यातायातको बन्देज कायमै राख्न सुझावसहित मंगलबारको बैठकले सरकारलाई सिफारिस गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यातायातको बन्देज कायमै राख्न सुझावसहित मंगलबारको बैठकले सरकारलाई सिफारिस गर्ने


२२ बैशाख २०७७, सोमबार


काठमाडौँ । सरकारले वैशाख २५ पछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री-वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी थालेको छ ।

सोमबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा चार वटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका अधिकारीले सर्तसहित राजधानीलगायत विभिन्न स्थानमा लगाइएको लकडाउन खुकुलो बनाउँदै लैजानु पर्ने सुझाव दिएको सहभागी एक अधिकारीले बताए ।

ग्रिन जोनमा रहेका जिल्लामा कृषि, पशु तथा त्यससँग सम्बन्धित कारोबार सावधानी अपनाएर खुकुलो बनाउने, मालसामानको ढुवानीलाई सरल बनाउने, अन्य उत्पादनमूलक उद्योग कलकारखाना सावधानी अपनाएर सञ्चालन गर्ने गरी लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने विषयमा छलफल भएको ती अधिकारीले बताए ।

यद्यपि निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, भिडभाड हुने बजार, सिनेमा हललगायतलाई तत्काललाई बन्द नै राख्ने गरी सिफारिस गर्ने तयारी समितिको छ ।

त्यस्तै उद्योग-कलकारखानालगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य वस्तुको बिक्री(वितरणमा पनि सावधानी अपनाएर लकडाउन खुकुलो बनाउने गरी खाका तयार पारिएको छ ।

प्रस्तावित खाकाअनुसार सीमा क्षेत्रलाई रेड जोनका रूपमा राखेर आवागमन पूर्ण रूपमा ठप्प पार्ने, देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गर्ने तयारी सरकारको छ ।

मङ्गलवार बस्ने समिति बैठकले यी प्रस्तावसहितको लकडाउन मोडालिटी लागू गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ । समितिको सिफारिस कार्यान्वयन भए वैशाख २६ देखि लकडाउन खुकुलो हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस