नेपाली पत्रकार भर्सेस पत्रकारिता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाली पत्रकार भर्सेस पत्रकारिता


२१ बैशाख २०७७, आइतबार


आज विश्व प्रेस स्वतन्त्रता दिवस, सबै नेपाली पत्रकारहरूमा शुभकामना दिन चाहन्छु । म नत पत्रकारिताको विद्यार्थी हुँ नत पत्रकार नै, तर कहिलेकाहीँ समसामयिक विषयमा कलम चलाउने र नेपाली मिडियामा प्रकाशन गर्ने भएकोले नेपाली पत्रकारहरूका लागि प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) मा दिइएको पत्रकार शब्दको परिभाषा अनुसार म पनि पत्रकार नै हु । तर म पत्रकार होइन, राज्यको सधैँ भलो चाहने राष्ट्रसेवक हुँ ।

राज्यको चौथो अंगको रूपमा रहेका असल पत्रकारहरूसँग माफी माग्दै म पत्रकारिता पेसा भित्र देखिएका व्यवहारिक विकृतिहरूलाई उजागर गर्न चाहन्छु । जहाँसम्म मैले बुझेको पत्रकारिता भनेको घटनाहरूको अनुसन्धान, विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण हो । जसमा कहाँ, के, कहिले, कसरी, किन, कसको लागि र परिणाम जस्ता कुराहरू लाई समेटेर घटना विवरण तयार पार्ने गरिन्छ । यो जानकारीमूलक, शिक्षामूलक, चेतनामूलक, निश्चित समूहप्रति लक्षित, समयसापेक्ष र समाचार संरचना तथा अङ्गले भरिपूर्ण एवं अर्थपूर्ण हुन्छ । यसका लागि विशेष सिप क्षमता र दक्षता भएका व्यक्तिहरूको जरुरत पर्दछ र तिनै व्यक्तिहरू पत्रकार हुन् ।

पत्रकारहरूलाई राज्यको चौथो अङ्गको रूपमा त्यसै परिभाषित गरिएको होइन । जोसेफ शुम्पेटरको भनाइअनुसार त यही मात्र एक यस्तो पेसा हो जसलाई शुद्धरुपमा बुद्धिजीवी भनेर चिन्न सकिन्छ । तर पछिल्लो समयमा नेपाली पत्रकारितामा विकृति देखिएको छ । नेपाली पुराना पत्रकार चक्रपाणि नेपालको भनाइलाई सापटी लिने हो भने यस पेसामा रहेका पत्रकारहरू सबै नेतामुखी भएका छन्, नेताका पछाडि लागेका छन् । राष्ट्रिय स्तरमा चिनिएका हरेक नेताका पछाडि एक-दुई पत्रकार त लागेकै हुन्छन् । कतिपय पत्रकारहरू त कुनै विचार नै नभएका अल्लारेको जमातजस्तो लाग्छ । कतिपयले जानी-जानी पितपत्रकारिता गरिरहेका छन् । यसरी पत्रकारले राजनीति गर्ने र आफ्नो पेसाको मर्यादालाई बिर्सने हो भने जोसेफ शुम्पेटरले गरेको परिभाषा गलत साबित हुन जान्छ ।

नेपालको संविधानको पालना गर्नु र मानवअधिकारको संरक्षण गर्नु प्रत्येक नेपालीको दायित्व हो यसमा पत्रकारहरू अछुतो रहन सक्दैनन् । सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले सूचना दिन नपर्ने विषय भनी उल्लेख गरेका विषयहरूमा निहुँ खोज्ने गरेको हामी कतिपय सूचना दिनुपर्ने व्यक्तिहरूले भोगेका छौँ । वर्तमान विषम परिस्थितिमा नेपाल सरकारले कोरोना लागेका व्यक्तिहरूको नाम सार्वजनिक नगर्ने भनी भनेको सन्दर्भमा हाम्रा पत्रकारहरू नाम सार्वजनिकिकरण गरे आफ्नो मिडिया लोकप्रिय हुने नाममा सार्वजनिकिकरण गरिरहेका छन् ।

मेरो एउटा तितो अनुभव छ, अनुसन्धानको सिलसिलामा कुनै निकायले पक्राउ गरेको व्यक्तिलाई सार्वजनिकिकरण नगर्दै कसैलाई पनि अडियो भिडियो तथा फोटोहरू खिच्न दिइँदैन । नेपालको संविधानको धारा १६ र १७ मा सम्मानपुर्वक बाच्न पाउने हक र वैयक्तिक स्वतन्त्रताको हकको व्यवस्था भएको र उक्त हकको साथै मानव अधिकारको हनन् हुनेगरी भएका जुनसुकै कामलाई नियन्त्रण गर्ने र गराउने जिम्मेवारी पत्रकारको हो । तर म अनुसन्धान गर्ने निकायमा कार्यरत रहँदा एक जना व्यक्तिलाई पक्राउ गरी वारदातस्थलमा नै गर्नुपर्ने कार्यहरू गर्दै थियौ, एक जना नाम चलेको राष्ट्रिय दैनिक पत्रिकाको पत्रकार महोदयले आफ्नो परिचयसमेत नदिई अर्को सर्वसाधारण व्यक्तिमार्फत काम गराई त्यसको फाइदा आफूले लिन खोज्ने काम गर्नुभयो र मैले तत्काल उक्त मौलिक हक विपरीत भएको कार्यलाई नगर्न र नगराउन भनी दिएको सुझावलाई अन्यथा ठानि भोलिपल्ट मेरो नामसमेत उल्लेख गरी समाचार प्रकाशित प्रकाशित गर्नुभयो ।

सूचना विभागले वितरण गर्दै आएको प्रेस कार्ड पनि पत्रकारिता गर्नेले भन्दा नगर्नेहरूको हातमा पुग्ने गरेको छ । कतिपय मानिसहरू विभिन्न राजनीतिक दलहरूको बन्दको कार्यक्रममा मोटरसाइकल चढ्न समेत पत्रकार हुने गरेका छन् । बन्दको समयमा यस किसिमका गैर पत्रकारहरूले प्रेसको दुरुपयोग गरी हिँड्नाले क्रियाशील पत्रकारहरूलाई अप्ठ्यारो हुने गरेको छ । सरकारी कार्यालयमा पुगेर कार्यालय प्रमुखलाई आफूलाई रकम नदिएमा समाचार प्रकाशन गरिदिने भनी प्रचारबाजी गर्दै बेलुकी होटेल रेस्टुरेन्टमा कार्यालय प्रमुखसँगै देखिन्छन् । एउटै पत्रकार व्यापारी, एनजिओ/आइएनजिओकर्मी, सरकारी वा अर्ध सरकारी निकायको प्रतिनिधि, शिक्षक लगायत पेसामा आबद्ध भएको हुन्छ । यति मात्र होइन की कुनै दलको प्रवक्ता समेत भएको हुन्छ । यस्ता अनगिन्ती विकृतिहरू पत्रकारिता क्षेत्रमा हुन थालेको छ । यस कारणले गर्दा आजभोलि पत्रकारहरूलाई आम नागरिकहरूले हेर्ने दृष्टिकोण छुट्टै बनाउन थालेका छन् । अनुगमन गर्ने निकाय मौन भएको फाइदा सबैले उठाई रहेका छन् ।

पत्रकारिताको लागि नेपालमा यति नै पढ्नु तथा अध्ययन गर्नुपर्दछ भन्ने कुनै मापदण्ड नभए पनि नेपाली पत्रकार विष्णु प्रसाद खनालका अनुसार आफू पाठक, दर्शक तथा श्रोता बनेर आफ्नो लेखाइ, बोलाइ र प्रसारणमा यो कुरा पुगेन भनेर गुनासो गर्ने स्थान हुनुहुँदैन, त्यही नै पत्रकारिताको लागि चाहिने पढाइ वा अध्ययन हो । अमेरिकी पत्रकारद्वय बिल कोभाच र टोम रोसेन्स्टिअलले आफ्नो पुस्तक ‘इलिमेन्टस् अफ जर्नलिजम’मा भनेका छन्- इन्टरनेटको उपस्थितिले गर्दा एक्काइसौँ शताब्दीमा जोसुकै पत्रकार बन्न सक्छ तर उसले सही अर्थमा सैद्धान्तिक आधारहरूलाई बुझेर व्यवहारमा उतार्ने गरी पत्रकारिता गरेको हुनुपर्दछ । तर यहाँ त्यसो भइरहेको छैन । प्रतिस्पर्धामा माथि आउन गलतै भए पनि जे बिक्छ, त्यसैलाई समाचार बनाउने र अरूको टाउको कुल्चेर आफू माथि पुग्ने नियत केही सञ्चार संस्थाहरूमा हाबी भएको जस्तो एउटा पाठक, दर्शक तथा श्रोताको हैसियतले महसुस हुन्छ । आवश्यक ज्ञानको अभाव तथा लहडका आधारमा गरिने पत्रकारिता कहिलेकाहीँ निहित स्वार्थ कारण समाचारका विषयवस्तुमा यर्थाथरुपमा प्रस्तुत नहुँदा यसले समग्र समाजमा नकारात्मक समस्या पैदा गरेको समेत पाइने गरेको छ । त्यस्तै, समाचारका विषयवस्तु भन्दा पनि व्यक्तिगत इगोको रूपमा सत्यपनभन्दा टाढा गएर भावनामा बगेर पूर्वाग्रही रूपमा प्रस्तुत भइदिँदा यसले जनमानसमा नकारात्मक धारणा पैदा गर्ने काम समेत गरेको पाइन्छ ।

कतिपय पत्रकार दोहोरो-तेहेरो भूमिकामा पनि छन् । पत्रकारको परिचय दिन रुचाउने त्यो व्यक्ति अर्को ठाउँमा शिक्षक, व्यापारी, राजनीतिकर्मीका रूपमा प्रस्तुत भइरहेको हुन्छ । प्रहरी, प्रशासन तथा व्यापारीसँग पनि त्यस्ताको अस्वाभाविक हिमचिम देखिन्छ । व्यावसायिक भन्दा अन्य सम्बन्ध हाबीले पनि पत्रकारिता प्रभावित भएको पाइन्छ । समाज पनि पत्रकार प्रति सशङ्कित हुने वातावरण बन्दैछ । आज नेपालका असल पत्रकारहरू ओझेलमा परेका छन्, युट्युबे, फेसबुके र कतिपय अनलाईनवाला पत्रकारले असल पत्रकारलाई पनि म पत्रकार हु भनी परिचय दिन लाजमर्दो वातावरण सिर्जना गराएका छन् । हेर्दै छु र बुझ्दै छु, यो लकडाउनको वेला कडाइ गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान १० बजेदेखि पुरै पसल बन्द गर्न गरेको आग्रहलाई यहाँका एक जना नाम चलेका पत्रकारले १० बजे पछि बाँकेमा कर्फ्यु भनी परिभाषित गरी आफ्नो फेसबुक वाल रङ्गाउनु भयो । के पत्रकारीताको मर्म यही हो ? म रनभुल्लमा परे ।

आज पत्रकारिता पेसामा देखिएका विकृतिहरूको माथिका उदाहरण प्रतिनिधि मात्रै हुन प्रविधिको बढ्दो प्रयोगले अझ धेरै नयाँ चुनौतीहरू देखा पर्न थालेका छन् । यस्ता चुनौतीहरूको सामना गर्दै आफूलाई कसरी सान्दर्भिक र प्रभावशाली बनाइ राख्ने, नयाँ परिस्थितिमा आफ्नो भूमिकाको कसरी पहिचान गर्ने जस्ता गम्भीर प्रश्नहरूप्रति निरन्तर जागरूक भइराखेमा मात्र यस पेसा वा व्यवसायले आफ्नो सामाजिक जिम्मेवारी पूरा गरिरहन सक्छ । नेपाली पत्रकारिताको सवालमा यस दिशातिर अहिलेसम्म भइरहेका प्रयासहरू पर्याप्त छन् भन्न सक्ने अवस्था छैन । यसमा नेपाल पत्रकार महासङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।

आजको यस विषम परिस्थितिमा सत्य तथ्य समाचार जनतामाझ ल्याई कोरोना महामारीबाट जोगाउन पनि पत्रकारको अहम् भूमिका छ । अन्त्यमा, जनताका पीडा, जनतालाई जनचेतना, धर्म संस्कृतिको जगेर्ना लगायतका विषयमा सम्बन्धित निकायसम्म जानकारी पुर्‍याउन पनि पत्रकारको निक्कै ठुलो भूमिका रहने भएकोले पत्रकारिता पेसालाई मर्यादित गराउन पत्रकारहरू, अनुगमन गर्ने निकायहरू र सम्पूर्ण सरोकारवालाको ध्यान गई राज्यको चौथो अंगको गरिमा र साख बचाइराख्न जरुरी छ । फेरी पनि नेपालका असल पत्रकारहरूसँग माफी माग्दै आज पर्न गएको विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस