चुपचाप दिवस ! « प्रशासन
prasaLogo
२७ बैशाख २०७७, शनिबार

चुपचाप दिवस !


प्रकाशित मिति : 9 May, 2020 4:24 pm

‘आई होप यू अन्डरस्ट्यान्ड’

ओहो ! समय पनि कति छिट छिटो बितेको । लकडाउन भएको ४५ औँ दिन । यस अवधिमा खासै ठोस युक्त काम केही हुन सकेन । जीवनको सार्थकता भनेकै ठोस परिणामसँग जोडिएको छ । बन्दा बन्दीको बेला मान्छेहरू प्राय: जिन्दगीमा के भइरहेको छ? के-कस्तो चल्दै छ जस्ता सरल प्रश्न गाह्रो तरिकाले सोधिदिन्छन्? म तीनले यी प्रश्न कुन ढाँचाबाट सोधिरहेका छन्? त्यो नियाल्छु । के साँच्चै यो प्रश्नको उत्तर उनीहरू सुन्न चाहाइन्छन् वा औपचारिकता पुरा गर्न मात्र सोधिरहेका छन् । फेरी यस्तो प्रश्न गर्ने प्राय: युवा साथीहरू हुन्छन् । अलि पाका मान्छेहरू त अनेक अर्ती उपदेश, निर्देश, आदेश, सुझाव पो दिन थाल्छन् । मलाई आजभोलि किन-किन यस्ता मान्छेहरू बडो झ्याउ लाग्न थालेको छ । मानिलिनुस्— यति बेला कुन नेपालीको जीवन सरल- सहज होला ?

यो समय भन्ने जिनिस बडो रहस्यमय छ । अनेक घट्नापरिघट्नाको जर्जरतामा बाँचिरहेको वर्तमान? कैलेकाहि लाग्छ— मृत्यु अगावै केही क्षण यो समय भन्ने जिनिसलाई काबुमा राख्न पाए, यो त कोरा कल्पना मात्र हो । तथापि, हामी सबै समयको एक खेलौना मात्र हौँ । जे गराउँछ, जे भोगाउँछ र अन्ततः जे देखाउँछ सब समयकै परिबन्ध । फरक यत्ति हो— प्रत्येक मान्छेले वैयक्तिक भूमिका वा त्यो खेल कसरी खेल्छ भन्ने मात्र हो । कसरी बिताउँछ भन्ने नै हो । बन्दा बन्दीको बेला प्राय: जसो मैलै भने हर समय कैयौँ सिनेमा, वेभ सेरीज हेरेर बिताए । यहाँ, तीनै हेरे मध्येको एक सिनेमाको कुरा गर्दै छु । तथाकथित अन्य कुराहरू पनि जोड्नेछु । फिल्म हो नट आउट १०२, हिन्दी । ओहो, कस्तो गज्जबले कहानी पोट्रेट गरेको । मलाई फिल्मको केही डाइलग तथा दृश्यले निकै झट्का हान्यो । कारण, कतिपय ती दृश्य वा डाइलग जो वास्तविक जीवनसँग मेल खान्छ । हुन त सिनेमा समाजकै पर्दा हो । समाज नै देखाउने हो । कैलेकाही कुनै सिनेमाले भने मान्छेका कतिपय दैन्दिन घट्नापरिघट्नाको श्रृखला मसिनो गरी देखाउँछ जोकोहिलाई लाग्न सक्छ— त्यो मेरै जीवन सङ्ग्रह हो । अमिताभ बच्चन र ऋषि कपुरको अभिनयको के कुरा गरौँ, त्यो मेरो हैसियत बाहिरको कुरा हो । यति बेला म सम्झिरहेको छु—ऋषि कपुर जो हामीमाझ हुनुहुन्न ! हृदयदेखि अलबिदा डियर नायक! फिल्मका कतिपय दृश्यहरूले मन मुटु चिरिक्क पार्छ । बा, अलिकति पैसा चाहिएको थियो ।

बुढेसकालको लागि राख्नुभएको त्यो प्रोविडेन्ड फन्डको पैसा पठाइदिनुस् न है: आई होप यू अन्डरस्ट्यान्ड बा, हतार हतारमा विवाह गर्नुपर्‍यो, बताउनै पाइएन: आई होप यू अन्डरस्ट्यान्ड बा, यस साल गाऊँ आउन पाइएन, केही खजुरा दक्षिणा मेरो नामबाट मन्दिरमा चढाइदिनु न है: आई होप यू अन्डरस्ट्यान्ड । हैट, आई होप यू अन्डरस्ट्यान्ड ले सबैसँगको सम्बन्धहरू कसरी छियाछिया पारिरहेको छ । ऐले, बुझ्दै छु ! समाजमा यस्ता केही कुराहरू छन् जसले सामाजिक सम्बन्ध, पारिवारिक सम्बन्ध, व्यक्तिगत तथा साथीभाइ बिचको सम्बन्धमा चिरा ल्याएको छ । नेपाली समाज अहिले मुलत: अमेरिका, बेलायत तथा अस्ट्रेलिया जान हुरुक्कै हुने युगमा छ । यहाँका रैथाने हुन वा खाल्टो बाहिरबाट आएका तमाम टाउकोहरूको एउटै कहर हुन्छ— देशमा के छ? केही गर्ने वातावरण छ र? बरु केही ऋण काढेरै भए पनि राम्रो देश (राम्रो देश भन्नाले उन्नत विकसित देश) जान पाए, नभए अन्य खाडिमुलुक त छँदै छ । (खाडिमुलुक आम नेपालीहरूको बाध्यता हो । फेरी, यो प्रसङ्ग अर्कै हो जुन विषयसँग सामाजिक, आर्थिक, सांस्कृतिक, रोजगारी, भौगोलिक लगायत यावत कुराहरू जोडिएको छ) । खैर, यसरी हामीबाट सन्तानहरू टाढा हुँदैन ।  पी आर  पाउने आसमा उनीहरू उतै अल्झिरहेका छन् । यता सन्तानको भरोसा टुटाउन नसक्ने सम्पूर्ण बाआमाको शरीर एक दिन आफै स्वतः अन्त्य भएको छ । सन्तानको लागि वास्तविकता बुझाउन नसक्ने ती बाआमाको मन जो एक्लै बुढेसकालमा टुटिगए के कुनै दिन विदेशी पी आर मार्फत छोराछोरीले त्यो भरपाई तिर्न सक्ला? मलाइ लाग्छ— यही आई होप यू अन्डरस्ट्यान्ड को भूमिका ठुलो छ । यहाँ प्रेमीले आफ्नै प्रेम लुट्छ । र, पछि भनिरहेका हुन्छन्— Iआई होप यू अन्डरस्ट्यान्ड ! बा-आमा वृद्धाश्रममा जीवन काटिरहेका हुन्छन् । छोरा भन्छ— आई होप यू अन्डरस्ट्यान्ड  ! एउटा जँड्याहाले चोकम उभिएर देशको चिन्ता गर्छ । बटुवा भन्छ—आई होप यू अन्डरस्ट्यान्ड ! समाजका हर कोही— ‘आई होप यू अन्डरस्ट्यान्ड’,’यू डिडन्ट अन्डरस्ट्यान्ड’ कै तुलोमा हरदिन तौलिरहेका छन् ।

वर्तमान समयमा कोरोना भाइरसबाट मानवीय अस्तित्वमाथि जुन सङ्कट देखिएको छ । अस्पतालको भूमिका, डाक्टर र नर्सको भूमिका वा भनौँ नेपाल जस्तो अल्पविकसित देशमा सरकारको भूमिका बन्दा बन्दीका बेला नागरिकले भोग्नुपरेको दुख पीडाको बारेमा मेले भन्नै परेन । तपाईँहरू स्वयंले देख्नु भएकै छ । केही वर्षदेखि अस्पताल, औषधि उपचार तथा अध्ययनको विषयमा डा गोविन्द केसीले गर्दै आउनु भएको सत्याग्रह सम्झन्छु । उनको जुन माग (त्यो पूर्ण मलाई थाहा छैन) तथापि पत्रपत्रिकाहरूमा पढ्दा तीन करोड नेपालीहरूको स्वास्थ्यको मुद्दा बडो राम्रो थियो । तर, त्यस बेला सरकार भनिरहेको थियो नि— आइ होप, डा. केसी डिडन्ट अन्डरस्ट्यान्ड !अहिलेको जटिल परिस्थितिमा प्राय:जसो निजी अस्पतालले गरेको व्यवहारले शायद सरकार चेत्दै होला ? हुनत: कुनै पनि कुरा अनुभूत गर्न मन चाहिन्छ, वास्तविकता बुझ्न मस्तिष्क? यति बेला, सरकारसँग यो दुवै चीज नभएको अवस्था छ ।

गत वर्ष निर्मलाको बलात्कार पछि हत्या भयो । त्यो घटना रहस्यकै गर्भमा छ । सरकार र प्रहरी प्रशासन जनताहरूलाई भनिरहेका थिए— आइ होप अन्डरस्ट्यान्ड, हाउ मच प्रेसर इन आवर हेड  ? वैकल्पिक राजनीति भनेर ९ महिनासम्म काँधमा काँध मिलाएर हिँडिसकेको एउटा दल बिच बाटोमै प्याट्ट भाँचियो । शायद, दुवै दलका हेड अफ द चिफ एक अर्कालाई भनिरहेका थिए होलान्—आइ होप यू डिडन्ट अन्डरस्ट्यान्ड ! यो देशमा कैयौँ विधवाहरूले सन्तान हुर्काउन कैयौँ सङ्घर्ष गरिरहेका छन् । विदुरहरूको सङ्घर्ष उस्तै छ । शायद, टुहुराहरू आनि बन्न चाहान्छन । बुद्धहरू गल्लीतिर भौँतारिरहेका छन् । देशले काँचुली कहिल्यै फेर्छ, हँ । दूर दराजका जनताहरूले सिटामोल, एक मुठ्ठी जीवनजल र कखरा पढ्न मिल्ने छहारी कहिल्यै पाउँछ, हँ । हो, जनता र सरकारको धेरै बाध्यताहरू आ-आफ्नै तहमा छन्, म बुझ्छु । त्यसैले, ती तमाम बाध्यताहरूलाई मै भनिदिन्छु— आइ होप, यू अल  डिडन्ट अन्डरस्ट्यान्ड ! यसरी आइ होप यू अन्डरस्ट्यान्ड, वा ‘आइ होप यू डिडन्ट अन्डरस्ट्यान्ड’ को ठुलो अर्थ यो देशको कुना कुनामा लुकिरहेको छ । ३३ किलो सुन हरायो । प्रहरी जनतालाई भनिरहेको हुन्छ—आइ होप यू अन्डरस्ट्यान्ड ! जवाफ त फत्ते भयो नि, अब केही जबाफदेही बाँकी रह्यो र । अब, नेपालीहरूको भावनात्मक सम्बन्धहरूपनि कुनै दिन सुटुक्क हराउन बेर छैन । इमान हराएको वर्षौँ भइसक्यो । मानवता हराएको कैले हो कुन्नि । विकास हरायो । क्रान्ति हरायो । बलिदान र शहीदहरूको के कुरा । बजारको महँगी हेर्नुस् त? तैपनि ‘आइ होप’, ‘आइ अन्डरस्ट्यान्ड’ भन्दै नेपालीहरू चुपचाप छन् । ओहो, कस्तो जाती मान्छे? कति नम्र शील स्वभाव? कस्तो सहन क्षमता । जे-जस्तो घटिरहँदा पनि सधैँ चुपचाप । पृथ्वीको एक अनुपम प्राणी । अत्यन्तै ज्ञानी । मलाई लाग्दै छ— अब, कुनै दिन हामीले चुपचाप दिवस मनाउनुपर्छ । चुपचाप हाम्रो पहिचान हुँदै छ । कि कसो?

twitter: @paudel2012

Tags :
प्रतिक्रिया दिनुहोस