आध्यात्मिक सशक्तीकरण-स्वर्णिम युगको चाबी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आध्यात्मिक सशक्तीकरण-स्वर्णिम युगको चाबी



आध्यात्मिकता कुनै धर्म होइन अर्थात् जुन कुनै धर्म मानेर वा त्यसमा लागेर मानिस आध्यात्मिक बन्ने होइन । यसरी त उ कुनै पनि प्रकारको धर्म मान्ने धार्मिक बन्न सक्छ आध्यात्मिक होइन । आध्यात्मिकता त छुट्टै प्राकृतिक नियम हो । यो कुनै रुढीवादी चिन्तन वा धर्म होइन । ‘म को हु ? मैले के गर्नुपर्छ ?’ भन्ने जानकारी प्राप्त गर्नु अर्थात् म आत्मा हुँ । आत्मा न त जन्मिन्छ न त मर्छ ,शरीर परिवर्तनशील र मरणशील छ । आत्माले विभिन्न शरीरहरू परिवर्तन गरिरहन्छ र शरीर नष्ट भएपछि पनि आत्माको अस्तित्व रहिनै रहन्छ ।

म एक अजर अमर ज्योर्तिविन्दु आत्मा ईश्वर (परमात्मा)को सन्तान हुँ । जीवात्माको शाश्वत स्वरूपको ज्ञान नै आध्यात्मिक ज्ञान हो । कुनै देश,समुदाय,वर्ग वा जाती विशेषले मान्ने धर्म भन्दा फरक धार हो आध्यात्मिकता । आत्मानुभूति भए पश्चात् मानिस नकारात्मक हुनै सक्दैन । चरित्र स्वतः निर्माण हुँदै जान्छ । मानिस सुखी आनन्दित हुँदै जान्छ । यही आनन्द प्राप्ति गर्नु नै मानव जीवनको उद्देश्य हो । मननशील भएकै कारणले मानिसलाई मानव भनिएको हो । यसबाट यो विश्वास गर्न सकिन्छ कि बुद्धिलाई पवित्र बनाउने मुख्य साधन मनन हो । जति जति हामी सत्कर्म र सद्विचारको मनन गर्दछौ उति उति नै हामीमा मानसिक स्थिरताको साथसाथै सत्कर्म तथा सद्विचारमा अनुराग बढ्दै जान्छ । हामीले धारण गरिरहेको यो शरीर भौतिक हो । यो पञ्च तत्त्वबाट बनेको छ । यसलाई स्वस्थ तथा तन्दुरुस्त राख्न खाना चाहिन्छ । शरीर हामीलाई आफ्नो गन्तव्य सम्म पुर्‍याउने माध्यम हो । तसर्थ,यसको उपयुक्त पोषण गर्नको निमित्त सात्त्विक भोजन आवश्यक हुन्छ ।

खाना बाँच्नका लागि खानुपर्छ । तर खानको लागि बाँच्नेले जे पनि खान्छन् र त्यस प्रकारका मानिस आफूमा सकारात्मक सोचको विकास समेत गर्न नसक्ने हुन्छन् । यो दुनियाँका अधिकांश मानिसहरू खान नपाएर भन्दा शरीरलाई चाहिने भन्दा बढी भोजन गरेर अल्पायु मै मृत्युवरण गर्न पुग्छन् । “हरेक दिन जीवनको अन्तिम दिन हो “ भन्ने ब्रह्मज्ञानलाई हृदयङ्गम गरी हरेक दिन यथाशक्य राम्रो काम गर्दै जानु पर्छ । जीवन यात्रामा अघि बढ्ने क्रममा विभिन्न प्रकारका बिघ्न बाधाहरू हाम्रो अगाडि आई रहेका हुन्छन् । ती सवैबाट पार पाउन नयाँ तरिका अपनाउन जरुरी हुन्छ,त्यो हो आध्यात्मिक मार्ग । सत्य सत्य नै हो भने तथ्य तथ्य नै हो । सत्य सधैँ सत्य नै रहन्छ । झुटो टिक्दैन,सत्य डग्दैन । असत्य अर्थात् विभिन्न खाले आलोचना,आक्रमण र अपराध जस्ता झुटोपन तथा गल्तीको परिणाम पतन निम्त्याउँछ अन्ततः विनाशसम्म नै पुर्‍याउँछ ।

सुनौलो युग त्यो समय थियो जब विश्वमा पूर्ण शान्ति र सुखको साम्राज्य थियो । यस सृष्टिलाई फूलहरूको बगैँचा भनिन्थ्यो । प्रकृति पनि सतोप्रधान भएकोले त्यहाँ कुनै प्रकारको प्राकृतिक आपतकालहरू थिएनन् । सबै मानिसहरूमा सतोप्रधान तथा ईश्वरीय सद्गुण थिए, आनन्द र खुसीले बाँचेका थिए । त्यस बेला यस संसारलाई स्वर्ग भनिन्थ्यो,जसलाई सत्ययुग पनि भनिन्छ । त्यस संसारमा समृद्धि,खुसी र शान्तिको मुख्य कारण त्यस बेलाका राजाहरू र प्रजाहरू सबै पवित्र र उच्च थिए । त्यस संसारको तुलनामा आजको मानिस विकारी दुखी र अशान्त भएका छन् तसर्थ यो संसार कौरव नरक भएको छ । त्यही भएर सबै मानिसहरूले पनि आह्वान गर्दछन् हे प्रभु, हामीलाई दुःख र अशान्तिबाट मुक्त गर्नुहोस् र हामीलाई मुक्तिधाम वा स्वर्गमा लैजानुहोस् । यदि दिमाग र बौद्धिकतालाई ईश्वरीय ज्ञानको आधारमा सही दिशा दिन सकियो,दिव्यीकरण गरियो भने मन बुद्धि शक्तिशाली बन्छ र यसले मानवलाई सुनौलो युगमा लिन सहज हुन्छ । सकारात्मक सोच,राजयोगको नियमित अभ्यासले विकारहरू हटाउन मनोबल दिन्छ । दिव्यगुणले जीवन सिंचित भएमा सूर्यमुखी फूल जस्तै सदा हर्षित रहन सकिन्छ ।

जीवनमा मानव मूल्यहरूको धारणा (प्रेम,सन्तुष्टि,गम्भीरता, नम्रता,सहिष्णुता, र आदिको धारणा तथा आदरयुक्त व्यवहारले व्यक्तिलाई सबैको प्रिय बनाउँछ । यस प्रकार अन्य माध्यमहरूद्वारा मानिसले आफ्नो आध्यात्मिक सशक्तीकरण गर्न सक्दछ र नयाँ दिव्य युगमा जानको लागि आफ्नो ईश्वरीय जन्म अधिकार प्राप्त गर्न सक्दछ । आज मानवको सम्झनामा केवल व्यक्ति,शरीर,वस्तु वैभव मात्र हुनुको कारण ज्ञानको ज्योतिलाई बिर्सेको छ,त्यसैले अति नै साँघुरो दायरा भित्र व्यवहार गर्दछ । यस दुनियाँमा न त सम्बन्धमा सुमधुरता छ न जीवनमा सुख वा शान्ति नै छ । स्वार्थ, कटुता, शङ्का, ईर्ष्या अहङ्कार संशय,आदिको दरारहरू सबैको हृदयमा आउँछन् । सृष्टिलाई सुनौलो युग बनाउने एक मात्र विधि आजको मानव शक्तिलाई सशक्त पार्नु हो ।

आत्मारूपी ज्ञानरूपी बत्ती तथा योगरूपी घृतले स्मृति प्रकाशमान हुन्छ सो उज्यालो चारैतिर फैलन्छ । संसारको हितको लागि व्यवहार गर्दछ । यस असीम वृत्तिको कारण दृष्टिमा आत्मीयता आउँछ र सवैप्रति निस्स्वार्थ प्रेम बढ्छ । जीवन समग्रमा सुगन्धित फूल जस्तै सुखद हुन्छ । जब संसारमा चारैतिर यस्तो प्रवृत्ति हुन्छ, तब त्यहाँ सत्य मात्र हुन्छ, जसको कारण यसलाई सुनौलो युग भनिन्छ । वर्तमान समयमा, मानवको स्मृतिलाई शुद्ध र शक्तिशाली बनाउँदै आध्यात्मिक सशक्तीकरणको यो महान् कार्य सर्वोच्च परमेश्वर भगवान् शिव स्वयं प्रजापिता ब्रह्माको माध्यमबाट गराउँदै हुनुहुन्छ ।

स्वर्णिम युगमा प्रवेश गर्न वा यसको ढोका खोल्नको लागि अनुपम कुञ्जी भनेको जीवनमा ईश्वरीय ज्ञान, सहज राजयोग,ईश्वरीय गुणहरूको बोध तथा आध्यात्मिक सेवा अपनाउनु हो । ईश्वरीय ज्ञानका केही मुख्य पक्षहरू छन्– आत्मा, परमात्मा र विश्व सृष्टि चक्रको वास्तविक ज्ञान जुन केवल भगवानले गर्नुहुन्छ। उहाँ आफैले परिचय गराउनुभएको छ कि “मेरो नाम शिव हो,म परमधामको निवासी हुँ, मेरो रूप ज्योति बिन्दु हो र म शान्ति, प्रेम र आनन्दको सागर हुँ । म जन्म र मरण रहित दिव दृष्टि विधाता र मुक्ति जीवनमुक्तिदाता हुँ । तिमी आत्माहरूपनि म जस्तै ज्योतिर्बिन्दु छौ । शान्ति, आनन्द, प्रेम, शुद्धता र ज्ञानस्वरुप छौ ।

निधारको बिचमा अवस्थित मन,बुद्धि र संस्कार तिमी आत्माहरूको शक्ति हुन । यो मानव सृष्टि चक्र अनन्त खेल हो जुन प्रत्येक पाँच हजार वर्ष पछि हुबहु पुनरावृत्ति भई रहन्छ । यस विश्व चक्रमा चार युगहरू छन् (सत्ययुग,त्रेता, द्वापर र कलियुग) प्रत्येकको १२५० वर्ष समयावधि रहेको हुन्छ ।” जसरी अगरबत्तीले चारैतिर वातावरणलाई सुगन्धित र ताजा बनाउँछ त्यसरी नै योगी व्यक्तिको जीवन सधैँ अरूको लागि हुन्छ । सद्गुण, दिव्य विचार र दिव्य कर्महरूको सुगन्धले अरूलाई आकर्षित गर्छ ।

नम्रता, सन्तुष्टता, हर्षित चेहरा, गम्भीरता, अन्तरमुखता एवं सहिष्णुता स्वयंको जीवन र सम्पर्कमा आउनेहरूको जीवनमा साँचो खुसी दिन्छ । मन, वचन र कर्मका साथ अरूको सेवा गर्नेले सुनौलो युगको ढोका खोल्नको लागि भगवानको सच्चा सहयोगी बन्न सक्छ । वर्तमानमा सबै मानव आत्माहरू आफ्ना कमजोर र जटिल विचारहरू र तमोप्रधान बुद्धिका कारण संस्कारको अधीनमा छन्। जसको कारण संसारभरि दुःख,अशान्ति र त्राहि त्राहि व्याप्त छ । सबै इच्छाहरूको अधीनताका कारण सबैमा असन्तुष्टि छ । त्यस कारण आजको आवश्यकता हो आत्मारूपी राजालाई पुनः शक्तिशाली बनाउने जुन आध्यात्मिक सशक्तीकरणबाट सम्भव छ जसलाई आन्तरिक सशक्तीकरण पनि भनिन्छ । यदि आत्मा आन्तरिक रूपमा शक्तिशाली छ भने यसको बाह्य रूप अर्थात् उसको शरीरका शारीरिक इन्द्रियहरू पनि आध्यात्मिक रूपमा शक्तिशाली हुन्छन् र आत्मा राजाको आज्ञा अनुसार काम गर्दछन् । अर्को शब्दमा भन्ने हो भने आध्यात्मिक सशक्तीकरणको बाह्य रूपको तात्पर्य शरीरका पाँच कर्मेइन्द्रियहरु आँखा (दृश्य), कान (सुन्ने), नाक (गन्ध)), मुख–जिब्रो (स्वाद) र हात (स्पर्श) आत्माको नियन्त्रणमा हिँड्न सकुन् । यसका लागि मन र बुद्धि सतोप्रधान भई सकारात्मक सोच्नु, छिटो र सटिक निर्णय लिनु तथा संस्कार शुद्ध र कल्याणकारी हुन जरुरी छ । छोटकरीमा, यो भन्न सकिन्छ कि आन्तरिक सशक्तीकरण बाह्य सशक्तीकरणको आधार हो।

भनिन्छ कि आज भोलिको एक दर्पण हो । यदि आज हामीले सङ्गम युग (कलियुगको अन्त र सतयुगको सुरुवात) मा आध्यात्मिक तवरले आफूलाई सशक्त बनायौँ भने भोलि (सत्ययुग) हाम्रो लागि स्वतः शुभ हुनेछ । कलियुगको अन्त्यमा अनेक धर्महरू,भाषाहरू,कुलहरू,राज्यहरू, मतमतान्तरहरु भएकोले आज संसारमा थुप्रै प्रकारका द्वन्द्वहरू देख्न सकिन्छ । परिणामतः अनेकौँ दुःख तथा परोक्ष अपरोक्ष तवरले युद्धको कारण हुन्छन्। यसको विपरीत सत्ययुगमा श्रीनारायणको एक छत्र राज्य छ,त्यहाँ एक धर्म,एक भाषा,एक विश्वास छ र सम्पूर्ण विश्वमा सुख,समृद्धि र खुसीका बाँसुरी बज्दछ । यस समय हिन्द, मुस्लिम, सिख, इसाई,बौद्ध, जैन, आदि सबै धर्महरूले केवल ’प्रेम’ को पाठ सिकाउँछन् तर व्यावहारिक जीवनमा धारणाहरू बनाउने यो काम केवल एक भगवानले मात्र गर्न सक्नुहुन्छ । हृदय प्रेम र भावनाको प्रतीक मानिन्छ । सङ्गम युगमा प्रेमरूपी धर्मको धारणाले सुनौलो युगमा एक आदी सनातन देवी देवता धर्ममा रूपान्तरित हुन्छ ।

आध्यात्मिक सशक्तीकरणले आत्माको भाषाको ज्ञान तर्फ डोर्‍याउँछ यसको मतलब हो कि आफूलाई एक आत्माको रूपमा बुझ्नु, अरूलाई आत्माको रूपमा हेर्नु र आध्यात्मिक आधारमा व्यवहार गर्नु । यहाँ संगम युगमा आत्माको भाषाको व्यवहार सत्ययुगमा आपसी व्यवहार बन्न जान्छ । यसरी आध्यात्मिक ज्ञानले संगममा कुनै भेदभाव नगरी सबैको साथ उच्च स्तरको मानव व्यवहार गरी एउटै परिवारको रूपमा मानवलाई बाँध्छ । जुन सुनौलो युगमा ईश्वरीय कुलको रूपमा परिणत हुन्छ । त्यसैले आजको आध्यात्मिक सशक्तीकरण (संगमयुग) आउँदै गरेको भोलि (सतयुग) को संवृद्ध राज्य व्यवस्थाको आधार बन्छ । जसले अहिले आत्मा राजाको आदेशमा आफ्ना कर्मइन्द्रियहरुलाई स्वाभाविक तवरले राज्य गर्न सक्छ,उसैले स्वर्ण युगमा सफल प्रशासन चलाउन सक्दछन् । स्व राज्य अधिकारी नै भविष्यको विश्व राज्य अधिकारी स्वतः बन्दछ ।

यो प्रकृतिको नियम हो कि प्रत्येक बस्तु,सभ्यता,संस्कृति, धर्म, संस्था, आदि सबै यसको सतोप्रधान चरणबाट खसेर तमोप्रधान पतनको चरणमा पुगेको हुन्छ । प्रारम्भिक चरणमा प्रत्येक धर्ममा अध्यात्मको कारण आन्तरिक बल हुन्छ । यसका अनुयायीहरूसँग त्याग,तपस्या, सेवा र सादगी हुन्छ । तर समय बित्दै जाँदा यी गुणहरू घट्न थाल्छन् र कलियुगको अन्त्यसँगै आध्यात्मिक शक्ति पनि हराइसकेको हुन्छ ।

मानवीय र आध्यात्मिक मूल्य मान्यताहरू प्रायः गायब हुन्छन्। ’धर्म’ केवल विश्वासको रूपमा हुन्छ र प्रायः पूर्ण रूपमा पवित्रता वा शुद्धता घट्छ । यस कारणले गर्दा तिनीहरूसँग न त आफ्नै इन्द्रियहरूमा नियन्त्रण हुन्छ न त उनीहरूले मानसिक एकाग्रता,आन्तरिक शान्ति र शक्तिको अनुभूति नै गर्न सक्षम हुन्छन् । तिनीहरू आफ्नो धर्म संस्थापकहरूद्वारा दिएका नियम र मापदण्डको पालना गर्न सक्षम रहँदैनन् । तिनीहरू ’माया’ वा दुर्बलताबाट हराएको महसुस गर्दछन् र सोच्छन् कि सर्वोच्च पिता वा उनीहरूको धर्मका पिताले मात्र उनीहरूलाई ’माया’ को जन्जिरबाट हटाउन सक्नुहुन्छ। हामी यस निष्कर्षमा पुग्दछौँ कि यद्यपि भगवानले दिशा निर्देश गर्नुहुन्छ र सहयोग पनि गर्नुहुन्छ, तर हामीले प्रयास आफैँले गर्नुपर्‍यो तब मात्र हामी वास्तविक आनन्द र सन्तुष्टिले अनुभूति गर्न सक्नेछौ । धेरै जसो शारीरिक र प्राकृतिक घटनाहरू चक्रीय क्रम र निश्चित समयमा पुनरावृत्ति हुन्छन् ।

सामान्यतया: दिन र रातको २४ घण्टाको चक्र हुन्छ । त्यसै गरी ऋतु चक्र एक वर्ष दिनमा निरन्तर चलिरहन्छ । वर्षा चक्रमा समुद्रको पानी सूर्यको तापबाट वाष्पीकरण हुँदै बादलको रूप लिन्छ । यी बादलहरू पहाड र मैदानमा वर्षाको रूपमा बर्सिएर नदी, खोला र झरनाहरूको रूपमा बहँदै समुद्रमा आएर मिसिन्छ । जुन चक्र दोहोरिइरहन्छ । वनस्पति चक्रमा पहिला बीजबाट अङ्कुर बाहिर आउँछ त्यसपछि बिरुवा र पछि रूख हुन्छ वृक्ष नष्ट हुनु अघि नयाँ बीउहरू उत्पादन गर्दछ, जसले फेरि नयाँ रूख सिर्जना गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस