नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोमा सरकारको आपत्ति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोमा सरकारको आपत्ति


२७ बैशाख २०७७, शनिबार


काठमाडौं । नेपालको पश्चिमी सीमाक्षेत्र दार्चुलाको लिपुलेकमा भारतले सडक बनाई उद्घाटन गरेको प्रति नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यो कदमप्रति नेपाल असन्तुष्ट रहेको परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीले बताए ।

भारतले शुक्रबार सो रोडको उद्घाटन गरेको थियो । भारतले तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोड निर्माण गरी उद्घाटनसमेत गरिसकेको छ । नेपालले यसको विरोध गरिरहेको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक बनाएकोमा आपत्ति जनाएको छ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।

भारतीय कदम सीमा विवाद सम्वादबाट हल गर्ने दुई देशका प्रधानमन्त्रीको सहमतिको विपरित भएको भन्दै परराष्ट्र मन्त्रालयले भनेको छ, नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकोे यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको बताउँदै यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस