कोरोनाको कहर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोनाको कहर


२३ बैशाख २०७७, मंगलबार


मानव जीवन नै यात्रा हो । जन्मबाट सुरु भएको यात्रा विभिन्न आरोह अवरोह पार गर्दै मृत्युमा गएर टुङ्गिन्छ । जीवनको मेलामा चाहेर वा नचाहेर अनेकन् भूमिकामा आफूलाई अब्बल साबित गर्न व्यस्त रहने मनूूष्य अकाट्य सत्य मृत्युदेखि जीवन पर्यन्त भागिरहन्छ । जन्मेदेखि उन्नति, प्रगति र सुख सयलको दौडमा नथाक्ने गरी दौडिरहने मनुष्यका जीवनमा सबै दिन, रात, महिना र वर्ष एकनासका हुँदैनन् । कुनै दिनले खुसी दिन्छन्, सहज हुन्छन्, कुनै ठिकै हुन्छन्, कुनै अप्ठ्यारा हुन्छन् भने कुनैले अत्यन्त दर्दनाक पीडा दिएर जान्छन् । तर जे भए पनि समयले बिस्तारै जीवन जिउने कला सिकाउँदै लैजान्छ । संसारमा समय जस्तो बलवान र गतिशील अरू केही छैन । समयले नै जीवनमा गडेका, बिझेका, खिल पल्टेर बिझाई रहेका घाउमा मलम लगाउन सक्छ ।

आज विश्वलाई अत्यन्त घातक समयले आफ्नो चपेटामा लिएको छ । कोरोना भाइरसको महामारीले परेड खेलिरहेको अवस्थामा विश्वका गतिविधिहरूको निरन्तरतामा क्रमभंग भएको छ । लाखौँ मानिसले अकालमा ज्यान गुमाई सकेका छन् भने लाखौँ लाख मानिस सङ्क्रमित भएका छन् । विश्वका धेरै जसो मुलुकहरू बन्दाबन्दीको अवस्थामा छन् । समयले हरेक मानिस माथि कोरोनाको कहर बर्साउँदै गइरहेको छ । यसबाट विशेष गरी असङ्गठित क्षेत्रमा काम गर्ने मजदुरदेखि लिएर सङ्गठित क्षेत्रका मजदुर, औद्योगिक व्यावसायिक प्रतिष्ठान, शिक्षा, कृषि, बैङ्किङ, पर्यटन लगायतका क्षेत्र प्रभावित भइरहेको छ । देशका आर्थिक क्रियाकलाप ठप्पै छन् । बाचौँ र बचाऊँ भन्दै विश्वको ठुलो जनसङ्ख्या घरघरमा स्व–घोषित बन्दी अवस्थामा छन् । कति आफ्ना प्रियजनको मृत्युमा तड्पिरहेका छन् भने कति रोगसँग पैठाजोरी खेल्दै छन् ।

समयले मानव जीवनमा यस्तो दिन ल्याइदिएको छ कि आज मानिसदेखि मानिस नै डराइरहेको छ । हिजोसम्म घरमा आएर चिया पिइदिए हुन्थ्यो भन्नेहरू आज बाटोमा देख्दा पनि नदेखे जस्तो गरी हिँड्न थालेका छन् । घरको छतबाट एक आपसमा भावना साटासाट गर्ने छिमेकीहरू बोल्न नपरे हुन्थ्यो भनेर मुख लुकाउन थालेका छन् । आफन्त इष्टमित्र सबै टाढिइरहेका छन् । अरू त कुरै छोडौँ अफिसमा हाकिमसमेत नजिक जाँदा डराउन थालेका छन् । साथीभाइले सीमा रेखा कोरी सोसियल डिस्टेन्स राख्नै पर्‍यो भन्न थालेका छन् । वास्तवमा नयाँ युगमा मानव जाति प्रवेश गर्दै छ, मानवदेखि मानव डराउने युगको सुरुवात भई मानवता माथि नै प्रश्न चिन्ह खडा हुँदै छ । अबको मानव सभ्यता कता मोडिने हो केही थाहा छैन ।

कोरोनाकै कारण मैले करुणा, दया एवं मायाकी प्रतिमूर्ति मेरो छिमेकी रत्न मुवालाई गुमाउन पुगेको छु । गोरी, अग्ली, टम्म मिलेको ज्यान भएकी हँसिली, रसिली मुवासँग मेरो रगतको नाता नभएता पनि आत्मीय नाता थियो । सबैलाई माया गर्ने, अत्यन्त सरल मुवा अमेरिकामा कोरोनाको कारण मृत्यु भएकी प्रथम नेपाली महिलाको रूपमा अंकित हुँदा अत्यन्त पीडा भएको छ । करिब ५ महिना अघि मेसेन्जरमा गरेको कुरा नै हाम्रो अन्तिम संवाद बन्न पुगेको छ । रत्न मुवालाई गुमाउँदाको पीडाबाट रसाएका मेरा आँखाको आशु सुक्न नपाउँदै मेरो घरको बफादार चौकीदारले पनि सदाका लागि मलाई छोडेर कहिल्यै नफर्किने गरी गयो । भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन भनेर तर अहिलेको विपत्ति बाजा बजाएर आई मेरो जीवनका प्रिय पात्रहरूलाई मबाट खोसेर लग्यो ।

चौकीदार अत्यन्त आज्ञाकारी थियो । म उसलाई अति नै माया गर्थे र उ पनि मलाई धेरै माया गथ्र्याे । वास्तवमा संसार एउटै मात्र चिजले अडेको छ, त्यो हो माया र माया बिनाको जीवन सादा कागजको टुक्रा जस्तो हुन्छ जसको कुनै मूल्य हुँदैन । मायाले मान्छेलाई सकारात्मक ऊर्जा दिन्छ, संसारसँग लड्न सक्ने आँट दिन्छ । अझ भनौँ भने जीवनका पानाहरू उत्साह, उमंग र खुसीले भरिदिन्छ । मेरो जीवन पनि उसको मायाले रंगिन थियो । जति सुकै पीडा, दुःख भए पनि उसलाई देखेपछि सबै बिर्सिन्थ्ये । घर भरिमा उसको र मेरो आत्मीयता अलिक बढी नै थियो जसले गर्दा सबैले ईर्ष्या गर्थे । तर हामीलाई कुनै मतलब थिएन । एक अर्कालाई बेइन्ताहा माया गथ्र्याै । उ आफ्नो जिम्मेवारी इमानदारीताका साथ पुरा गर्दथ्यो । घरको सुरक्षाको कसैले चिन्ता लिन पर्दैन थियो । कसैले घरतिर हेर्न पनि हुँदैनथ्यो खाउँला झैँ गरेर झम्टिने गर्दथ्यो । अफिसबाट आउने समय कुरेर बस्थ्यो । मेरो गाडीको आवाज २०० मिटर टाढाबाटै चिन्थ्यो । घरको गेटमा पुग्दा नपुग्दै उ खुसीले नाच्थ्यो । उसको खुसीपनले मलाई आल्हादित तुल्याउँथ्यो । अफिसको कामले केही दिन बाहिर गएर आए पछि मेरो वरिपरि घुमेर धेरै बेरसम्म केही भन्न खोजे जस्तो गर्थ्यो र मेरो छोरा चाहिँ यसले ममीलाई कुरा लगाउन थाल्यो पख तलाई भन्दै लखेट्ने गर्दथ्यो । यो सबै देख्दा यति आनन्द लाग्दथ्यो कि मानौँ हाम्रो घर स्वर्गको टुक्रा हो ।

वास्तवमा हाम्रो परिवारको एक हिस्सा थियो चौकीदार जसलाई सबैले माया गर्थे । यसै बिच बन्दाबन्दीको अवस्थामा उ बिरामी भयो । दुई दिनसम्म केही पनि खाएन । खाना दिँदा नखाईकन टुलुटुलु अनुहार हेरिरहन्थ्यो, केही भन्न खोजे जस्तो लाग्दथ्यो । उसका निश्चल एवं निष्कपट आँखामा अथाह पीडाका लहर छचल्किएको अनुभव मैले गरेको थिएँ । अस्पताल बन्द थियो । कहाँ लैजानु हामी चिन्तित थियौँ । कहिल्यै बिरामी नहुने कुकुर साह्रो होला भनेर कल्पना पनि गरेका थिएनौँ । उसलाई कत्ति पीडा भयो होला तर उसले बताएन । मायालु आँखाले केही नभएको जस्तो गरी हेरी मात्र रहन्थ्यो । मैले उसको टाउको मुसार्दा आनन्द मानेर आँखा चिम्लिदिन्थ्यो । उसको जाने दिन आएको आभाससमेत नदिईकन हामीलाई सदाका लागि छोडेर गयो तर आज पनि उसको त्यो मायालु हेराइलाई भुल्न सकेको छैन मैले । कालेको भौतिक शरीर टाढा भए पनि उसको माया मन मुटुमा रहिरहनेछ ।

कोरोनाले जति सुकै कहर बर्साए पनि हामी मनुष्य आफ्नो जीवन पथमा अघि बढ्दै जानेछौ । विषम परिस्थितिका बाबजुद बुलन्द हौसलाका साथ डटेर सामना गर्न पछि पर्ने छैनौँ । जीवन छ र त संर्घष छ, पृथ्वी छ र त मानव छ !

 

Tags :
प्रतिक्रिया दिनुहोस