मानवीय क्रियाकलाप र कोरोना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मानवीय क्रियाकलाप र कोरोना


२५ बैशाख २०७७, बिहिबार


पृथ्वीको अस्तित्व जीव जीवात्माहरूसँग जोडिएको छ । यसको लागि हाम्रो पर्यावरण सुरक्षित हुनु जरुरी हुन्छ । पर्यावरणबाटै हामी प्राण वायु (अक्सिजन) पाइरहेका छौँ । यसै गरी बिरुवाहरूले खाना बनाउनको लागि कार्वनडाइअक्साइड पाइरहेका छन् । वायुमण्डलमा यी दुई ग्यासहरू बाहेक अन्य थुप्रै ग्यासहरू रहेका छन् । जसको आ आफ्नो भूमिका रहेको छ । पानीमा बस्ने जीवहरू हुन् या हावामा बस्ने हुन् या जमिनमा बस्ने जीवहरू, यी सबैको आहार विहार र पारस्परिक सम्बन्ध सन्तुलित भयो भने नै वातावरणीय सन्तुलन कायम भएको हुन्छ । अनि पारिस्थितिक प्रणालीहरू सन्तुलित ढङ्गबाट स्वचालित भएका हुन्छन् । तर यसरी स्वचालित प्रणालीको कुनै पनि तहमा विचलन आयो भने सारा पारिस्थितिक प्रणालीहरू नै प्रभावित बन्न पुग्दछन् र विभिन्न खालका प्रकोप एवं महामारीबाट प्रताडित बन्नुपर्ने अवस्था सिर्जना हुन आउँछ । यस्ता महामारीहरू निम्तिनुमा मानवीय कामकारबाहीहरू पनि जिम्मेवार रहेका छन् ।

यस धर्तीमा सर्वश्रेष्ठ मानिएको मानव जातिमा आफू मात्र नभई समस्त वनस्पति तथा प्राणी जगतक संरक्षण गर्ने अभिभारा छ । आफ्ना आवश्यकताहरू पूरा गर्दै समग्र जीवात्माको रक्षा गर्नुपर्ने जिम्मेवारी मानव जातिको नै हो । परिवर्तित सन्दर्भमा मानवीय चाप वातावरणमा बढ्दै गइरहेका छन् । मानवकै कारण वातावरणीय असन्तुलन बढी विश्व उष्ण करण, जलवायु परिवर्तन, प्रकोप तथा महामारी जस्ता असरहरू परिरहेका छन् । बसाइसराइ, सहरीकरण तथा सांस्कृतिक एवं पारिस्थितिक प्रणालीहरूमा सिर्जना हुने अस्वाभाविक प्रक्रियाहरूको कारण उत्पन्न हुने गरेका विपत्, सङ्क्रमण तथा महामारीहरूले सहजै विश्वव्यापी स्वरूप ग्रहण गरिरहेका छन् । यसको ज्वलन्त उदाहरण हो कोभिड १९ ।

सन् २०१९ को डिसेम्बरमा चीनको हुवेइ प्रान्तको मुहान सहरमा देखा परेको कोरोना भाइरसको सङ्क्रमणले महामारीको रूप लिएको छ । आँखाले देख्न नसकिने सानो भन्दा सानो जीवले अकल्पनीय स्वरूप लिँदा विश्वका २ सय १२ मुलुकहरू आक्रान्त बनेका छन् । विश्व आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । यसले सानो ठुलो देश या धनी गरिब या हुने खाने र हुँदा खाने या कुनै हिसाबले पनि फरक व्यवहार गरेको छैन । कोरोना भाइरसको कारण सिर्जित रोगलाई कोभिड–१९ संज्ञा दिइएको छ । भाइरसका कारण विश्वभर करिब २ लाख ५० हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने ३७ लाख भन्दा धेरै मानिसहरू सङ्क्रमित भइसकेका छन् । १२ लाख भन्दा धेरै मानिसहरू उपचार भई निको भएका तथ्याङ्कहरू आइरहेका छन् । यी सबै आँकडाहरू बढ्ने क्रममा रहेका छन् ।

मानिसको अन्य विभिन्न पहिचान मध्ये प्रमुख पहिचान भनेको सामाजिक स्वभाव हो । मानिसले एक्लै रहनै सक्तैन। उसलाई परिवार, साथी सङ्गत, आफन्तजन अनि समाज चाहिरहेको हुन्छ । समाजविना ऊ अलग रहन गाह्रो हुन्छ । पानी विनाको माछा सरह बन्न पुग्दछ मानिस यदि साथ पाएन भने । अहिले भने यसको ठिक विपरीत मानिसहरूले सामाजिक दूरी कायम गरिरहनुपर्ने आवश्यकता कोरोना भाइरसले गराएको छ । नेपालमा मात्र होइन । विश्वका अधिकांश मुलुकहरू लकडाउनमा छन् ।

