पन्ध्र लाखको तरकारी बाली असिनापानीले सखाप « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पन्ध्र लाखको तरकारी बाली असिनापानीले सखाप


१८ बैशाख २०७७, बिहिबार


कञ्चनपुर । बैंकबाट कर्जा लिइ व्यावसायिक तरकारी खेतीमा संलग्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रामसिंह डगौराको कृषि फार्ममा लगाइएको तरकारी बाली असिनापानीले नष्ट पारेको छ । जग्गा ‘लिज’मा लिइ तरकारी खेती गर्दै आएका डगौराको तरकारी फार्म पूरै दुई दिनअघि हावाहुरीसँगै आएको असिनापानीले तहसनहस पारिदिएको छ ।

फार्ममा लटरम्म फलेका टमाटर, तितेकरेला, खुर्सानी, सिमला मिर्च, बन्दागोभी, मुला, बोडी, मकैलगायत बाली पूरै नष्ट भएको छ । तरकारी बाली पूरै नष्ट भएपछि बैंकबाट लिएको रु आठ लाख कर्जाको रकमको किस्तार ब्याज बुझाउन उनलाई निकै समस्या भएको छ । रु आठ लाख बैंकबाट र एक लाख रकम डगौराले आफन्तबाट ब्याजमा लिइ तरकारी खेतीमा लगानी गरेका छन् ।

फार्ममा फलेको तरकारी कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण थोरै मात्रै बिक्री हुन पाएको थियो डगौराले भने, ‘रु १५ हजार जतिको तरकारी बिक्री गर्न भ्याएका थियौँ । बेच्नका लागि तयार भएको र हुँदै गरेको पूरै तरकारी फार्ममै थियो । त्यो सबै असिनापानीले नष्ट गरिदिएको छ ।’ असिनापानीले रु १५ लाख बढीको तरकारी बाली नष्ट गरेको डगौराको भनाइ छ ।

जैविक मल र जैविक विषादीको प्रयोग गरी तरकारी उत्पादन गर्दै आएकाले स्थानीय बजारमै राम्रो दाममा तरकारीले बजार लिन थालेको थियो उनले भने, ‘कामै नलाग्ने गरी पूरै तरकारी नष्ट भएपछि लगानीसमेत डुबेको छ । बैंकको किस्ता बुझाउनसमेत अरुसँग हात थाप्नुपर्ने अवस्था आएको छ । ऋणमाथि ऋणको बोझ थपिने अवस्था आएको छ ।’ आम्दानी गरी सहज जीवनयापन गर्न सकिएला भनेर कर्जा लिएर तरकारी खेतीमा हात हालियो । उनले भने, ‘हतासा र निराशा मात्रै हात लागेको छ ।’ स्वामित्व जग्गा बेचेर श्रीमतीको उपचारमै सिध्याए । आर्थिक अवस्था उकास्कनका लागि हिम्मत गरी जग्गा लिजमा लिएर तरकारी खेतीमा संलग्न भएपछि प्रकृतिले पनि साथ दिएन डगौराले निरास हुँदै बताए ।

श्रीकृष्ण माध्यमिक विद्यालयले सञ्चालन गरेको ३९० घण्टे बेमौसी तरकारी खेतीसम्बन्धी तालिम लिएर गत वर्षदेखि विद्यालयकै दुई बिघा जग्गा रु ३० हजार २०० वार्षिकरूपमा बुझाउने गरी लिजमा लिइ डगौरा मौसमी र बेमौसमी तरकारी खेतीमा संलग्न हुँदै आएका छन् । तरकारी खेतीसँगै डगौराको प्लाष्टिकको टनेल असिनापानी र हावाहुरीका कारण कामै नलाग्ने अवस्थामा पुगेको छ । टनेलमा राखिएको प्लाष्टि पूरै च्यातिएको छ भने टनेल ढलेको छ । टनेल बनाउन मात्रै डगौराले रु तीन लाख रकम खर्चेका थिए । कृषि जेटिए र आइएसी एजी पढ्ने विद्यार्थीका लागि डगौराको कृषिफार्म प्रयोगशालाका रुपमा रहेको छ ।

विद्यार्थीहरुले खेत तयार गर्नेदेखि तरकारीको बीउ तयार गर्ने, रोप्ने, जैविक मल बनाउने, जैविक विषादी बनाउने, रोग किरा व्यवस्थापन गर्नेलगायत व्यावसायिक तरकारी खेतीमा संलग्न डगौराबाट सिक्दै आएका छन् । फार्म नै तहसनहस भएपछि विद्यार्थीसमेत सिक्ने अवसरबाट बञ्चित भएका छन् । असिनापानीले तरकारी बालीमा नोक्सानी व्यहोर्न बाध्य भएका डगौराले स्थानीय, तह, प्रदेश र सङ्घीय सरकारसँग बीउबिजनको व्यवस्थासँगै क्षतिपूर्तिको व्यवस्था मिलाइदिन आग्रहसमेत गरेका छन् ।

श्रीकृष्ण माध्यमिक विद्यालयमा कृषि जेटिए र आइएससी एजी पढ्ने विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्नका लगि बनाइएको ग्रिन नेट, प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिकलगायतमा समेत हावाहुरी र असिनापानीले क्षति पुर्‍याएको छ । विद्यार्थीले रोपेको तरकारी खेतीसमेत पूरै नष्ट भएको छ । प्रयोगात्मक सामग्री, संरचना र तरकारी बालीमा गरी रु तीन लाख बढीको क्षति पुगेको विद्यालयका शिक्षक राजेन्द्र पाण्डेयले बताए । सोही क्षेत्रका दुई दर्जन बढी किसानले असिनापानीबाट निकै ठूलो क्षति व्यहोरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस