कोरोनाको बहुआयामिक प्रभाव « प्रशासन
prasaLogo
१३ बैशाख २०७७, शनिबार

कोरोनाको बहुआयामिक प्रभाव


प्रकाशित मिति : 25 April, 2020 1:20 pm

विषय प्रवेश
कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमण विश्वव्यापी रूपमा भुसको आगो सरी फैलिइरहेको फैलिरहेको छ । विश्वका प्राय सबै देशहरू यो भाइरसबाट आक्रान्त बनेका छन् । चीनको हुवाई प्रान्तको वुहानबाट सुरुवात भएको कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । बेलायत र अन्य युरोपियन देशहरू कोरोनाको सङ्क्रमणबाट थलिएका छन् । पछिल्लो कोरोना अपडेटको रेकर्ड अनुसार विश्वमा करिब २६ लाख ३५ हजार भन्दा बढी मानिसहरूमा यो रोगको सङ्क्रमण फैलिएको र करिब एक लाख ९० हजार मानिसहरूको मृत्यु कोरोनाकै कारण भएको तथ्याङ्कहरू सार्वजनिक भएको छ र यो दर धेरै नै बढ्ने अनुमानहरू गरिएको छ । भारतमा सङ्क्रमण दर तीव्र छ भने नेपालमा पनि कोरोनाको तेस्रो चरण सुरु भएको छ । नेपालमा कोरोनाको संक्रमणदर तीव्र गतिमा फैलिदै गएको देखिन्छ । विश्वलाई नै निकै चुनौती दिई रहेको कोरोना भाइरसले विश्वका विविध क्षेत्रहरूमा व्यापक प्रभाव पारेको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठन, विश्व खाद्य सङ्गठनको पछिल्लो रिपोर्टहरूले स्थिति भयावह हुने कुराको आकलन गरिसकेका छन् । यसै परिदृश्यलाई हृदयगमन गरी यसको विश्वव्यापी बहुआयामिक प्रभावलाई उल्लेख गरिएको छ ।

क) स्वास्थ्य क्षेत्रमा परेको प्रभाव
अहिले कोरोना भाइरसबाट सबैभन्दा बढी यदि कुनै क्षेत्र प्रभावित भएको छ भने त्यो हो मानिसको स्वास्थ्य । कोरोनाले मानवीय स्वास्थ्यको संवेदनशीलताको आयामलाई धेरै नै आत्मकेन्द्रित गरेको प्रतीत भएको छ । अहिले विश्वका हरेक देशहरूले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राख्नुपर्ने आवश्यकताको महसुस गरेका छन् । विश्वका शक्ति सम्पन्न राष्ट्रहरूले विकासका धेरै अवयवहरूको स्वाद चाखिसकेर अब मानवीय विकास र शक्तिको विश्वव्यापीकरण गर्ने होडबाजीको रप्mतारलाई कोरोना भाइरसले चिरेको छ । अब मानवीय स्वास्थ्य र प्राकृतिक वातावरणबिचको अन्तर सम्बन्ध र त्यसको प्रभावको विश्लेषण हुन थालेको छ ।

विकासका नाममा खोलिएका मेटा औद्योगिकीकरण, ठुला ठुला कन्स्ट्रक्सनका कार्यहरू, आणविक उत्पादन र त्यसको वितरण अनि प्रयोगहरू, यी सबै विषयमा आवश्यक कार्यहरू गर्दा वातावरणीय प्रभाव, जलवायु परिवर्तन र मानवीय स्वास्थ्यको विषयलाई संवेदनशील ढङ्गले उजागर गर्नु आवश्यक देखिन्छ । अब राज्यले रोग नियन्त्रण विभागको गठन गरी हस्पिटल, मेडिकल कलेज, प्रयोगशाला, ल्याब परीक्षण, सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्रहरू, प्रत्येक वडा कार्यालयहरूमा एउटा प्रभावकारी र फेसिलेटेड प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्थापना गर्नु आवश्यक देखिन्छ । यसको लागि सङ्घ प्रदेश र स्थानीय तहमा आवश्यक पहल गर्नुपर्छ । स्वास्थ्य तर्फmका जनशक्तिहरूलाई व्यापक रूपमा रिसर्च र डेभलिपमेन्टको क्षेत्रमा परिचालन गरी तालिम, अध्ययन र प्रशिक्षणको माध्यमबाट क्षमतावान् बनाइनु पर्ने देखिन्छ । राज्यको ठुलो स्रोत साधन अब स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने तट्कारो आवश्यकता देखिएको छ ।

ख) सामाजिक जीवनमा परेको प्रभाव 
विश्वमा विश्वव्यापी लोकतान्त्रिक वातावरणको लहरसँगै धेरै मानिसहरू स्वतन्त्रपूर्वक बाँच्न थाले । विश्वव्यापीकरणको प्रभाव, विश्वको जियो पोलिटिकल सिनारियो, उदारवादी अर्थनीति, विश्व व्यापार र वैदेशिक रोजगारी, टेक्लोजिको तिव्रतर विकास, इन्टरनेटको आक्रामक उदय, विश्वबन्धुत्व र भाइचाराको सम्बन्ध जस्ता विषयले सारा विश्व जगतलाई एकगठ्ठा पारेको देखिन्छ । सारा विश्वलाई एक भिलेजको रूपमा समेत व्याख्या गरिएको छ । तर कोरोना भाइरसको प्रभावले यी सबै विषयलाई डामाडोल पारेको छ । हुन त विश्वव्यापी सहयोगको अपिल नगरिएको होइन तर विकसित र अविकसित सबै देशहरू कोरोनाबाट आक्रान्त बनेकोले सबै देशहरू आफ्नो बचाउमा केन्द्रित भएका छन् । विकसित देशहरूले पनि अन्य देशहरूलाई सहयोग गर्न सक्ने स्थिति छैन । समस्या सबैतिर उस्तै छ ।

सामाजिक सद्भाव, सहिष्णुता, सामाजिक सम्बन्ध, सांस्कृतिक अभ्यासहरू पश्चिमी सभ्यता र पूर्वीय सभ्यतामा फरक फरक फरक छन् । पश्चिमाहरूले भेट हुँदा हात मिलाउने, अँकमाल गर्ने, गाला जुटाउने जस्ता क्रियाकलापहरू गर्ने र पूर्वीय वा अझ भनौ भारत, नेपाल, बर्मा जस्ता देशहरूमा नमस्कार गर्ने, झुकेर आदर र सद्भाव गर्ने खालको संस्कृति छ । कोरोनाको सङ्क्रमणको पैmलावटमा केही सांस्कृतिक अभ्यासले पनि भूमिका खेलेको साँस्कृतिविद्हरुले व्याख्या गरेका छन् । पश्चिमा संस्कृति कोरोना सङ्क्रमणको एउटा आधार हो भनेको समेत पाइन्छ ।

नेपालको सन्दर्भमा सामाजिक जीवनको महत्त्व अपरिहार्य छ । सामाजिक संरचना नै मेलमिलापको नीतिबाट गाईडेड भएको छ । मर्दाको मलामी र जिउँदाको जन्ती भन्ने नेपाली उखान नै छ । तर कोरोनाको प्रभावले विद्यमान सामाजिक संरचनाको गतिशीलतालाई नै बिथोलिदिएको छ । मानिसहरूलाई सामाजिक दुरी कायम राख्नुपर्ने स्थिति छ । पुरै देश लकडाउनको अवस्थामा रहेकोले मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान बन्देजको स्थिति छ । सामाजिक रूपमा मानिसहरूबिचको भाइचारा, सहयोग र सद्भाव केवल सामाजिक सञ्जालहरूको माध्यमबाट मात्र दर्साउनु परेको छ ।
हिजोको दिनमा पसल, चोक, सडक छेउ जस्ता ठाँउहरुमा बसेर मानिसहरू गफिएको आज देखिँदैन । भोलिको दिनहरूमा यस्तो सायदै देखिएला । हाम्रा मेला पर्व, जात्रा, सांस्कृतिक पर्व र त्यसमा हुने भेलाहरू बन्द भएका छन् । मानिसहरू झुन्ड भएर, हातमा हात मिलाएर, काँधमा काँध मिलाएर हिडन सक्ने अवस्था छैन । यसले मानिसहरूमा सामाजिक दुरी कायम गरी सर्तकताका साथ व्यवहार गर्नुपर्ने पाठ सिकाएको छ । कोरोनाको प्रभावले विद्यमान सामाजिक गतिविधिहरूमा ब्रेक लगाएको छ भने अबको सामाजिक संरचनाको गति कस्तो हुने त भन्ने सन्दर्भमा आवश्यक पाठ पनि सिकाएको छ ।

ग) आर्थिक क्षेत्रमा परेको प्रभाव
कोरोना भाइरसले विश्वको पुरै आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । विश्वको अर्थतन्त्रलाई कोरोना भाइरसले पुरै लकडाउन गरेको देखिन्छ । विश्वका विकसित राष्ट्रहरू नराम्ररी आर्थिक मन्दीमा फस्न सक्ने अवस्थाको आँकलनहरु गर्न थालिएको छ । विश्व बैङ्कले सन् २००८ को ग्रिस लगायत कैयौँ युरोपियन देशहरूले भोगेको आर्थिक मन्दीभन्दा कैयौँ गुणा खतरनाक परिस्थितिबाट अबको विश्व गुज्रन सक्ने अवस्था देखिएको प्रच्छेपण गरेको छ । कोरोना भाइरसबाट विश्वका विकसित र अविकसित देशहरू सबै आर्थिक सङ्कटबाट गुज्रिनुपर्ने अवस्थाको सुनिश्चितता देखिएको छ । यसै सन्दर्भमा नेपालको अर्थतन्त्रमा पनि कोरोनाको प्रभाव व्यापक देखिन सक्ने आकलन गरिएको छ । मूलतः नेपालमा निम्नानुसारको आर्थिक क्षेत्रमा कोरोना भाइरसको प्रभाव देखिएको छ ।

पर्यटन क्षेत्र: पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको ठुलो सम्भावना बोकेको क्षेत्र हो । अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदा र विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभ हुनुका साथै व्यापक सम्भावना पनि रहेको छ । दुई छिमेकी देशहरूमा रहेका प्रचुर जनसङ्ख्याको पर्यटकीय लाभ नेपालले उठाउन सक्ने सम्भावना थियो । नेपालले सन.२०२० लाई नेपाल पर्यटन वर्षको रूपमा घोषणा गरी वर्षभरिमा बिस लाख पर्यटन भित्र्याइने लक्ष्य सहितको नीति लिएको थियो । तर कोरोनाको बढ्दो सङ्क्रमण सँगै सरकारले यो नीति नै खारेज गर्नु पर्‍यो । यसबाट नेपालको अर्थतन्त्रमा ठुलो धक्का लागेको छ । लगडाउको कारण होटेल, रेष्टुराँ, होमस्टे, पार्क, यातायातका साधनहरू, काम गर्ने श्रमिकहरू लगायत सबै क्षेत्र ठप्प छ । यसबाट नेपालको अर्थतन्त्रमा नराम्रो असर पर्ने देखिएको छ । लकडाउनको अवधि थपिँदै गएमा स्थिति अझैm भयावह हुने सम्भावना देखिन्छ । कोरोना पछि कसरी पर्यटकीय क्षेत्रलाई अझैm बढी चलायमान गराउन सकिन्छ भन्ने विषयमा पर्यटन मन्त्रालय, पर्यटन विभागहरूले प्रभावकारी नीति बनाएर जानुपर्ने देखिन्छ ।

विप्रेषण (रेमिटेन्स) को प्रभाव: नेपालको अर्थतन्त्रमा रेमिटेन्सको प्रभाव अत्यधिक छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिटेन्सको अनुपात करिब २६ प्रतिशत रहेको छ । अर्थतन्त्रको मुख्य हिस्साको रूपमा रहेको विप्रेषण आयलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी उचित प्रतिफल हासिल गर्न आवश्यक प्रोत्साहन गर्ने नीति नेपालको संविधान र अन्य सरकारी दस्ताबेजहरूको रहेको छ । श्रम आप्रवासनबाट मौद्रिक विप्रेषण मात्र नभई सामाजिक पुँजीको रूपमा सीप, प्रविधि र अनुभवलाई समेत आर्थिक सामाजिक विकासमा लगाउने भनिएको छ । तर कोरोनाको कारण विश्वभर छरिएर रहेका नेपालीहरूमा रोजगारीको अभाव हुँदै अन्ततोगत्वा नेपाल फर्किनु पर्ने परिस्थिति सिर्जना भएको छ । यसले गर्दा विप्रेषणको उपयोग गरेर जीवन निर्वाह गरिरहेका लाखौँ नेपालीको जीवनस्तर नै गरिबीको रेखा मुनी जान सक्ने सम्भावना रहेको अर्थविद्हरू बताउने गरेका छन् ।

 रोजगारीको क्षेत्रमा परेको प्रभाव: कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्य रोजगारी प्रमुख क्षेत्र हो । विश्वमै हेर्दा अमेरिकामा अहिले बेरोजगार भत्ता लिन करिब डेढ करोड मानिसहरूले आवेदन दिएका छन् । स्पेनमा ६६ लाख रोजगारी कटौती गरिएको छ । यसबाट के देखिन्छ भने कोरोनाको सङ्क्रमणबाट पुरै विश्वमा रोजगारीको स्थिति भयावह हुने खतरा छ । सोमालियामा भोकमरीको खतरा हुने कुरा विश्व खाद्य सङ्गठनले जनाएको छ । नेपालमा पनि औद्योगिक क्षेत्र पुरै ठप्प छ । विभिन्न कम्पनीहरू बन्द छ र त्यहाँ काम गर्ने कामदारहरू अहिले घरमै लकडाउनमा छन् । असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक र दैनिक ज्यालादारी गरी खाने मजदुरहरूको घरमा खानाको जोहो गर्न हम्मे हम्मे परेको छ । यसैलाई मध्यनजर गरी स्थानीय तह र विभिन्न सङ्घ संस्थाहरूले राहत वितरण गरेका छन् । लकडाउन खुलेपछि ती क्षेत्रमा काम गरिरहेका कामदारहरूले पुनः काम पाउँछन् की पाउदैनन भन्ने कुराको सुनिश्चितता पनि छैन । हरेक वर्ष करिब ४ लाख ५० हजार जना व्यक्तिहरू नेपालको श्रम बजारमा थपिन्छन् । यी मध्ये आधा उधी रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा जाने गर्थे । कोरोनाको कारण विश्व नै आक्रान्त बनेको परिप्रेच्छमा अव वैदेशिक रोजगारीको सम्भावना के हुने भन्ने विषय निकै चुनौतीपूर्ण रहेको छ ।

 निजी क्षेत्रमा परेको प्रभाव: निजी क्षेत्र लगानी, उत्पादन, वितरण र रोजगारी सिर्जना गरी आर्थिक गतिविधिको विस्तार गर्ने मुख्य संयन्त्र हो । उदारवादी अर्थनीतिले निजी क्षेत्रलाई प्रोत्साहन गरी प्रतिस्पर्धात्मक बजारको माध्यमबाट अर्थतन्त्रको चलायमान गराएको हुन्छ । तर कोरोनाको कारण निजी क्षेत्रका सबै व्यवसायहरू प्रभावित भएका छन् । होटेल, सपिङ महल, साना तथा ठुला उद्योगहरू, कन्स्ट्रक्सनका कामहरू प्राय ठप्प छन् । यसले आर्थिक क्षेत्र चलायमान हुन सकेको छैन । पुँजी निर्माणको मुख्य आधार नै ठप्प भएपछि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । लकडाउनको कारणले उत्पादनमा गिरावट आउने, कालो बजारी बढ्ने, उच्च मूल्य वृद्धि हुने, अस्वस्थ प्रतिस्पर्धा हुने लगायतका समस्याहरू देखिदा जनताहरूलाई ठुलो मार पर्ने देखिन्छ ।

 वैदेशिक लगानी र लगानी मैत्री वातावरणमा परेको प्रभाव: कुनै पनि मुलुकले आर्थिक समृद्धि हासिल गर्न तीव्र औद्योगिकीकरणको माध्यमबाट तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमता भएका क्षेत्रहरूमा स्वदेशी एवं विदेशी पुँजी परिचालन गर्नु पर्ने हुन्छ । यसको लागि वैदेशिक लगानी अपरिहार्य हुन्छ । कोरोनाको कारण अब विदेशी लगानी भित्रिन सक्ने सम्भावना एक दम न्यून छ । ठुला आयोजना र परियोजनाहरूमा वैदेशिक लगानी संरक्षण गर्न सके मुलुकको विकासमा प्रभावकारिता थपिने हुन्छ तर अब त्यो सम्भावना पनि न्यून हुँदै गएको छ । विश्वका विकसित र आर्थिक रूपमा सम्पन्न मुलुकहरू आफैm कोरोना सँग जुध्न संर्घष गरिरहेको सन्दर्भमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना न्यून हुँदै गएको छ ।

 उद्योग र वाणिज्यको क्षेत्रमा परेको प्रभाव: उद्योग र वाणिज्य क्षेत्र आर्थिक विकासको प्रमुख आधार स्तम्भको रूपमा रहेको हुन्छ । तीव्र औद्योगिकीकरणले मुलुक आर्थिक समुन्नतिमा पुग्छ । प्रभावकारी आपूर्ति व्यवस्थापनले मुलुकको आर्थिक गतिविधिमा प्रभावकारिता ल्याउँदछ । कोरोनाको कारण अहिले प्राय औद्योगिक क्षेत्रहरू ठप्प छन् भने अन्तर्राष्ट्रिय व्यापार, पारवहन, लगानीका क्षेत्रहरू, आयात निर्यात जस्ता सबै क्षेत्रहरू प्रभावित भएकोले यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने देखिन्छ । औद्योगिक क्षेत्र र वाणिज्यको क्षेत्रमा लगानी, उत्पादन र उत्पादकत्व, रोजगारी, पुँजी निर्माण जस्ता पक्षहरू जोडिने र यी सबै क्षेत्रहरू थलिएको अवस्था रहेकोले यसले अर्थतन्त्रमा व्यापक प्रभाव पारेको छ ।

घ) वातावरणीय प्रभाव: 
वातावरण र मानव स्वास्थ्यबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । मानवको हरेक व्यवहार प्रकृति सँग जोडिएको हुन्छ । कोरोनाको सङ्क्रमण विश्वव्यापी रूपमा फैलिनुमा वातावरणीय विनाश, प्राकृतिक स्रोतको व्यापक दोहन, जैविक विविधताको प्रतिकूलता, जलवायु परिवर्तन को प्रभाव, तिव्रतर औद्योगिकीकरण, बढ्दो प्रदूषण जस्ता वातावरणीय पक्षहरू जिम्मेवार रहेको कुरा वातावरण विद्हरूले गरेका छन् । पोहोर मैलाको समुचित व्यवस्थापन, हात धुने बानीको विकास, सरसफाइमा विशेष जोड दिनु पर्ने जस्ता कोरोनाको नियन्त्रणकारी उपायहरू पनि वातावरण मैत्री व्यवहार सँग जोडिएको देखिन्छ । मानिसले गर्ने प्राकृतिक सम्पदाहरूको विनाशले गर्दा पनि कोरोना जस्ता भाइरसहरूको उत्पत्ति भएको हो भन्ने भनाइहरू आएको छ । हुन त विश्वमा हरेक ३,४ वर्षको अन्तरालमा नयाँ नयाँ भाइरस वा फ्लुको उत्पत्ति भएको पाइन्छ । प्लेग, स्पेनिस फ्लू लगायतका ठुला महामारी विश्वले भोगी सक्यो । सन २००८-९ ताका आएको वर्डफ्लू, २०१४-१५ को स्वाइन फ्लू, २०१७-१८ को इबोला, हालको कोरोना भाइरस जस्ता सङ्क्रमणहरू कुनै न कुनै रूपमा वातावरण सँग जोडिएका छन् ।

निष्कर्ष
कोरोना भाइरसको विश्वव्यापी प्रभावले हरेक क्षेत्रमा असर परेको छ । विश्वको जियो पोलिटिक अवस्था देखि आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय, मानिसको मनोवैज्ञानिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, यातायात, बैङ्क तथा वित्तीय क्षेत्रहरू लगायत मानिसहरूको आधारभूत क्षेत्रहरू सम्म जता ततै तिर कोरोनाले प्रभाव पारेको छ । कुनै पनि क्षेत्र छोडेको छैन कोरोनाले । सारा विश्वका देशहरू कोरोनाको डिफेन्समा लागेका छन् । हुन पनि विश्वका प्राय सबै देश र क्षेत्रहरू यो भाइरसबाट आक्रान्त बनिरहेको छ ।

यस सन्दर्भमा अब कोरोना पछिको हाम्रो सामाजिक सांस्कृतिक, आर्थिक गतिशीलता कस्तो हुने त भन्ने विषयमा आवश्यक बहस जरुरी छ । कोरोनाको प्रभाव हरेक क्षेत्रमा छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार एक आपसमा कोरोनाको विरुद्धमा लागि परेकै छन् । तर पनि संक्रमणदर बढ्दो छ । कोरोनाको सङ्क्रमण मात्र बढेको छैन की यस सँगै अन्य क्षेत्रहरू पनि नराम्ररी प्रभावित भएका छन् । अब सरकारले कोरोना पछिको अवस्थालाई कसरी प्रभावकारी रूपमा परिचालन गरी अर्थतन्त्रको स्तरोन्नति गर्ने भन्ने सन्दर्भमा आवश्यक योजना बनाउनु आवश्यक छ । अबको लगानी भनेको स्वास्थ्य र कृषिको क्षेत्रमा हुनुपर्ने देखियो ।

विकासका कार्यक्रमहरू सञ्चालन गर्दा वातावरण प्रभाव र त्यसको मानवीय स्वास्थ्यमा पर्न सक्ने प्रभावको आकलन गर्नु जरुरी देखियो । वैदेशिक रोजगारीमा देखा परेको विषम परिस्थिति र आन्तरिक रोजगारीको प्लेटफर्म पनि धेरै नभएकोले कसरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने विषयमा अब स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नु जरुरी छ । यसको लागि निजी क्षेत्रलाई परिचालन गर्ने, लगानी मैत्री वातावरण तयार गर्ने, लगानी आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्ने र कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक , औद्योगिक क्षेत्रहरूको विकास गर्न आवश्यक लगानीका क्षेत्रहरू पहिचान गर्ने, वातावरण मैत्री विकास र सरकारी प्रक्रियाहरू सरलीकृत गर्ने, बजारको उचित प्रबन्ध गर्ने जस्ता कार्यहरू गर्नुपर्ने जरुरी देखिन्छ । कोरोनाको प्रभाव लाई रोकथाम गर्दा अन्य क्षेत्रहरू धराशायी हुनुहदैन भन्ने धारणा सहितको गहन योजना अबको आवश्यकता हो ।

नेपाली नेपाल सरकारका उपसचिव हुन् 

Tags :
प्रतिक्रिया दिनुहोस