भीमदत्तद्वारा छ हजार ७ सय बढी ज्यालादारी परिवारलाई राहत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भीमदत्तद्वारा छ हजार ७ सय बढी ज्यालादारी परिवारलाई राहत


२१ बैशाख २०७७, आइतबार


कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारद्वारा जारी गरिएको बन्दाबन्दीका कारण प्रत्यक्ष असर परेका कञ्चनपुरको भीमदत्त नगरपालिकाका छ हजार ७७१ दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका मजदुर र विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन नगरपालिकाले सङ्घीय सरकारको मापदण्डानुसार स्थानीय सबै वडाबाट विपन्न, असहाय र दैनिक ज्याला मजदुरी गर्ने परिवारको तथ्याङ्क सङ्कलन गरी सोही तथ्याङ्कको आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण गरेको हो । गत चैत अन्तिम सातादेखि राहत वितरण शुरु गरिएको हो । नगरप्रमुख सुरेन्द्र विष्टले भने, ‘राहत वितरणका लागि समिति गठन गरी काम अगाडि बढाइएको छ । हालसम्म नगरपालिकाका १९ वटै वडाका छ हजार ७७१ परिवारलाई राहत वितरण गरिएको छ ।’

सङ्घीय सरकारको मापदण्डानुसार सबै वडाबाट आएको सङ्ख्याका आधारमा राहत उपलब्ध गराइएको उल्लेख गर्दै नगरप्रमुख विष्टले राहत सम्बन्धित परिवारले पाए÷नपाएकोबारे अनुमगनसमेत भइरहेको बताए । नगरपालिका कार्यालयले विभिन्न क्षेत्रबाट सहयोगस्वरुप आएको र खरिद गरी लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराएको हो । सरकारले एकद्वार प्रणालीका आधारमा स्थानीय तहमार्फत राहत उपलब्ध गराउने मापदण्ड बनाएपछि विभिन्न सङ्घसंस्थाले नगरपालिकालाई खाद्यान्नलगायतका राहत सामग्री सहयोग गरेका छन् ।

कोरोना रोकथामका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा विभिन्न क्षेत्रबाट नगद सहयोगसमेत सङ्कलन गरिएको छ । नगरपालिकाले पाँचौँ नगरसभाबाट विपद् व्यवस्थापनका लागि कोष स्थापना गर्ने निर्णय गरेको थियो । उक्त कोषमा नगरपालिकाबाट रु ६१ लाख जम्मा गरिएको थियो । विभिन्न सङ्घसंस्था र व्यक्तिले रु १३ लाख रकम सो कोषमा जम्मा गरेका छन् ।

नगरपालिका–१८ सालघारी सुकुम्वासी टोलका जया दमाईले लकडाउनले समस्यामा परेको बेला नगरपालिकाले राहत उपलब्ध गराएपछि छाक टार्न सहज भएको बताए । सिलाइ पसलमा काम गरी दैनिक छाक टार्दै आएका दमाई लकडाउनले पसल बन्द भएपछि समस्यामा परेका थिए । ‘पसल बन्द भएपछि दैनिक गुजारा चलाउन निकै अप्ठ्यारो परेको थियो’, दमाईले भने, ‘त्यही बेलामा राहत पाएपछि साँझ बिहानको छाक टार्न सहज भएको छ ।’

नगरपालिकाबाट राहत पाउनेमा वडा नं १ मा ३१०, वडा नं २ मा १३५, वडा नं ३ मा ३२५, वडा नं ४ मा ७७६ जना रहेका छन् । यसैगरी वडा नं ५ मा ३७६, वडा नं. ६ मा ३२०, वडा नं ७ मा ४००, वडा नं ८ मा २००, वडा नं ९ मा ४९०, वडा नं १० मा ७०० ले राहत प्राप्त गरेका छन् ।

वडा नं ११ मा १८०, वडा नं १२ मा १७५, वडा नं १३ मा १४४, वडा नं १४ मा १३४, वडा नं १५ मा १४५, वडा नं १६ मा १००, वडा नं १७ मा १००, वडा नं १८ मा एक हजार ६०० र वडा नं १९ मा १६१ जनालाई राहत वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले जानकारी दिए । कञ्चनपुरका नौवटै स्थानीय तहमा भने २२ हजार ५६९ जनालाई राहत वितरण गरिएको छ । नेपाल सरकारले गत चैत ११ गतेदेखि कोरोना महामारी रोकथामका लागि बन्दाबन्दी घोषणा गरे पनि नगरपालिकाद्वारा भने त्यसको दुई दिनअघि नै लकडाउन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस