भारतीय सीमा क्वारेन्टाइन र गन्तव्यमा रहेका नेपाली श्रमिक व्यवस्थापनका तत्कालीन उपायहरू « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय सीमा क्वारेन्टाइन र गन्तव्यमा रहेका नेपाली श्रमिक व्यवस्थापनका तत्कालीन उपायहरू


२५ बैशाख २०७७, बिहिबार


कोरोना भाइरस विश्व भरी फैलिरहेको अवस्थामा भारतमा पनि यो लेख तयार पार्दासम्म करिब ४६ हजार ४३७ कोरोनाका सङ्क्रमण र एक हजार ५६६ को हाराहारीको मृत्यु भएको अवस्था रहेको छ । लाखौंको सङ्ख्यामा रोजगारी, अध्ययन र स्वास्थ्य उपचारको सिलसिलामा भारतमा रहेका नेपालीहरूमा थोरै सङ्ख्यामा सङ्क्रमण भएको छ । कोरोना भाइरसका कारण कुनै पनि नेपालीको भारतमा मृत्यु भएको छैन ।

यस अवस्थामा भारतमा सङ्क्रमण तीव्र रूपमा फैलने आँकलन र भारतमा कोरोनाबाट जोखिममा पर्न सक्ने अनुमान तथा विभिन्न समस्याका कारण लकडाउनको समयमा जोखिम मोलेरै ठुलो सङ्ख्यामा नेपाली श्रमिकहरु फर्किसकेका छन् र फर्किरहेका छन् । यद्यपि चैत्र १० गते २०७६ बाट निरन्तर रूपमा नेपालमा पनि लकडाउन लागु भएको छ । तर सरकारले स्वदेश, विदेश जो जहाँ बसेको छ त्यही सुरक्षित रूपमा लकडाउनका नियम पालना गर्दै बस्न आग्रह गरेको छ । विदेशमा समस्या परेमा सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यस्तो अवस्था र सूचना प्रवाह गर्दागर्दै पनि कतिपय नेपाली दाजुभाइ र दिदीबहिनी गन्तव्यबाट स्वदेश फर्किन खोज्दा भारत तर्फका सीमावर्ती जिल्लाका क्वारेन्टाइनमा बसिरहेका छन् । त्यसमध्ये कतिपय दार्चुला, पिथउरागढ, झुलाघाट नाकाबाट वैशाख २० गते लगभग १८०० नेपालीहरू स्वदेश भित्र्याएको छ । तर बनवासा, खटिमा लगायत कञ्चनपुर, कैलाली लगायत अन्य जिल्लाका सीमावर्ती भारतीय भूमिमा हजारौँको सङ्ख्यामा नेपालीहरू क्वारेन्टाइनमा स्वदेश फिर्ताको पर्खाइमा रहेका छन् ।

नेपालीहरू अर्कातर्फ लाखौँको सङ्ख्यामा भारतीय विभिन्न सहरहरूमा लकडाउन खुकुलो/सहज भए स्वदेश फर्किने सपना साँचेर बसिरहेका छन् । तर लकडाउन खुकुलो कहिले हुन्छ, अहिल्यै अनुमान गर्न सकिने अवस्था देखिँदैन भने परिस्थिति सहज बन्न अझै टाढाको विषय छ । यस्तो अवस्थामा सरकारले तल उल्लेख गरिएका उपाय अपनाउँदा भारतीय सीमा क्वारेन्टाइन र गन्तव्यमा रहेका नेपाली श्रमिक व्यवस्थापनमा सहज हुने देखिन्छ ।

क) सीमावर्ती भारतीय सहरहरूका क्वारेन्टाइन रहेका श्रमिक नेपालीहरूको क्वारेन्टाइनमा बस्ने मापदण्ड पुरा गरेका र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट भएको आधिकारिक प्रमाणपत्र सहित आउनेलाई सम्बन्धित स्थानीय पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा बस्ने गरी स्वदेश फिर्ता गर्नुपर्ने । सम्बन्धित स्थानीय पालिकामा क्वारेन्टाइन बसेकाहरूको पिसिआ विधिबाट कोरोना परीक्षण गरी रिपोर्टका आधारमा घर पठाउने र सम्बन्धितले घरमा पनि कम्तीमा १४ दिन आईसोलेसनमा बस्ने र बसाउने वातावरण स्थानीय सरकार र परिवारका सदस्यहरूले बनाउने ।

ख) भारतमा कोरोना सङ्क्रमण स्थिर नरहेसम्म भारतसँग सीमा जोडिएका नाका नखोल्ने ।

ग) भारतीय विभिन्न सहरहरूमा रहेका कति नेपाली श्रमिकहरूको रोजगारी गुमेको छ, कतिले तलब पाएका छैनन्, खान र बस्न कति जनालाई असहज भईरहेकोछ लगायत के कस्ता समस्याहरू भोगिरहेका भन्ने बारेमा दूतावास मार्फत द्रुत अध्ययन/सर्वेक्षण गरिनुपर्ने ।

घ) सर्वेक्षण मार्फत रोजगारी गुमाएका र बेखर्ची भई खाना र बस्न समस्या भएका श्रमिकहरूलाई दूतावास मार्फत सरकारले राहत प्रदान गर्नुपर्ने ।

ङ) यस्तो अवस्थामा भारतमा रहेका नेपाली सङ्घ, सङ्गठन तथा परोपकारी सामाजिक सङ्घ/संस्था मार्फत अप्ठेरोमा परेका नेपालीहरूलाई सहयोग गर्न आवहन गर्नुपर्ने ।

Tags :
प्रतिक्रिया दिनुहोस