स्वास्थ्य मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको मेडिकल सामाग्री हस्तान्तरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको मेडिकल सामाग्री हस्तान्तरण


२४ बैशाख २०७७, बुधबार


काठमाडौं । एआइएनले स्वास्थ्य मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको छ ।

अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) ले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको हो ।

एआइएनको पहलमा १६ वटा संस्थाले संयुक्त रुपमा खरिद गरेको ती मेडिकल सामग्री झण्डै ४ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिसरमा आज बुधवार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, समाज कल्याण परिषद्का कार्यवाहक सदस्य सचिव शिवकुमार बस्नेत तथा एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको हो।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशिकामा तोकिएको मापदण्ड अनुसार भौतिक दूरी कार्य गर्दै आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, एआइएनका सदस्य तथा सञ्चारमाध्यमको उपस्थिति रहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एआइएनको पहलका लागि आभार प्रकट गर्दै भने,‘मेडिकल सामग्रीहरुको खरिद चुनौतीपूर्ण भएको अहिलेको संकटको समयमा गैरसरकारी संस्थाहरुको सहयोग साँच्चिकै प्रशंसायोग्य छ । यी सामग्रीहरुलाई प्रदेश र जिल्लाहरुमा पु¥याउन मन्त्रालयसँग समन्वय गर्न म सबै संस्थाहरुलाई आग्रह गर्दछु ।’

एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलले भने, ‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा दीर्घकालिन पुनर्लाभ र मुलुकको उत्थानशीलता निर्माणका लागि सरकार, विकास साझेदार र नागरिक संघसंस्थाले काँध मिलाई आपसमा सवल ढंगमा काम गर्नुपर्ने समय हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस