रित गरी कार्य व्यवहारहरू सञ्चालन गरिनु उपयुक्त हुन्छ । यसो नगरिँदा भावी पुस्तालाई समेत असर पर्न जाने, सामाजिक मूल्य मान्यताहरू भत्किने, समाजको आदर्श हराउँदै जाने सम्भावना रहन्छ । त्यसैले सार्वजनिक जीवनका सिद्धान्त अनुसरण गरिनु हरेक नागरिकको कर्तव्य हुन जान्छ ।

सार्वजनिक पदाधिकारीहरूले व्यक्तिगत स्वार्थ र प्रलोभनमा नपरी आफ्नो कामप्रतिको इमान्दारीता प्रदर्शन गर्नुपर्दछ । कतिपय नैतिक आचरणहरू कानुनको आदेशबाट लागू गर्न जटिल खालका हुन्छन् । उक्त अवस्थामा सार्वजनिक व्यक्तिले आफू स्वयमको अन्तस्करणबाट विवेक प्रयोग गर्नुपर्दछ । मौजुदा कानुनको पालना, राष्ट्रप्रतिको दायित्वबोध, पारदर्शी कार्यशैली, स्वच्छ व्यवहार, इमानदारीपूर्वक जिम्मेवारीको निर्वाह, मानवीयताको सम्मान, सार्वजनिक हितबाट निर्देशित हुनसकेमामात्र मुलुकले देखेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को सपना साकार हुनेमा विश्वास गर्न सकिन्छ ।

उपाध्याय नेपाल सरकारका उपसचिव हुन्

Tags :
प्रतिक्रिया दिनुहोस