नेकपा अध्यक्षद्वय ओली र दाहालद्वारा आत्मआलोचना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपा अध्यक्षद्वय ओली र दाहालद्वारा आत्मआलोचना


२० बैशाख २०७७, शनिबार


काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले सचिवालय बैठकमा आत्मआलोचना गरेका छन्।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली र दाहालसँगै जिम्मेवार अरू नेताले पनि आ-आफ्नो भूमिकाका लागि आत्मालोचना गरेको बताए।

‘पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रमा जे जति कमीकमजोरी भएका छन्, ती कमीकमजोरीहरूमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेतले आत्मआलोचना गर्नुभएको छ’, उनले भने, ‘त्यसैगरी आफ्नो हकको जिम्मेवारीका लागि अध्यक्ष प्रचण्ड र अरू कमरेडहरूले पनि त्यहीअनुसार आत्मआलोचित हुँदै अगाडि बढ्ने सङ्कल्प गर्नुभएको छ।’

श्रेष्ठले पार्टीलाई एकताबद्ध राख्ने, विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशन र नीतिनिर्देशनमा सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख समृद्धिको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णयसमेत गरेको बताए।

‘आन्तरिक जीवनमा देखा परेका समस्या र सङ्कटहरूलाई समाधान गर्ने गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने सङ्कल्प बैठकले गरेको छ’, उनले भने, ‘पार्टी एकतालाई कमजोर पार्ने र पार्टीलाई फुट उन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस