कोभिड-१९ ले सृजना गरेको सार्वजनिक निकायको महत्त्व « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोभिड-१९ ले सृजना गरेको सार्वजनिक निकायको महत्त्व


१५ बैशाख २०७७, सोमबार


विश्व जगत् करिब ३ महिना देखि अदृश्य शत्रु कोरोना भाइरस(कोभिड-१९) महामारीबाट गुज्रिरहेको छ । सन् २०१९ डिसेम्बरको अन्तिम हप्तामा चीनको वुहानमा पहिलो पटक देखा परेको यो भाइरस ३ महिनाको अन्तरालमा युरोप, उत्तर अमेरिका, हुँदै दक्षिण एसियाली क्षेत्र सहित पुरै विश्वलाई नै प्रभावित पारिसकेको छ ।

हालसम्म ३० लाख भन्दा बढी मानिस यसबाट प्रत्यक्ष प्रभावित भएका र करिब दुई लाख भन्दा हजार बढिले आफ्नो ज्यान गुमाई सकेको छन् । सारा विश्व एक अर्कोसँग अलग भएर बन्दा बन्दीको अवस्थामा छन् र यो कहिलेसम्म कायम रहने हो, अहिले नै अनुमान लगाउनु हतार हुने देखिन्छ ।

सारा विश्व परिदृश्यबाट नेपाल पनि अछुतो रहन सकेको छैन तर पनि हालसम्मलाई सन्तोष नै मान्नुपर्छ । करिब ५१ हजार बढिको टेस्ट गर्दा मात्र ५२ जानको पोजेटिभ नतिजा आएको छ । साथै १६ जनाले आफ्नो स्वास्थ्य लाभ प्राप्त गरी घर फर्की सकेका छन् भने हालसम्म मानवीय क्षतिको समाचार सुन्नु परेको छैन । जस र जहाँबाट यसको रोकथामका लागि प्रयासहरू भएका छन् तिनहरु यी सुखद समाचारका पात्र अवश्य हुन् ।

कोभिड-१९ को प्रारम्भिक केश नेपालमा पहिलो पटक २०७६ फागुन १० गते सरकारले नै पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गर्‍यो र सोही दिनदेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने, भारतसँगको खुला सिमानामा अत्यावश्यक बस्तुहरूबाहेकको आवतजावत बन्द गर्ने तथा आन्तरिक आवतजावतमा समेत काडाई गर्दै देशलाई पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भयो जुन आज सम्म पनि कायमै छ । यो निर्णय समेतले नेपालमा कोभिड १९ को सङ्क्रमण फैलन नपाएको बुझ्न सकिन्छ ।

नेपालमा कोरोनाको संक्रमण सँगै केही नयाँ कुरा पनि देख्न पाइयो । संक्रमणको जानकारी पाउना साथ नेपालका नाम चलेका निजी अस्पतालहरूले साधारण रुघा खोकीका बिरामी समेत परीक्षण गर्न अस्वीकार गरे सहज अवस्थामा बिरामी निको भएपछिसमेत हप्तौँ दिनसम्म आम्दानीको लागि अस्पतालबाट डिस्चार्ज गर्न आनाकानी गर्ने निजी अस्पतालहरू सामाजिक उत्तरदायित्व र जिम्मेवारीबाट भाग्ने कार्य गरे जुन मुलुक विपद्मा परेको अवस्थामा गर्नै नहुने कार्य हो ।

सामान्य अवस्थामा मात्र उपचार गर्छु भन्ने भए यसको के औचित्य ? त्यस्तै यही सङ्कटको अवस्थामा कतिपय निजी व्यवसायीहरूले कालो बजारी तथा कृतिम अभाव सृजना गरी कमाऊ धन्दामा संलग्न भएका समाचारहरू पनि पढ्न पाइयो जुन सरासर देश र समाजप्रतिको अपराध हो । तर ठिक यही समयमा पहिला सरकारी अस्पतालको नाम लिँदासमेत टाढा भाग्ने नेपाली समाज टेकु अस्पतालबाट कति बेला के समाचार आउँछ भनेर कुर्ने अवस्था सृजना भएको छ ।

सरकारी सेवा प्रवाह भन्नासाथ नकारात्मक सोच राख्ने तथा धेरै पैसा खर्च गरेर सुविधा सम्पन्न तारे अस्पतालमा झुम्मिने ठुला बडालेसमेत टेकु अस्पताल, पाटन अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पतालमा बेड खोज्नु पर्ने अवस्था छ ।

अस्पतालको छतमै हेलिप्याड भएका र सुविधा सम्पन्न अस्पताल अहिले सुनसान भएका छन् भने सरकारी अस्पतालहरू दिन रात नभनी सेवामा खटिइरहेका छन् । त्यस्तै गरी महिनामा लाखौँ रुपियाँ लिएर उपचार गर्ने डाक्टर भन्दा पनि नेपाल सरकारको न्यून पारिश्रमिक स्वास्थ्यकर्मीहरु नै कोभिड–१९ विरुद्धको लडाइमा अग्रमोर्चामा खटिएका छन् जसको कारण नै हामीहरू अहिले आनन्द सँग घरमा बस्ने वातावरणको सृजना भएको छ । यो सङ्कटको समय हो र प्रायजसो सङ्कट सँगै नै धेरै कुराहरू सिक्ने र सुधार गर्ने अवसर समेत प्राप्त हुने गर्दछ ।

अहिले नेपालमा पनि यो सङ्कट सँगै नेपालको सार्वजनिक स्वास्थ्य सेवामा सुधार ल्याउने स्वर्णिम अवसर हो । स्वास्थ्य सेवामा पुनर्संरचना गर्ने उत्तम समय हो । र सरकारी स्वास्थ्य प्रणाली भन्नासाथ आउने नकारात्मक सोच बदल्ने अवसर हो । यो सङ्कटको अवस्थाले धेरै कुरा सिकाएको छ, त्यसैले यो संकटबाट मुक्ति पाउना साथ सरकारले प्रत्येक प्रदेशमा सुविधा सम्पन्न प्रदेश मेडिकल कलेज तथा प्रदेश अस्पतालको स्थापनाको सुरुवात गर्ने, अञ्चल अस्पताल र जिल्ला अस्पतालहरूको स्तरोन्नति गर्ने तथा आधुनिक स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने तथा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूको मनोबल उच्च गर्न सकेमा लाखौँ रकम खर्च गरेर विदेशमा वा निजी अस्पतालमा धाउनु पर्ने अवस्था अन्त्य गर्न सकिने देखिन्छ र नागरिकहरूको सुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न पाउने अवस्थाको सृजना भई सार्वजनिक स्वास्थ्यप्रति नागरिक विश्वास बढ्ने देखिन्छ । जसको विश्वसनीयता सरकार प्रमुखको मिर्गौला प्रत्यारोपण जस्तो संवेदनशील उपचार सफल रूपमा गरी सरकारी अस्पतालले देखाई सकेको छन् ।

मुलुकमा सङ्घीय व्यवस्था सँगै स्थापना भएका प्रदेश सरकार तथा स्थानीय तहहरूले विपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । कोभिड–१९ विरुद्धको लडाइमा सङ्क्रमितको पहिचानमा यी निकायहरूको भूमिका अविस्मरणीय छ, जुन सङ्घीयता कार्यान्वयनको राम्रो अवसर पनि हो । त्यस्तै अन्य सार्वजनिक निकायहरुलेसमेत सङ्कटको अवस्थामा राम्रो भूमिका निर्वाह गर्न सक्दछन् भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन् ।

नेपाल वायुसेवा निगमले विभिन्न देशबाट स्वास्थ्य सामग्री आयात गर्नेदेखि अलपत्र परेका नागरिकहरूको स्वदेश फिर्ती तथा विभिन्न मुलुकका नागरिकलाई उद्धार गर्ने सम्मका कार्यमा खटिई रहेको छ । जुन कार्य सह्रानीय छ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्ति, नेपाल टेलिकमको सहुलियत, राष्ट्रिय वाणिज्य बैकको सेवा प्रदान, नेपाल विधुत प्राधिकरणको निर्बाध विधुत आपूर्ति, नेपाल खाद्य कम्पनीले खाद्यान्नलगायत सार्वजनिक निकायले देखाएको तदारुकताले नेपालको सार्वजनिक निकायहरू पनि निजी र सम्पन्न मुलुकका निकायले प्रदान गर्ने सेवा प्रदान गर्न सक्षम छन् र त्यस्ता निकायहरूको अझै पनि आवश्यकता छ भन्ने कुरालाई प्रमाणित गरेको छ ।

यो सङ्कटको अवस्थासँगै प्राप्त सार्वजनिक निकायहरूको सुधार र विस्तार गर्ने अवसरलाई उपयोग गर्न सार्वजनिक निकायमा हुने भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्ती, कमजोर व्यवस्थापनलाई सुधार गर्न सकेमा नेपालको सार्वजनिक निकायहरू पनि विश्व सामु उदाहरणीय बन्न सक्ने राम्रो अवसर कोभिड–१९ ले सृजना गरेको पाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस