विपन्न तथा दैनिक मजदुरी गर्ने दुई हजारलाई निःशुल्क भोजन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विपन्न तथा दैनिक मजदुरी गर्ने दुई हजारलाई निःशुल्क भोजन


२७ बैशाख २०७७, शनिबार


काठमाडौँ । रोटरी क्लब अफ काठमाडौँ वेस्टलगायत केही समाजसेवीले विपन्न तथा दैनिक मजदुरी गर्ने करिब दुई हजार नागरिकलाई निःशुल्क भोजनको व्यवस्था गरेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट समस्यामा परेका ती नागरिकलाई गत चैत २० गतेदेखि बिहान नियमित खानाको प्रबन्ध जारी छ ।

शुरुमा समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रूपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले भोजनको व्यवस्था गरेकामा शुक्रबार त्यस कार्यमा रोटरी क्लब सहभागी भई रु एक लाख सहयोग गरेको हो । उक्त क्लबले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने जनाएको छ । लकडाउनको अवधिसम्म खानाको व्यवस्था मिलाइएको छ ।

सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन गरिएको त्यस स्थानमा मास्क र पिउने पानीसमेत वितरण गरिएको छ । पछिल्लो दिनमा काठमाडौँ महानगरपालिकाका केही वडा, धार्मिक सङ्घसंस्थाका साथै मनकारी व्यक्तिबाट विभिन्न स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ । स्थानीय तहले केही खाद्य सामग्री राहतस्वरुप वितरण गरेको भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको कामपा–१३ का पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस