दर्ता भयो अपहरणको उजुरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दर्ता भयो अपहरणको उजुरी


२२ बैशाख २०७७, सोमबार


काठमाडौं । सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सोमबार दिउँसो उजुरी दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जनाएको छ ।

उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोपमा उजुरी दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले प्रशासनलाई बताए । उनले अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्ने र प्रहरीसमक्ष पठाउने बताए ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था रहेको छ ।

यस अघि अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर उजुरी दर्ता भएन । त्यस्तै त्यहाँ प्रहरीले दर्ता गर्न नमानेपछि बैशाख १६ मा उनीहरु उजुरी दर्ता गर्न सरकारी वकिलको कार्यालय पुगे । त्यतिखेर त्यहाँ पनि उनीहरुको उजुरी दर्ता गर्न नमाने पछि उनीहरु मानवअधिकारमा गएका थिए । उनीले मनवअधिकारमा पनि केही दिन अघि उजुरी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस