अबको योजना: ‘मनोवाद’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अबको योजना: ‘मनोवाद’


२२ बैशाख २०७७, सोमबार


स्थान:- सुत्ने कोठा
समय:- रातभरि
परिस्थिती:- (संसारभरि फैलिएको कोभिड-१९ को कारणले संसारले अवलम्बन गरेको लकडाउनको समयमा एक नेपालीको लकडाउन र त्यस पछिको योजना सम्बन्धी मनोवाद)

आजको खान खाएर सिध्याउने समयमा, आमाले ए ! छोरा अब यसरी सधैभरी लकडाउन हुँदै गयो भने त के खाने हो हय, भनेर सोधेको प्रश्नको मनगढन्ते उत्तरले आमालाई त टारे तर मेरो मनलाई भने टार्न सकिन, साँच्चै अब के पो गर्ने हो भन्ने चिन्ताले मेरो मनमा डेरा बसाल्यो । हामी लकडाउन भएर घर आए देखि नै छिट्टै सुत्ने र दिन भरी सुत्ने गरे पनि भुसुक्कै निदाउने म आज भने बिस्तारामा परे देखि नै निद्रा पर्ने सुरसार नै छैन । खाली त्यही कुरा मनमा आएको छ, साँच्चै बुढापाका भनेको बुढा पाका नै हुन म यत्रो विधि पढेलेखेको र सहर बजारमा गएर फर्केकोलाई त यसको बारेमा सोच्दै पो सोचेको रहेनछु ।
कोठामा श्रीमती र बालबच्चा निदाई सकेका छन्, यसो घडी हेरेको त बल्ल रातको ९ पो बजेको रहेछ, लाग्ला नि निद्रा, ए, आज त दिउसो सुतेर होला, होइन दिउसो त कहिले पो सुतिएन र यो लकडाउनको बेलामा ।

सुत्नको लागि आँखा चिम्म गरे, अहँ कहाँ निद्रा पर्नु, त्यही कुरा पो सोच्न लागे, साँच्चै अब के खाने हो, कसरी बाल बच्चा पढाउने हो, बजार फर्किने कि, यही गाउँमा बस्ने की, बुढा बुढी आमा बाउको औषधी उपचार, भाइ बैनीको बिहे, उताको व्यापार व्यवसाय, मेरो विदेश जाने प्लान, बच्चालाई राम्रो विद्यालयमा पढाउने योजना, साँच्चै चकनाचुर पो हुन्छन् कि क्या हो ? कत्ति मलाई मात्र हो र लकडाउन विश्व नै लकडाउनमा परेको छ, अरूले जे गर्लान् त्यसै गर्नु पर्ला भो अब चिन्ता गर्न भएन सुत्नु पर्‍यो । यसो कम्बल तान्दै, गर्मीको चैत्र वैशाखको महिनामा पनि कत्ति चिसो छ हँ ? साँच्चै यो मौसम र प्रकृतिले पनि के-के गरेको छ, के के ? हुन त नगरोस् पनि किन ? मान्छेले पनि यसलाई कत्ति बिगारेका छन् नि कति ।

धन्न बुढा बा आमाले सकी नसकी गरेर राखेको अन्न बाली रहेछ र नत्र त राहत पो माग्न जाने अवस्था हुन्थ्यो कि क्या हो ? हैन राहतै न माग्न त कहाँ जाने यार, गइयो भने त समाचार पो आउला भन्ने चिन्ता, सिक्री र आई फोन जस्ताको । मेरा साथी भाइलाई एक पटक सरसरती सम्झे, मेरै दामालीको हुमकान्तले जागिर खायो, बजारा घर घडेरी जोडेको छ, त्यो त पहिला देखि नै टाठो हो, आखिर राम्रो त अब जागिर पो हुने भो त, हुन त एक जनाको जागिर परिवारै बजाराँ लएर राखेको छ, एक्लैले त केही हुन्न । तर भन्छन् उत्तम व्यापार, मध्यम जागिर तर खै के खै के । हरि विदेश गयो र थुप्रै पैसा कमायो बजारा तीन तल्ले घर बनाएको छ उसलाई पनि मोज नै छ, हुन त के कमायो भन्ने, त्यही खोलाखेत बेचेर विदेश गयो, अनि आएर त्यति बराबरको एउटा घडेरी किनेर त घर बनाएको हो नि, बरु त्यही खेत नबेचेको भए अहिले मालामाल हुन्थ्यो, थुक्क मेरो बुद्धि अरूलाई पो खुब उपदेश दिने म, जे गरेको छ राम्रो गरेको छ, उसैको बोलबाल रहेछ यहाँ, धेरै बेचेको भन्दा थोरै किनेकोलाई सम्मान गर्ने थालेछन् । हिमालले पो बरु यतै गाउँ ठाउँमा बसेर खेती किसानी गरेर, सानो तिनो किराना पसल राखेर पो राम्रो गरेको रहेछ, बाल बच्चा पनि ठूल ठुला भएका रहेछन्, अब त उसलाई त छोराले नै काँध हाल्ने भएछ, बेकारमा पढ्न थालेर पो बिग्रिएछु म त । पढियो मात्रै जागिर खान पनि सकिएन । बरु निमेले पो प्रगति गरेको छ पढ्नलाई पनि त्यति तगडा थिएन, यसो राजनीतिमा लाग्यो, चुनाव जिताइयो भन्ने कि जित्यो भन्ने, अहिले मान्छे गन्दैन, जे होस साथी हो प्रगति गरेको छ । यस्तै हो भने त एक दिन मन्त्री बन्न बेर छैन । मन्त्री बन्यो भने त हामी सबै मध्येको धनी मानी त्यही पो होला जस्तो छ, यो राजनीतिमा लागे पछि कसरी कमाउँछन् हँ ? हामीले यसरी मेहनत गरेर काम गर्दा त यसरी खलखल पसिना आउने गरी चिन्ता पर्छ । त्यहाँ बजाराँ पनि नेता भन्दै डायरी बोक्दै, नमस्कार खादै, सुट बुटमा हिँड्ने ले पनि खासै काम गरेको देखिँदैन, तर सुन्दा घर, घडेरी जोडेका, छोरा छोरीको पढाई लेखाई राम्रै विद्यालयमा गराएको देख्छु । फेरी तिनीहरू पनि राम्रो कुलिन परिवारका हुन जस्तो पनि लाग्दैन । साला कि राजनीतिमा लाग्ने हो, हँ ? सोच भाइ सोच, अँ त्यसै राजनीति हुन्छ कर, त्यसै नेता बनिन्छ, अँ तिनीहरूले त राजनीति पढेर भएका होलान् नि ? तर म त भविष्य चाही त्यही राजनीतिमा पो देख्छु यार, नाफा र फाइदा भए भई हाल्यो नभए पार्टी फेर्‍यो, टन्टै खलास ।

कस्तो तिर्खा लागेको हो , हुन त मनाएँ जलन भएर होला नि । भो सुत्न परो कति सोच्ने जे पर्ला त्यही टर्ला, कत्ति न मेरो मात्रै चिन्ता हो र यो लकडाउन, हैन यार परिबार पाल्ने त मेरै टेन्सन हो, बेलैमा प्लान त बनाउनै पर्‍यो । खै के बनाउने हो यार । कि अब विदेशै जाने, फेरी विदेश जाँदा पनि त्यत्रो लगानी लाग्छ, उता बजार्‍या लगानी फसेको छ, यता बा आमा, बाल बच्चा कहाँ बस्ने हुन, यहाँ बस्न मान्ने हुन कि होइनन् । बिचैमा व्यापार छोडे भने पनि उठाउने पैसा सबै पच्ने होला । बुढीले यहाँ बस्ने मन गरेकी छैने, कि यसो ललाई फकाई गरी भने मान्ली हँ ? बाल बच्चा पनि यतै पढाउने, यहाँ पनि स्कुल राम्रै लागो, वातावरण पनि राम्रो, खर्च पनि कम हुने, परिवारसँग पनि बस्ने, खेती पाती पनि आफै लगाउने, गाई, बाख्रा, भैँसी पालेपछि बा आमालाई सहयोग पनि हुने, बाँझो खेत र बारीले पनि स्याहार सुसार पाउने, यही सल्लाह गर्नु परो बुढीसँग जे पर्ला पर्ला, मान्नी त कर, । होइन गारो मान्न त गारो छ, दिन दिनै मिच्छे जस्तो लाग्छ यहाँ बस्दा, हुन त नमानेर त्यहाँ गएर पनि के खन्नु खोस्रनु छ र , घर छैन, खेत छैन, त्यही भएको सानो तिनो पसल हो, त्यो पनि जाँदा सम्म रहने हो कि होइन सबै सड पत्र हुने होलान्, घरबेटीको भाडा र त्यहाँका समान सबै बराबर हुने त होल नि ।

कि छोरा छोरीलाई सम्झाई बुझाई गर्नु पर्छि क्या हो , उनीहरूको मन यतै बस्ने जस्तो छ । फेरी गाउँलेले पो के भन्ने हुन, यिनीहरूले त अहिले सम्म केही पनि कमाएका रहेनछन् भन्ने त होलान् नि, जे भने भनुन् यथार्थ जहिले पनि यथार्थ नै हुन्छ । हुन त नकमाएको पनि कहाँ हो र, बच्चाहरूको महँगो फिस, घर भाडा, खाना खर्च, कहिले कसो यसो घर तिर पनि बा आमालाई पठायो, पाहुना, इष्ट मित्र, बजारको लवाइ खवाइ, बुढीको सिँगार बटार मेरो दारु पानी, अहिले पो यसरी रुझेको बिरालो जस्तो भएर बस्नु परेको छ, उस बेलात मोज गरियो नि गर्नु त । राम्ररी बचाएर राखेको भए त कत्ति हुन्थ्यो कत्ति, यसरी सोच्नु पर्ने थिएन, धैत कत्ति विगतलाई सोच्नु, छोड्दे सोच्न । हुन त बढी त बढी नै गरेको हो हामीले, हप्ताको ३ पटक माछा मासु, १ दिन होटेलमा खाना, हप्तामा सिनेमा, महिनामा २/३ दिन घुम्न जाने, फेसनै पिच्चे बदलिएका लत्ता कपडा, अरूको घरको सिँगार बटार, महँगा महँगा दारु पानी सेवन, हो हुन त । फेरी सम्पत्ति भनेको खाएर बचेको त हो नि, तर यहाँ त केही पो बचेन र हो, बचेको भा त त्यही सम्पत्ति हुन्थ्यो । हुन त केही पैसा त छ कि क्या हो बैङ्कमा, देखिने गरी बचेको भनेको त त्यही बाल बच्चाको शिक्षाको सर्टिफिकेट त भो नि, तर त्यहाँ किनेको सर्टिफिकेट र यहाँ पाएको सर्टिफिकेट राम्रो रहेछ ।

आबुई ! १२ पो बजेछ, शरीर पनि पसिनाले भिजेको छ, मलाई के भो हय, कि बुढीलाई उठाएर अहिल्यै सल्लाह गरौँ कि क्या हो ? भो मार्छे अहिले सुतेको बेलामा उठाउँदा, ह्या यस्ता कुरापनि कहीँ बुढीलाई भन्ने यार, हैन अब त बुढी पनि त मेरै सहयात्री हो, सल्लाह त गर्नै पर्छ ऊसँग नगरे कोसँग गर्ने, उसले फरक मत राखी भने त फेरी बरबाद हुन्छ नि । अब विगत सम्झेर केही हुनेवाला छैन, अब भविष्यको योजना पो बनाउन परो, बनाउन त बनाउने हो तर के बनाउने गरे व्यापार, अब वातावरण कस्तो हुने हो, व्यापारको लागि, विदेश पनि अब ठिक होला जस्तो छैन, देशाँ पनि राजनीति खिचातानीले रोजगारी सिर्जना होला जस्तो छैन, भए पनि हामीले पाइने होइन नेताका आफ्नै मान्छे राख्छन् आज सम्म इतिहासले देखाएको छ, सरकारी सेवामा जान अब बुढ्यौली लाग्यो र पढ्न सकिन्न । खेती पाती गरौँ भने वर्ष भरीलाई पुग्ने छैन, कि राजनीतिमा छिर्ने हो, फाइदा त त्यतै पो देख्छु त । हुन त कहाँ सबैले कमाएका छन् र मौका पाएकाले त हो नि । हुन त व्यापारबाट पनि त गरेकै छन् नि । मैले पनि गरेकै हो तर देखाउने गरी गर्न सकिएन, नराम्रो केही गर्न सकिएन, राम्रो गरेर बाँच्न मात्रै हो, जे होस इमान जोबन बेचिएको छैन, इज्जत छ, प्रतिष्ठा छ । फेरी भएको यो इज्जत र प्रतिष्ठाले खान लगाउन दिने भए पो । आखिर चाहिने पैसै हो भन्छ समाज । बिगार्न त हामीलाई यो समाजले पो बिगारेको छ, जसरी भए पनि पैसा कमाउनेलाई ठुलो देखे पछि त सबै पैसा कमाउन लाग्ने नै त भए नि ।

जे होस, अब धेरै सोचेर केही हुन्न, सबै भन्दा पहिले यो महामारीको अन्त विश्वबाट होओस्, त्यस पछि विश्व सहज स्थितिमा आए पछि, वातावरण सहज होला, त्यही समयमा आफैले गरेको र जानेको गर्ने हो, नजानेको चिज गर्नु हुँदैन, अरूले गरेको देखेर हुँदैन, कमाएर कहिल्यै सकिँदैन, कमाउनु भन्दा बचाउनु ठुलो रहेछ, बचाउन सकेको भए यसरी पसिना आउने गरी सोच्नु पर्दैनथ्यो, आवश्यक मात्र खर्च गर्ने, भविष्यमा यस्तै अझै के के पर्ने हुन थाहा छैन, प्रकृतिले समय समयमा दिएको चेतनालाई स्मरण गर्दै कृषि र पशुपालनलाई साथसाथै लैजाँदै, गाउँघरको विकास र विस्तारलाई अगाडि बढाउँदै, सरकारको लगानीलाई नतिजामुखी बनाउँदै, पैसामुखी समाजलाई आदर्श र नैतिकवान् बनाउँदै लैजाने हो भने जे गरे पनि हुन्छ । यहाँ त आफ्नो लागि भन्दा समाजको लागि जसरी पनि पैसा र सम्पत्ति कमाउन बाध्य पारिएर पो चिन्ता हो । नत्र त आदर्श समाज र देश नागरिक मैत्री बन्ने र श्रमको सम्मान हुने हो भने त यहाँ जे काम गरे पनि ज्यान पाल्न सकिन्छ । अब आफू त्यसै गर्ने हो, अरूको चिन्ताले हुनेवाला केही छैन, आफ्नै चिन्ता गर्ने र चिन्तन गर्ने हो, आदर्शका कुरा मात्र होइन आदर्श बन्ने प्रयास गरिन्छ, जे गरे पनि आफै नगरी केही हुने होइन, गर्न चाही ईमान्दार र अनुशासित भएर गर्‍यो भने जे गरे पनि हुन्छ । दुनियाँको चिन्ता गरेर केही हुनेवाला छैन । ए ! ४ पो बजेछ एक छिन भए पनि सुत्न त परो नि ।
धुर्कोट-२ पीपलधारा, गुल्मी ।

Tags :
प्रतिक्रिया दिनुहोस