लकडाउनका प्रकृति र अत्यावश्यक वस्तुहरूको परिपूर्तिका ढाँचाहरू भने फरक फरक हुन सक्छन् । लकडाउन अवधि स्वभावैले कठिन हुन्छ नै । तर यसलाई व्यतीत गर्नुको अरू कुनै विकल्प नभएको हुनाले कसरी लकडाउन समयलाई फलदायी गराउन सकिन्छ भनेर सोच्नुपर्ने हुन्छ । यस अवधिमा घरभित्र रहेर गर्न सकिने क्रियाकलापहरू विशेष गरी पारिवारिक सद्भाव बढाउने, अनुभव आदान प्रदान, सिकाइ, पारिवारिक माया मोह एवं हेरचाह एवं रेखदेखमा ध्यान दिनु आवश्यक छ । फेरि यति नै बेला समाजको पहिलो आधार भनेको परिवार रहेछ र त्यो भन्दा पनि ठुलो त व्यक्तिगत सुरक्षा र स्वास्थ्य रहेछ भन्ने सन्देश पनि सबैलाई मिलेको छ । हुन त यस्ता सन्देशहरू बेला बखत भोगिने सङ्कटहरूमा पनि आएकै हुन् ।

२०७२ सालको भूकम्प होस् या सीमामा गरिएका नाकाबन्दीको मार किन नहोस् । ती मारहरूबाट पार लागेपछि भुसुक्कै बिर्सिने बानी छ ।तर भूकम्प नाकाबन्दी या बाढी पहिरो आँधी हुरी जस्ता विपथहरू भनेका निश्चित क्षेत्रगत हुने गर्छन् तर कोभिड–१९ त महामारीको रूपमा विकास भइरहेको छ । यसको रोकथाम कुनै पनि एकल प्रयासबाट सम्भव छैन । कुनै एक विन्दुमा मात्र रोकथाम गरेर यसको रोकथाम हुनसक्ने देखिँदैन । विश्व स्वास्थ्य सङ्गठनले नै विश्व महामारी घोषणा गरेको छ र यसको विरुद्धको खोपहरूको पूर्ण विकास नहुँदासम्म सामाजिक दुरी कायम नै राखिनुपर्ने सुझाव दिइरहेको छ ।

पृथ्वीको तापक्रम बढिरहेकोले पर्यावरणमा प्रत्यक्ष वा परोक्ष असर पारिरहेको छ । कोरोना भाइरस जस्ता नयाँ नयाँ सङ्क्रमण बढ्नुमा मानवीय गतिविधि र जलवायु परिवर्तन जस्ता असरहरू पनि कारक रहेको जानकारहरू माझ विश्लेषण पनि चलिरहेको छ । बढ्दो जनसङ्ख्या र सीमित स्रोत साधनका कारण आवश्यकता परिपूर्तिका निम्ति कृषि प्रणालीहरूमा विषादी तथा रासायनिक मलहरूको प्रयोग गर्ने क्रम बढिरहेको छ । घर घडेरी जोड्ने नाउँमा जमिनको खण्डीकरण भएको छ । उर्वर कृषि भूमिहरू घडेरी तथा बाँझो जमिनका रूपमा रहेका छन् । घर घरमा बाटो अनि गाडी पुर्‍याउने होडबाजीले प्राकृतिक स्रोत साधनको दोहन भइरहेको छ । जसका कारण पानीको मुहान सुक्ने, वनजंगल, खेतीयोग्य जमिन नष्ट हुने एवं अनेक रोग व्याधिहरू देखा पर्ने लगायतका पर्यावरणीय असरहरू देखिएका छन् ।

वातावरण प्रदूषणको कारण वातावरणीय असन्तुलनहरू पैदा भइरहेका हुन्छन् । फोहर मैला, रसायन, ताप, ध्वनि, विद्युत्, विद्युत् चुम्बकीय तरङ्ग वा रेडियोधर्मी विकिरणका कारण वातावरणमा हानि पुर्‍याउने खालका कार्यहरूबाट वातावरण प्रदूषण बढिरहेको छ । विभिन्न पारिस्थितिक प्रणालीहरू सन्तुलनमा रहँदासम्म मात्र स्वच्छ वातावरणमा बाँच्न पाउने अवस्थाले मूर्त रूप लिन सक्छ। वातावरणीय स्रोत तथा वस्तुहरूको संरक्षण र दिगो विकासविना प्रकृति र जीवको सम्बन्ध दिगो बन्न सक्तैन । वन विनाश, वासस्थान अतिक्रमण, डढेलो, भू–क्षय, बाढी, पहिरो, अम्लीय वर्षा जस्ता कारणहरूले प्राकृतिक वातावरणमा असन्तुलन आउने गर्दछ । यस्ता क्रियाकलाप सिर्जना हुनुमा मानवीय क्रियाकलापहरू प्रत्यक्ष परोक्ष सम्बन्धित छन् ।

समयको विभिन्न कालखण्डमा फरक फरक प्रकृतिका महामारीको प्रकोप फैलिएको पाइन्छ । विगतमा इबोला भाइरस, मर्स, सार्स भाइरसहरूले पनि प्रताडित पारेका थिए । तर यस अगाडिका प्रकोप तथा महामारीहरू र कोभिड १९ मा फरक प्रकृति देखिन्छ । विकसित सूचना प्रविधि तथा बढ्दो जनस्वास्थ्य सम्बन्धी जनचेतना एवं स्वास्थ्य संवेदनशीलताका कारण पनि अहिले घटनाक्रमहरू बढी सार्वजनिक भएका हुन सक्छन् भन्ने विश्लेषण पनि हुन सक्छ । तथापि विज्ञान तथा प्रविधिलाई चुनौती दिँदै फैलिरहेको कोभिड १९ ले अहिले सारा विश्वलार्इ तर्साएको छ । यो महामारी यसरी फैलिनु पछाडि मानवीय सम्बन्ध एवं व्यवहार र यसबाट वातावरणमा परेका प्रभावहरूले नै भूमिका खेलेका हुन्छन् । आजको विश्व केवल सूचना तथा प्रविधिले मात्र जडित नभई प्राकृतिक विपत् तथा महामारीहरूसँग पनि सञ्जालकृत हुन पुगेको छ । तत्कालीन मानवीय आवश्यकताहरू परिपूर्ति गर्ने नाउँमा प्राकृतिक स्रोत साधनहरूमाथि अतिक्रमण गर्ने, अत्यधिक दोहन गर्ने परिपाटी नै मुख्य समस्या हो ।

विभिन्न खालका रोगहरू जनावरबाट सरेका देखिन्छन् । एड्स रोग बाँदरबाट, स्वाइन फ्लु सुँगुरबाट यस्तै अहिलेको कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको भनिएको छ । प्राय: रोगहरू वन्यजन्तुहरूबाट मानिसमा सरेका देखिन्छन् । वातावरणमा पर्ने परिवर्तनले जनावरहरूको खानाको स्रोत तथा स्वरूपहरूमा परिवर्तन आएको छ । कोरोना मानिसबाट बाघमा सरेको पनि पुष्टि भइसकेको अवस्था छ । वातावरणमा आउने परिवर्तनको कारण वन्यजन्तुहरू आफ्ना खानाहरू पनि परिवर्तन गरिरहेका छन् । यसको नमुना भनेको जङ्गलमा बस्ने बाँदरहरू घरघरमा आहार चहार्दै हिँड्नु र मानव वन्यजन्तु द्वन्द्वका घटनाहरूमा आएको वृद्धि पनि हो ।

मानिस र जनावरबीच बढ्दो सम्पर्कले रोग सर्ने जोखिम बढाएको छ । तीव्र जनसङ्ख्या वृद्धिले प्राकृतिक वातावरणमाथि मानिसहरूले गर्ने दोहनको क्रम रोकिएको छैन । जसले गर्दा मानिस र अन्य प्राणीहरूसँगको सम्पर्क बाक्लिँदै गएको छ । जनावरमाथि भइरहेका तीव्र मानव हस्तक्षेपले कोरोना भाइरस लगायतका सङ्क्रमणको जोखिम बढ्दै गएको कारण विभिन्न रोगहरू प्रकट भई महामारीहरू फैलिन सहज भएको हुन सक्छ । जुन वृहत् अध्ययनको विषय बन्न सक्छ । यसर्थ हाम्रा स्वभाव तथा गतिविधिहरू प्रकृति मैत्री हुनु जरुरी छ । जसले वातावरणीय सन्तुलन कायम गर्नमा सघाइरहोस् र विभिन्न खालका नयाँ नयाँ भाइरस जस्ता जीवहरूको उत्पत्ति एवं सङ्क्रमण फैलाउनमा सहजता प्रदान नगरोस् ।

आज जुन रूपमा कोरोना महामारी फैलिरहेको छ अनि मानव विकास र वातावरणीय सन्तुलनमा सन्त्रास पैदा गरिरहेको छ, यसको सही व्यवस्थापन गर्ने दायित्व पनि मानिसको नै हो । यस्तो घडीमा संयमित हुनु र सरकारका निर्देशनहरू पालना गर्दै उपभोगमुखी भन्दा पनि उत्पादनका कार्यहरूमा लागिरहनु उचित हुनेछ । साथै देश विदेशबाट गाउँ ठाउँमा फर्किएका मानिसहरूको जीविकोपार्जन तथा रोजगारीका लागि आफ्नै ठाउँमा श्रम गर्ने र स्वरोजगार बन्ने अवसरको रूपमा कोरोना भाइरसले सिर्जना गरेको चुनौतीलाई लिन सकौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस