कोरोना सङ्क्रमणमा परीक्षा र पठनपाठनको व्यवस्थापन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना सङ्क्रमणमा परीक्षा र पठनपाठनको व्यवस्थापन


१५ बैशाख २०७७, सोमबार


पृष्ठभूमि
सन् २०१९ को अन्तिमतिर चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमण दिनानुदिन बढिरहेको छ । नेपालमा समेत यसको सङ्क्रमण देखिएको छ र हालसम्म ३१ जना नेपाली नेपाल भित्र सङ्क्रमित भएकोमा २ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् भने बाँकी २९ जनाको उपचार चलिरहेको छ ।

नेपालमा कोरोनाको प्रारम्भिक सङ्क्रमण देखिन बित्तिकै नेपाल सरकारले प्रभावकारी कदम चालेको थियो । जसमा गत चैत्र ६ गतेदेखि नै पूर्व निर्धारित एसइई परीक्षा अन्तिम चरणमा आएर स्थगन गरियो । कक्षा ११-१२ का परीक्षाहरू र विश्वविद्यालयका परीक्षाहरू पनि स्थगित गरिए । गत चैत्र ११ गतेदेखि नेपालभर लकडाउन जारी गरिए पश्चात् गत शैक्षिक सत्र २०७६ का वार्षिक परीक्षाहरू कसरी र कहिले लिने विषयमा अनिश्चय देखिएको छ भने नयाँ शैक्षिक सत्र २०७७ पनि प्रारम्भ भइसकेकाले शैक्षिक क्यालेन्डरको निर्माण र कार्यान्वयन के कसरी गर्ने विषय अन्योलमा रहन पुगेको छ ।

कोरोनाको सङ्क्रमण झन् झन् बढ्दो क्रममा रहनु र यसको प्रभाव उत्तरतिरको छिमेकी मुलुक चीनमा कम हुँदै गएको देखिएता पनि दक्षिणतर्फको छिमेकी भारतमा सङ्क्रमण झन् झन् जटिल हुँदै गएको र नेपालमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको कारण लकडाउनको अवस्था लम्बिँदै जाने देखिन्छ । यस अवस्थाबाट लामो समयसम्म नयाँ शैक्षिक सत्रको पठनपाठन आरम्भ नै गर्न नसकिने अवस्था निम्ति सकेको छ ।

अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षा सुसम्पन्न गरी नतिजा प्रकाशन नगरेसम्म कसरी नयाँ शैक्षिक सत्रको आरम्भ गर्ने विषयले शिक्षक, विद्यार्थी, अभिभावक र शैक्षिक प्रशासनमा द्विविधा सिर्जना भएको छ । यसै कारण पनि विद्यालय स्तरका परीक्षा र प्रमाणिक परीक्षाको व्यवस्थापन कसरी गर्ने विषयमा ठोस निर्णय लिएर अघि बढ्न विलम्ब गर्न हुँदैन । विद्यार्थीको वार्षिक नतिजाले मात्र विद्यार्थीलाई उपल्लो तह अर्थात् कक्षाको पठनपाठनमा जोड्ने भएकाले यसको छिनोफानो चाँडो गर्नु पर्दछ । जहाँसम्म जीवन र स्वास्थ्य माथि जोखिम रहेको हुँदा परीक्षा र पठनपाठनका विषय गौण हुन् भन्ने सवाल मनासिब होइन किनकि यो सङ्क्रमणको अवधिले विद्यार्थीको पठनपाठन र परीक्षा रोक्न सक्ला तर उनीहरूको उमेर र समयलाई रोकी राख्न सक्दैन । यस कारण शैक्षिक प्रशासन र व्यवस्थापन मौन भएर बस्नु हुँदैन । यसो भन्नुको अर्थ कोरोनाको प्रभावसँग सम्झौता गर्नु पर्दछ भन्ने होइन । कोरोनाको सङ्क्रमणको मूल्यमा वृद्धि नहुने गरी आकस्मिक तथा नवप्रर्वतनात्मक व्यवस्थापन सीप र शैलीको प्रयोग संवेदनशील ढङ्गले गर्न ढिला गर्नु हुँदैन ।

परीक्षाको व्यवस्थापन कसरी गर्ने ?
यो विश्वव्यापी सङ्कटको समय हो । सङ्कटको समयमा सामान्य अवस्थाका नीति, योजना, कार्यक्रम, बजेट, निर्णय तथा कार्यशैली र कार्य सम्पादन क्षमता कामयाबी हुन सक्दैनन् । सङ्कटको समाधान पूर्व क्रियाशील सोच, चिन्तन र कार्यशैलीबाट मात्र गर्न सकिने भएकाले विगतको कार्य सीमा र कार्यशैलीबाट माथि उठेर सङ्कटको सम्बोधन गर्न सकेमा मात्र सङ्कट व्यवस्थापनमा टेवा पुग्दछ । यसैले विशेष कारणवश अन्तिम समयमा स्थगन गरिएका परीक्षाहरू विशेष अवस्था पूर्वको धरातलमा टेकेर सञ्चालन हुन सक्ने देखिँदैनन् ।

सङ्कटको यस समयमा स्थगित परीक्षा सञ्चालनका ३ वटा विकल्प प्रयोग गर्न सकिन्छ । पहिलो विकल्पमा सघन रूपमा स्वास्थ्य परीक्षण गरी कोरोना सङ्क्रमणको यर्थाथ अवस्था पहिचान गर्ने । सङ्क्रमित व्यक्तिलाई पहिचान गरेर अलग गरी सकेपछि सामाजिक दुरी कायम गरेर निर्धारित परीक्षा केन्द्रहरूमा सङ्क्रमण पूर्वकै तयारी अनुसार परीक्षा सञ्चालन गर्ने । यो जोखिममुक्त विकल्प हुन सक्दैन किनकि सङ्क्रमित व्यक्तिहरूको पूर्ण पहिचान स्वास्थ्य परीक्षणका लागि सरकारसँग मौजुदा वर्तमान क्षमताबाट अविलम्ब गर्न कठिन छ । दोस्रो विकल्प सङ्क्रमण मुक्त होम सेन्टर, सङ्क्रमणमुक्त परीक्षार्थी र परीक्षा व्यवस्थापन कायम गरी आआफ्नो होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने हुनसक्छ । यो पहिलो विकल्प भन्दा केही सुरक्षित देखिए तापनि सङ्क्रमण मुक्त अवस्था घोषणा गर्ने सामर्थ्य स्थानीय सरकारहरूले हालसम्म देखाउन नसकेकाले यो पनि त्यति व्यवहारिक रूपमा प्रयोग गर्न सकिने देखिँदैन ।

तेस्रो विकल्पमा सम्बन्धित विषय शिक्षकलाई नै मूल्याङ्कनको जिम्मा दिने । यस विकल्प अनुसार शिक्षकले विद्यार्थीको विगतको कक्षा कार्य र विद्यार्थी सम्बद्ध विभिन्न अभिलेखका आधारमा विद्यार्थीको सिकाइ उपलब्धिको ग्रेड निर्धारण गरी सम्बन्धित स्थानीय शिक्षा शाखामा पेस गर्ने व्यवस्था गर्ने, शिक्षा शाखाहरूले स्थानीय तहको नतिजा एकीकरण गरी शिक्षा विकास तथा समन्वय इकाईमा पेस गर्ने र शिक्षा विकास तथा समन्वय इकाईले एसइईका हकमा शिक्षा विकास निर्देशनालय र कक्षा १२ को हकमा राष्ट्रिय परीक्षा बोर्डका प्रदेश स्तरीय कार्यालय मार्फत राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीमा प्रेषित गरी नतिजा प्रकाशन गर्ने व्यवस्था गर्दा उपयुक्त हुने देखिन्छ । तेस्रो विकल्प पहिला दुई ओटै विकल्प भन्दा कम जोखिमपूर्ण देखिन्छ । यसबाट शिक्षक विद्यार्थीको सिकाइ मूल्याङ्कनमा जिम्मेवार मात्र नभई मूल्याङ्कनको नतिजाको पृष्ठपोषणका आधारमा विद्यार्थीको सिकाइ सुधारमा जबाफदेही बन्ने प्रणालीको विकासमा टेवा पुग्न सक्दछ । यस विकल्पको प्रयोग गर्दा अन्तर्राष्ट्रिय समकक्षता र विद्यार्थीको प्रमाणिकतामा केही प्रश्न उठ्न सक्ला यद्यपि पिरस्थितप्रति अन्तर्राष्ट्रिय जगत् समेत जानकार रहेको र यही विषम परिस्थितिको निरन्तरता लामो समयसम्म रहन गएमा अन्य राष्ट्रहरू समेत ढिलो चाँडो यस्तै विशेष निर्णय लिन बाध्य हुन सक्ने देखिएकाले खासै सन्देह प्रकट हुन सक्ने देखिँदैन । क्याम्रिज विश्व विद्यालय समेतले यस्तै प्रकारको परिस्थितिजन्य निर्णय लिइसकेकोले यस प्रकारले गरिने निर्णयप्रति सबै राष्ट्रहरूमा समवुझाइ विकास गर्न सकिने अवसर समेत देखिन्छ ।

नीतिगत ढङ्गले कक्षा १० को परीक्षा प्रदेश स्तरमा,कक्षा ११ को परीक्षा विद्यालय स्तरमा र कक्षा १२ को बोर्ड परीक्षा हुने सन्दर्भमा विगतमा लगभग सहमति भइसकेको अवस्थामा यस सम्बन्धमा विशेष निर्णय गर्नु पर्दछ । अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याएर भए पनि कानुनी आधार सिर्जना गर्न उपयुक्त हुन्छ । यतिखेर एसइई परीक्षा प्रदेश स्तरमा हुने व्यवस्था भएको भए यो विषय यति धेरै टाउको दुखाइको विषय हुने थिएन । प्रत्येक प्रदेशले आफ्नो अनुकूलतामा परीक्षा व्यवस्थापनको तयारी गर्न सक्दथे । त्यस्तै कक्षा ११ को परीक्षा विद्यालय स्तरमै हुने व्यवस्था भएको भए कक्षा १–९ सम्मका परीक्षा सम्पन्न भए जस्तै गरी यो परीक्षा पनि सम्पन्न भएर जान्थ्यो । यतिखेर सङ्घीय शिक्षा ऐन जारी भएको हुन्थ्यो भने यी समस्या सम्बोधन भएर जान सक्दथे । रात रहे अग्राख पलाउँछ भने झैँ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको अकर्मण्यताले समेत अहिलेको परिस्थितिलाई थप जटिल बनाउन पुगेको देखिन्छ ।
विद्यार्थीको सिकाइलाई कसरी निरन्तरता दिने

कोरोनाको बढ्दो सङ्क्रमणले विद्यार्थीहरू त्रसित अवस्थामा छन् । यसको सङ्क्रमण बढ्यो भने के होला भनेर उनीहरू चिन्तित पनि देखिन्छन् । उनीहरू पठनपाठन र परीक्षाको भन्दा यस जटिल अवस्थामा आफ्नो स्वास्थ्य अवस्था के हुने हो भन्ने सन्त्रासमा छन् । परिस्थितिले सिर्जना गरेको यो त्रासले उनीहरू परीक्षाको तयारी र अध्ययनमा केन्द्रित हुन सकेका छैनन् । यसको पछाडिको मूल कारण अनुकूलन शिक्षाको अभाव नै हो । परिस्थितिसँग मुकाविल गर्दै आफू अनुकुलित हुन सक्ने शिक्षा दिन नसकिएकै कारण हरेक फरक परिस्थितिसँग सामना गर्न सक्ने सामर्थ्य विद्यार्थीहरूमा विकास हुन सकेको छैन । यस परिस्थितिले शिक्षा जीवनको तयारी नभई स्वयंमा जीवन हो भन्ने शिक्षाविद् जोन डिवेको भनाइ हाम्रो शिक्षा प्रणालीको सन्दर्भमा निरर्थक साबित भएन र ? । यसरी जीवन जिउन आवश्यक सामर्थ्यको विकास गर्न भनेर लिइने शिक्षा जीवनका लागी कामयाबी हुन सकेन भने शिक्षा लिनु निरर्थक सिवाय अरू केही होला र ?

लकडाउन अवधिमा अभिभावक तनावमा देखिन्छन् । सबै भन्दा बढी तनाव उनीहरूका छोराछोरीहरूले नै दिइरहेका छन् । जति पटक पढ–पढ भन्दा पनि पढ्न नबस्ने र उपद्रो गर्ने बालबालिकाको कारण उनीहरूको ज्वरो निक्लिएको छ । सामान्य व्यवहारिक कार्यहरूमा समेत छोराछोरीको अनभिज्ञता देख्दा अभिभावक जिल खाएका छन् । नत भान्साको काम आउने, नत सरसफाइ राम्ररी गर्न सक्ने, नत खेती किसानीको काम गर्न सक्ने, नत मन लाएर पढिदिने । यी केही काम पनि छोराछोरीबाट हुन नसके पछि वा आमा दिक्क भएका होलान् घरमा यतिखेर । यसको पछाडिको कारण हामी अभिभावक र विद्यालयमा दिइने शिक्षा तथा शिक्षक दुवैको हो ।

अभिभावकले बच्चा पढोस् मात्र भन्ने चाहना राख्दा बच्चाले अरू घरका व्यवहारिक कुरा नसिकेको हो भने स्कुलमा दिइने शिक्षामा जीवनोपयोगी र व्यवहारिक विषयवस्तुको समायोजन नहुँदा विद्यार्थीहरूमा जीवनोपयोगी सीप र व्यवहारिक ज्ञानको कमी हुँदै गएको हो । अर्कोतिर विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्न नसक्दा विद्यार्थीहरू स्वअध्ययन गर्न मन नगर्ने भए । पढ पढ भन्ने शिक्षक र पढ पढ भन्ने अभिभावकको कारण बालबालिकाहरूमा पठन संस्कृति हरायो । जसले गर्दा विद्यार्थी स्व:अध्ययन गर्दै नगर्ने भए । होमवर्कले थिच्दा पनि बालबालिकाको पठनवोधमा कमी आयो ।

उपरोक्त सन्दर्भमा पाठ्यक्रम, पठनपाठनको शैली र परीक्षा प्रणालीमा मूलभूत कमजोरी देखिएको अनुभूत हुन गएको छ । यी तीनै पक्षमा परिवर्तन ल्याउन सकिने आधार यस विषम परिस्थितिले प्रदान गरेको छ । कक्षाकोठाको आमन्ने सामान्ने पठनपाठनका साथै अनलाइन पठनपाठनको पहुँच वृहत् रूपमा विस्तार गर्न सकेको भए आज के गर्ने भनेर छटपटिनु पर्ने अवस्था आउने थिएन । पढ्ने त १० बजेदेखि ४ बजेसम्म विद्यालयमा मात्र हो । पढाउने त शिक्षक मात्रले हो भन्ने बुझाइबाट विद्यार्थीलाई मुक्त गर्न सकेको भए आज विद्यार्थीहरू स्कुल भन्दा घरमा झन् रमाएर पढी रहेका हुन्थे । वा आमा तथा परिवारका अग्रजहरूबाट अज्रस शिक्षा लिइरहेका हुन्थे र अभिभावकको टाउको दुखाइका विषय बन्दैनथे उनीहरूकै छोराछोरी । यसरी नै पढ्ने भनेको तोकिएको पाठ्यपुस्तक मात्र हो, पढाउनु भनेको निश्चित विषयवस्तु घोकाउनु मात्र हो भन्ने भ्रमबाट विद्यार्थी शिक्षक र अभिभावकहरू टाढा हुन्थे भने यो लकडाउनको अवधिमा सिक्न बाँकी संस्कृति, पारिवारिक र सामाजिक संस्कार, मूल्य मान्यता र नेपाली समाजको विरासत ती विद्यार्थीको गहन अध्ययन र मननको विषय हुन्थ्यो यो लकडाउन अवधिमा । र कत्ति पनि फुर्सदिला हुँदैनथे ती विद्यार्थीहरू । नातामा आमा र वा भन्दा अरू नचिन्ने । आमा र बाबा भन्दा अरू नेपाली शब्द पहिचान गर्न र उच्चारण गर्नसम्म हम्मे हम्मे हुने बालबालिकाहरू नेपाली परिवार र नेपाली समाजको भौतिक निकटतामा रहेर पनि यति विघ्न पराया हुँदैनथे कि ? ।

परीक्षा भनेकै सिकाइको सम जाँच गर्ने त्यही ढक तराजु त हो भनेर परीक्षाको सारभूत अर्थ विद्यार्थी शिक्षक र अभिभावकमा प्रस्ट पार्न सकेको भए आज त्यही औपचारिक जाँच हुनै सकेन भनेर यति विघ्न दुःखित विद्यार्थी, अभिभावक र शिक्षक हुनु पर्दथ्यो होला र ? ज्ञान, सीप सिकेकै छु । अपेक्षा अनुसारको मनोवृत्ति निर्माण भएकै छ । परीक्षा आज नभए नि भोलि त होला भनेर चित्त सजिलै बुझाउन सकिन्थ्यो होला नि ?। अनुकूलतामा परीक्षा सञ्चालन हुन्थ्यो होला । परीक्षाका लचिला तथा परिस्थिति सापेक्ष विधि प्रयोग गर्न सकिन्थ्यो होला तर परीक्षाका नाममा उही जड परीक्षाको कुरा रिङाइ घुमाइ गरिरहनु पर्दैनथ्यो होला नि ? ।

आफै सिक्न नसक्नेलाई परिस्थितिले पाठ सिकाउँछ । अहिले परिस्थितिले पाठ्यक्रम, पठनपाठन विधि, परीक्षा, शिक्षक सक्षमता,विद्यार्थीको सिकाइ शैली र विद्यालयको पूर्वाधार माथि प्रश्न गरेको छ । यी कुरामा सुधार गर्दै पाठ्यक्रमलाई सान्दर्भिक र जीवनोपयोगी बनाउन, पठनपाठनको विधिलाई विकल्पपूर्ण बनाउन, परीक्षालाई सिकाइ सुधारको विषय र लचिलो बनाउन सूचना प्रविधिको महत्तम प्रयोग गर्दै विद्यार्थीको सिकाइ उपलब्धिप्रति शिक्षकलाई जबाफदेही बनाउन, विद्यार्थीहरूमा पठन संस्कार विकास गर्न र अभिभावकहरूमा आफ्ना बालबालिकाहरूको सिकाइमा गम्भीर चासो राख्न र विद्यालयमा अत्यावश्यकीय सूचना र प्रविधिको पूर्वाधार विकास गर्न जोड दिएको छ ।

निष्कर्ष
यतिखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयदेखि प्रदेशमा शिक्षाको नेतृत्व गर्ने सामाजिक विकास मन्त्रालय र स्थानीय पालिकालाई परिस्थितिले एक हातमा चुनौती थमाएको छ भने अर्को हातमा विंगहम् अवसर पनि थमाएको छ । चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने अद्भुत मौका दिएको छ । अझ त शिक्षा मन्त्रालयसँगै विज्ञान र प्रविधि पनि एकीकृत भएकाले झन् ठुलो अवसर देखिन्छ । खाली यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने सामर्थ्य देखिन जरुरी छ । अहोरात्र खटेर परिस्थितिले मागेका नतिजा निकाल्न सकियो भने तत् तत् संरचनाको अपरिहार्यता र सान्दर्भिकता खट्कने छ । मुलुकको शिक्षा प्रणाली पुनसंरचित हुनेछ । गुणस्तरीय शिक्षामा सर्वसुलभ पहुँच कायम गर्न सकिनेछ । शिक्षामा प्रविधिको प्रयोग मात्र नभै प्रविधिको विकास गर्ने शिक्षा व्यवस्थाको विकास हुनेछ ।

विश्वमै उत्कृष्ट मानव संसाधनको संवाहक शिक्षा प्रणालीको रूपमा नेपालको शिक्षा प्रणाली परिचित हुनेछ । हरेक सङ्कटबाट प्रणाली सुदृढ हुने र प्रणालीको सुदृढीकरणबाट सिङ्गो राष्ट्र समृद्ध हुने आधार प्रदान हुनेछ । यो अदभूत अवसर नेपालको शिक्षा प्रणालीले प्राप्त गरेको छ । मात्र विषय यो अवसरको सदुपयोग कसरी गर्दछन् मुलुकको शिक्षाको नेतृत्व समालेका सङ्घीय संरचनाहरूले भन्ने हो । अवश्य नै यसको प्रतिबिम्ब आ.व. २०७७/०७८ को बजेट र कार्यक्रममा देख्न पाइनेछ । सङ्घ, प्रदेश र स्थानीय तीनै तहको बजेट र कार्यक्रमले ७० लाख बालबालिकाहरूको भविष्य बोकेको विद्यालय शिक्षालाई यस विषम परिस्थितिमा नयाँ शिराबाट उठाउन सबै विद्यालय र विद्यार्थीहरूमा प्रविधिजन्य पूर्वाधार र सक्षमताको पहुँच विकास गर्न विशेष रूपमा सम्बोधन गर्न अपरिहार्य छ ।

सिंह नेपाल सरकारका उप सचिव हुन् 

Tags :
प्रतिक्रिया दिनुहोस