आप्रवासी कामदारलाई सुरक्षित गर्न महासङ्घको अपिल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आप्रवासी कामदारलाई सुरक्षित गर्न महासङ्घको अपिल


१२ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालले विद्यमान कोरोना महामारीको समयमा विभिन्न मुलुकमा गई श्रम गरिरहेका नेपाली श्रमिकहरूलाई सुरक्षित बसाई, स्वास्थ्य र खानपिनको बन्दोबस्त गर्न अपिल गरेको छ ।

महासङ्घले एक विज्ञप्ति जारी गर्दै विभिन्न देशमा रहेका नेपाली श्रमिकको जनजीवन सहज बनाउन सरकारले युद्दस्तरमा काम गर्नुपर्ने माग गरेको हो ।

महासङ्घको समन्वय समिति नेपालका संयोजक प्रेमलकुमार खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण विभिन्न देशमा काम गरिरहेका उद्योग धन्दा, व्यापार तथा व्यवसायसमेत बन्द भएका कारण नेपाली श्रमिकको जीवन रक्षाका साथै रोजगारीसमेत असुरक्षित बन्दै जाने, संंक्रमणका कारण कतिपय श्रमिकको मृत्यु हुनुका साथै गम्भीर बिरामीको अवस्थामा रहन बाध्य हुनुपर्ने स्थिति प्रति यतिखेर सम्वद्द निकाय बढी गम्भीर बन्नु पर्ने देखिन्छ ।’

नेपालबाट सस्तो श्रम मूल्यमा लाखौँ श्रमिक श्रम सम्झौता गरी विभिन्न मुलुकमा काम गरिरहेको र कोरोना भाइरसका कारण ती मुलुकमा पनि लकडाउन भएकोले सरकारसहितका सम्बन्धित पक्ष सचेत बन्नुपर्नेमा महासङ्घले जोड दिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कानुनले आप्रवासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिक सरह सुरक्षित हुन र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आईएलओ) मार्फत पनि आप्रवासी श्रमिकलाई पनि सुरक्षित गर्न र समान व्यवहार गर्न गराउन सहयोगको लागि सरकारको तर्फबाट अनुरोध गरेर पहलकदमी लिन जरुरी छ । साथै हरेक गन्तव्य मुलुकमा कार्यरत श्रमिकको अवस्था बारेमा कूटनैतिक नियोगहरूबाट नियमित रूपमा जानकारी हुने गरी सूचना सम्प्रेषण गर्न प्रभावकारी संयन्त्र निर्माण हुन जरुरी छ।’

Tags :
प्रतिक्रिया दिनुहोस