कोभिड-१९ ले अपाङ्गता भएका व्यक्तिमा पारेको प्रभाव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोभिड-१९ ले अपाङ्गता भएका व्यक्तिमा पारेको प्रभाव


१६ बैशाख २०७७, मंगलबार


मानवक्रम विकासको दौडानमा विभिन्न प्रकारका विपत्तिले पछ्याउँदै आइरहेको छ । मानिस लगायत अन्य जीवजन्तुको अस्तित्व रहेको यस पृथ्वीमा कहिले स्वयम प्रकृतिले त कहिले मानवीय क्रियाकलापले गर्दा विविध प्रकारका विनाशकारी प्रकोपहरू आइरहेको कुरा सर्वविदितै छ । यस्ता प्रकोपहरूले लाखौँ र करोडौँको सङ्ख्यामा मानव जीवनमा क्षति पुराएको कुरा हाम्रा सामु इतिहासको रूपमा रहेको छ । यसै गरी हालसालै विश्व जनसमुदाय कोभिड -१९ को विश्वव्यापी महामारिसंग लडिरहेको छ । चीनको हुवेइ प्रान्तको उहान सहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणले अहिले विश्वका अधिकांश मुलुकमा महामारीको रूप धारण गरिसकेको छ । हाल यो आलेख तयार पार्दा सम्म करिब २९ लाख भन्दा धेरै व्यक्ति सङ्क्रमित भइसकेका छन् भने करिब दुई लाख मानिसको मृत्यु भइसकेको छ । कोभिड -१९ भाइरल सङ्क्रमण भएको तथा नयाँ रोग भएकोले यसको विशिष्ट औषधि हालसम्म पत्ता लाग्न सकेको छैन ।

कोरोना भाइरसबाट सुरक्षित हुनका निम्ति नेपाल लगायत विश्वका धेरै देशहरू अहिले लकडाउनको अवस्थामा रहेका छन् । लकडाउन लम्बिँदै जाँदा मानिसहरूमा शारीरिक र मानसिक समस्या तथा मनोसामाजिक त्रासको जोखिम उच्च रहेको छ । यसै क्रममा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने किसान, श्रमिक तथा मजदुर वर्गहरू सँगसँगै अपाङ्गता भएका व्यक्तिहरू बढी मारमा पर्न सक्दछन् ।

अपाङ्गता आफैमा समस्या होइन यो कित आनुवंशिक हुने गर्दछ अथवा दुर्घटना तथा दीर्घकालीन रोगको कारणले गर्दा हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठन र विश्व बैङ्कले सन २०११मा प्रकाशित गरेको अपाङ्गता सम्बन्धी विश्व प्रतिवेदन अनुसार विश्वको कुल जनसङ्ख्याको १५ प्रतिशत मानिसहरू कुनै न कुनै रूपमा अपाङ्गताको सिकार बनिरहेका छन् । युएनडिपीका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको कुल जनसङ्ख्याको ८० प्रतिशत विकासोन्मुख देशहरूमा रहेका छन् । नेपालको सन्धर्वमा भने विश्व स्वास्थ्य सङ्गठन र विश्व बैङ्कका अनुसार कुल जनसङ्ख्याको करिब ३० लाखको हाराहारीमा अपाङ्गता भएका व्यक्ति रहेका छन् । तर नेपालमा अपाङ्गतामा मात्र केन्द्रित रहेर कुनै विस्तृत अध्ययन गरिएको पाइँदैन । सरकारी तथ्याङ्कलाई हेर्दा २०६८ को जनगणना अनुसारकुल जनसङ्ख्याको झन्डै २ प्रतिशत मानिसहरूमा मात्र अपाङ्गता रहेको देखिन्छ। विश्वकै सर्वाधिक विकसित मानिएको अमेरिकामा समेत कुल जनसङ्ख्याको १९ प्रतिशत नागरिकहरू अपाङ्गताको अवस्थामा छन् भने नेपालमा रहेको सरकारी तथ्याङ्क अपत्यारिलो विषय वनेको देखिन्छ । यसका कारणहरूमा घरपरिवारमा अपाङ्गता लुकाउने,जनचेतनाको अभाव,अपाङ्गताको वर्गीकरणमा सीमितता तथा प्राविधिक जटिलताहरू हुन सक्छन्।

यस्ता धेरै समस्याका वावजुत अहिलेको कोभिड- १९ को महामारीले गर्दा अपाङ्गता भएका व्यक्तिहरूले हरेक पाइला पाइलामा कठिनाइ झेल्नुपरेको छ । अपाङ्गता भएका व्यक्तिहरू मध्ये अधिकांश आफन्त वा अन्य सहयोगीको सहारामा बाच्नुपर्ने र दैनिकी टार्न अप्ठ्यारो भएको परिस्थिति र विवशता हाम्रो आँखा सामू छर्लङ्ग छ । अपाङ्गता भएका व्यक्तिको सामान्य दैनिकि समेत कष्टकर रहेको अवस्थामा कोभिड-१९ को विश्वव्यापी माहामारीले गर्दा सिर्जित समस्याहरूलाई कसरी निराकरण गर्ने भन्ने सवालविश्वसामु टड्कारो रूपमा रहेको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन। मनोसामाजिक अपाङ्गता, बहु अपाङ्गता, हेमोफिलिया, स्पाइनल कर्ड इन्जुरी जस्ता गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरूको अवस्था झन् दयनीय देखिन्छ । देख्न र सुन्न नसक्ने किसिमका अपाङ्गता भएका व्यक्तिहरूले अहिले माहामारिको रूप लिएको यस कोरोना भाइरस सङ्क्रमणको बारेमा समेत जानकारी पाउन असमर्थ छन् । साङ्केतिक भाषाको समस्याले गर्दा उनीहरूका लागि अपाङ्गमैत्रि सूचना प्रवाह नहुँदा उनीहरूमा कोरोनाको ज्ञान हुन सकेको छैन ।

घरेलु हिंसामा पर्दै आएका कतिपय अपाङ्गता भएका व्यक्तिहरू यो लकडाउनको समयमा झनै अपहेलित भइरहेका हुन सक्छन् । पर्याप्त सरसफाइ नहुँदा र आवश्यक शारीरिक अभ्यास गर्नका लागि सहयोग नपाउँदा अन्य रोगले समेत आक्रमण गर्ने सम्भावना देखिन्छ । रोगसँग लडिरहेका अपाङ्गता भएकाहरूका लागि अत्यावश्यक औषधिको अभाव भइरहेको छ । दैनिक हात जोड्दै दुई छाक टार्न उनीहरूलाई खाद्यान्नको समेत अभाव देखिन थालेको छ ।हाल सञ्चालनमा रहेका शारीरिक लगायतका पुनर्स्थापना केन्द्रहरू तथा बजारमा अपाङ्ग स्वार्थ खटिएका संस्थाहरू बन्दाबन्दिका कारण निष्क्रिय हुन बाध्य भएका छन् । अपाङ्ग व्यवस्थापन क्षेत्रका सहयोगी निकायहरूले लकडाउनको कारणले गर्दा सहयोग गर्न पाएका छैनन् ।

हालसम्म अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका आवश्यकता बारे पर्याप्त तथ्याङ्क सङ्कलन गर्न नसक्दा विशेष संरक्षण र सेवाका लागि सरोकारवालाले अपाङ्गमैत्रि राहत प्याकेज ल्याउन सकेका छैनन् ।

मुलुकको यस विषम परिस्थितिबाट अपाङ्गता भएका व्यक्तिहरूमा पर्न गएको असरहरूलाई न्यूनीकरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको जनजीवनमा सहजता प्रदान गर्नका लागि राज्य र राज्य बाहिरका हरेक निकायमा समन्वय गरी राहत पाउने सहज वातावरण सिर्जना गर्ने पहलकदमी हुन एकदम अपरिहार्य रहेको छ । हामीले सामाजिक उत्तरदायित्व जति कुशलतापूर्वक निर्वाह गर्नेछौ त्यसै अनुरूप उनीहरूको जीवनशैली सहज हुनेछ । विशेष गरी उनीहरूका लागि अत्यावश्यक पर्ने औषधि, खाद्यान्न तथा अन्य सामाग्री घरघरमै पुर्‍याउनुपर्ने व्यवस्था गरिनुपर्छ । सङ्घ, प्रदेश र स्थानीय तह तथा विभिन्न सामाजिक अभियानमूलक संघसस्थाले प्रत्यक्ष रूपमा उनीहरूको समस्या बुझी समाधान गर्नका लागि ठोस पहल गर्नुपर्ने हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूमा कुनै पनि सूचना बाट विमुख हुने अवस्था सिर्जना हुनु हुँदैन । सरकारका तर्फबाट घोषित राहतका प्याकेजहरू अपाङ्गता भएका व्यक्तिहरूको हात हातमा पनि पुग्ने वातावरण सिर्जना गरिनुपर्दछ ।

सम्पूर्ण विश्वकै अर्थव्यवस्था, सामाजिक जीवनशैली तथा राजनीतिक परिवेशलाई समेत प्रभाव पारेको यस कोभिड-१९ का विरुद्ध सबै विश्व समुदायले ऐक्यबद्धता कायम गरी अगाडी बढ्नु पर्दछ । अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई साधारण जीवनशैलीमा फर्काउनको लागि व्यक्ति, राज्य र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू लगायत सबै निकायहरू, एकपक्षीय, बहुपक्षीय विकास साझेदार, दाताहरू बाट विशेष सहयोग हुन जरुरी छ ।

लेखक कुस्मा नगरपालिका, पर्वतकी महिला विकास निरीक्षक हुन्

Tags :
प्रतिक्रिया दिनुहोस